२०८२ जेष्ठ १५ गते

यस वर्ष सबै बालीकाे उत्पादन बढ्ने, तरकारी उत्पादन ६.६८ प्रतिशतले वृद्धि हुने

बैंकिङ खबर/सरकारले चालू आर्थिक वर्षमा सबै बालीको उत्पादन सामान्यरूपमा बढ्ने अनुमान गरेकाे छ। आर्थिक सर्वेक्षणले धान, गहुँ, मकै लगायत खाद्यान्न बालीको उत्पादन २.६७ प्रतिशत तथा नगदेबालीको उत्पादन २.०१ प्रतिशतले बढ्ने अनुमान छ।

यस्तै, औद्योगिक बालीको उत्पादन ४.४२ प्रतिशत, दलहन बाली ३.२९ प्रतिशत, मसलाबाली ११.६४ प्रतिशत, फलफूल बाली ०.१७ प्रतिशत र तरकारी उत्पादन ६.६८ प्रतिशतले वृद्धि हुने अनुमान छ।

चालू आर्थिक वर्षमा धानको उत्पादन ४.०४ प्रतिशतले वृद्धि भई जम्मा उत्पादन ५९ लाख ५५ हजार ४ सय ७६ मेट्रिक टन पुगेको छ।

चालू आर्थिक वर्ष धानबालीको औसत उत्पादकत्व ५.३८ प्रतिशतले वृद्धि भई ४.१९ मेट्रिक टन प्रति हेक्टर पुगेको छ। कृषि बालीको उत्पादन र क्षेत्रफल दुवैमा खाद्यान्न बालीको हिस्सा उच्च रहँदै आएको छ।

चालू आर्थिक वर्ष कुल बाली उत्पादनको परिमाणमा खाद्यान्न बालीको अंश ४५.५२ प्रतिशत, तरकारी १८.५९ प्रतिशत, नगदेबाली १५.१५ प्रतिशत, औद्योगिक बाली ११.४७ प्रतिशत, फलफूल ५.९३ प्रतिशत रहने अनुमान छ।

गत आर्थिक वर्ष कुल बाली उत्पादनको परिमाणमा खाद्यान्न बालीको अंश ४५.९ प्रतिशत, तरकारी १८.०४ प्रतिशत, नगदेबाली १५.३८ प्रतिशत, औद्योगिक बाली ११.३७ प्रतिशत तथा फलफूल ६.१३ प्रतिशत रहेको थियो।

आर्थिक वर्ष २०८१/८२ मा कृषि बाली लगाइएको क्षेत्रफलमध्ये खाद्यान्न बाली लगाइएको क्षेत्रफल ७०.९६ प्रतिशत रहने अनुमान छ। त्यसैगरी नगदेबाली ९.९८ प्रतिशत, तरकारी ६.९६ प्रतिशत, दलहन बाली ५.६१ प्रतिशत रहने अनुमान छ।

गत आर्थिक वर्ष खाद्यान्न बाली लगाइएको क्षेत्रफल ७१.४८ प्रतिशत, नगदेबाली ९.७८ प्रतिशत, तरकारी ६.७७ प्रतिशत, दलहन बाली ५.६१ प्रतिशत रहेको थियो।