Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
अर्थतन्त्र

नयाँ उद्योगलाई ३ वर्षसम्म भाडा छुट,महिलाको नाममा उद्योग दर्ता वा नवीकरण नि:शुल्क

२०८२ जेष्ठ १५ गते


बैंकिङ खबर/सरकारले नयाँ उद्योगीलाई सुरुका ३ वर्ष भाडा छुट दिने भएको छ । बिहीबार संसद्मा आर्थिक वर्ष २०८२/०८३ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु पौडेलले उद्योगीले ३ प्रतिशत निर्यात गरे विशेष उद्योग सरहको सुविधा उपलब्ध गराउने समेत जानकारी दिए ।

‘उद्यो व्यवसाय दर्ताका लागि प्रविधियुक्त बनाइने छ, नयाँ उद्योगलाई सुरुका ३ वर्षका भाडा छुट दिइने छ,’ बजेट बाचन गर्दै अर्थमन्त्री पौडेलले भने, ‘उद्योगीले ३ प्रतिशत निर्यात गरे विशेष उद्योग सरहको सुविधा उपलब्ध गरिने छ ।’

त्यस्तै सरकारले स्टार्टपमा युवाको संख्या बढाउन ३ प्रतिशत ब्याज उपलब्ध गराउन ७३ करोड रुपैयाँ विनियोजन समेत गरेको छ ।

‘काम खोज्ने होइन, काम दिने युवाको संख्या बढाउन स्टार्टप बनाउन सहजीकरण गरिनेछ,’ बजेटमा भनिएको छ, ‘स्टार्टप उद्यमीलाई सहुलियत कर्जा अनुसार ३ प्रतिशत ब्याज उपलब्ध गराउन ७३ करोड विनियोजन गरेको छु ।’ त्यस्तै सरकारले औद्योगिक क्षेत्र निर्माणका लागि १ अर्ब ५० करोड विनियोजन गरेको छ ।

सरकारले महिलाको नाममा उद्योग, व्यवसाय वा कम्पनी दर्ता वा नवीकरण गर्दा शुल्क नलाग्ने व्यवस्था गर्ने घोषणा गरेको छ ।  अर्थमन्त्री पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट प्रस्तुत गर्दै उनले यस्तो बताएका हुन् ।

‘महिला लक्षित उद्यमशीलता प्रवद्र्धन गर्न रोजगारी तथा स्वरोजगारीका अवसरहरु वृद्धि गरिनेछ । महिलाको नाममा उद्योग, व्यवसाय वा कम्पनी दर्ता वा नवीकरण गर्दा शुल्क नलाग्ने व्यवस्था गरिनेछ’, बजेट भाषण गर्दै अर्थमन्त्रीले भने ।

गृहिणी महिलाको श्रम र सिपलाई साना तथा घरेलु उद्यमसँग जोड्न क्षमता विकासका कार्यक्रम सञ्चालन गरिने भएको छ । दुर्गमका रहेका गर्भवती महिलाहरूको उद्धारका लागि आवश्यक बजेटको व्यवस्था समेत गरिएको अर्थमन्त्रीले जानकारी दिए ।

महिलालाई रोजगारीसँग जोड्न सरकारले निःशुल्क उद्योग र कम्पनी दर्ता, र नवीकरण निःशुल्क गरेको हो । यसभन्दा अघि पनि सरकारले महिलाको नाममा निश्चित ठाउँ जस्तै औद्योगीक ग्राममा महिलाको नाममा उद्योग दर्ता गराउदा छुट दिनै आएको थियो ।