२०७३ पुष ८ गते

सन् २०१७ का लागि फिलिपिन्सको बजेट सार्वजनिक : शिक्षा क्षेत्रमा मात्रै ११.९ अर्ब डलर विनियोजन

मनिला । फिलिपिन्सका राष्ट्रपति रोड्रिगो डुटेर्तेले आगामी बर्ष सन् २०१७ का लागि बिहीबार ६७ अर्ब अमेरिकी डलर बराबरको बजेट स्वीकृत गरेका छन् । यो उनी राष्ट्रपति भएपछिको पहिलो बजेट हो । 

राष्ट्रपति कार्यालय मालाकानाङमा भएको हस्ताक्षर समारोहमा राष्ट्रपति डुटेर्टेले नयाँ आर्थिक बर्षको बजेट जनपक्षीय, लगानीमैत्री, विकासमैत्री भएको बताए । सरकारी निकायहरुको सशक्तीकरण र सामाजिक सेवाको सुधारका लागि बजेट २०१७ ले अहिले सम्मकै सबैभन्दा धेरै रकम व्यवस्था गरेकोले फिलिपिन्सलाई गरिवीबाट हटाउने उनले बताए ।

शिक्षा क्षेत्रको लागि सबैभन्दा धेरै अर्थात ११.९ अर्ब डलर बजेट छुट्याइएको डुटर्तेले बताए । उनले सामाजिक कल्याण र विकासका लागि २.५७ अर्ब, स्वास्थ्य क्षेत्रका लागि १.९२ अर्ब डलर रकम छुट्याएको बताए । समारोहमा राष्ट्रपति डुटेर्टेले सजगतापुर्वक राष्ट्रिय बजेटलाई पारित गरिदिएकोमा सिनेट र प्रतिनिधि सभालाई धन्यवाद दिए । रासस/सिन्हा