२०८२ जेष्ठ १२ गते

हामीले सस्तोमा बिजुली किनेर भारतलाई प्रतियुनिट भारु ४ मा बेचिरहेका छौँः हितेन्द्रदेव

बैंकिङ खबर/ नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक हितेन्द्रदेव शाक्यले भारतलाई रातिको समयमा भारु ४ मा नेपालले विद्युत बिक्री गरिरहेको बताएका छन् ।

आइतबार साँझ कुलेश्वरस्थित नो लाइट शाखाअन्तर्गत विभिन्न स्थानमा देखिएको विद्युत आपूर्तिको समस्या, उपभोक्ताको गुनासो तथा सम्भावित प्राविधिक कठिनाइबारे जानकारी लिइसकेपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले यस्तो जानकारी दिएका हुन् ।

उनले भारतमा अहिले केही समय यता दिउँसोको समयमा विद्युत सस्तो भएको बताए । बिजुली खपत गरेबापत भारतमा अहिले एक मेगावाट आवरको करिव ५० पैसा पाउने अवस्था रहेको बताए ।

दिउँसोको समयमा नेपालले पनि त्यही बिजुली आयात गर्ने गरेको बताए । त्यो बेलामा हामीले भारतबाट बिजुली जतिसक्दो ल्याएर कुलेखानी, मस्र्याङ्दी, कालीगण्डकी र तामाकोशीमा पानी जम्मा गरेर राखेको र पिक लोड समयमा नेपालकै विद्युतले आवश्यकता पूरा भइरहेको बताए ।

त्यस्तै राती ९ बजेपछि सञ्चित पानीबाट बिजुली बेचिरहेको दाबी गरे । शनिबार मात्रै २५ सय मेगावाट आवर खरिद गरिएको र १३ सय मेगावाट आवर बिक्री गरेको बताए । जसबाट नेपालले सस्तोमा किनेर महंगोमा बेच्दा युनिट कम भएपनि पैसाको हिसावले फाइदा भएको बताए ।

प्रबन्ध निर्देशक शाक्यले गत बुधबार र बिहीबार बाहेकका दिन बाहेक अरु दिन विद्युत आपूर्तिमा समस्या नरहेको जिकिर गरे । वास्तविकता भन्दा पनि फरक रहेर सत्यता लुकाएर अफवाह फैल्याइएको बताए ।