२०८२ जेष्ठ ११ गते

आवास विकास संघको १८औं साधारणसभा : कुँवर नेतृत्वमा नयाँ कार्य समिति चयन

बैंकिङ खबर/ नेपाल जग्गा तथा आवास विकास संघको १८ औं साधारण सभा काठमाडौंमा सम्पन्न भएको छ । नेपाल जग्गा तथा आवास विकास संघका अध्यक्ष बिदुर धमलाको अध्यक्षतामा भएको उद्घाटनमा सहरी विकास मन्त्रालयका सचिव गोपालप्रसाद सिग्देलको प्रमुख आतिथ्यता रहेको थियो । समारोहमा विशेष अतिथिको रुपमा नेपाल जग्गा तथा आवास विकास महासंघका अध्यक्ष विष्णुप्रसाद घिमिरे, उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) अध्यक्ष चन्द्रप्रसाद ढकाल र नेपाल चेम्बर अफ कमर्सका कार्यवाहक अध्यक्ष दिपक मल्होत्रा रहेका थिए ।

यस्तै शहरी विकास तथा भवन निर्माण विभागका महानिर्देशक मचाकाजी महर्जन, भूमि व्यवस्था, सहकारी तथा गरिबी निर्माण मन्त्रालयका सहसचिव गणेशप्रसाद भट्ट र एफएनसीसीआईका उपाध्यक्ष हेमराज ढकाल विशिष्ट अतिथि रहेका थिए ।

सो समारोहमा संघका प्रथम उपाध्यक्ष दीपक कुँवरले स्वागत मन्तव्य राखेका थिए । सभापति धमलाले रियल इस्टेट क्षेत्रमा नेपाल सरकारले धेरै कानुनी सुधारहरू गर्नुपर्ने आवश्यकता बताउँदै संयुक्त आवास सम्बन्धी ऐन, भूमि सम्बन्धी ऐन तथा नापी ऐनमा सुधार गर्नुपर्ने र शहरी विकास ऐन छिट्टै जारी हुनुपर्ने लगायतका धारणा राखेका थिए ।

विशेष अतिथि एफएनसीसीआईका अध्यक्ष चन्द्रप्रसाद ढकालले राज्यको राजस्व नै धानेको घरजग्गा क्षेत्रलाई नियन्त्रण गर्नु हुँदैन र घरजग्गा क्षेत्रलाई नकारात्मक रुपमा हेर्नु हुँदैन भन्ने सुझाव दिएका थिए । उनले घरजग्गा सम्बन्धी कानुनहरुमा समय सापेक्ष रुपमा सुधारहरू गर्नुपर्ने र घरजग्गा क्षेत्रमा हदबन्दी हटाउनुपर्ने बताए । साथै उनले व्यवसायीहरूको संलग्नतामा पब्लिक कम्पनी खोलिएकोले सबैलाई सहभागी हुन आग्रह गर्दै संघसँग सहकार्य गर्न आफू प्रतिबद्ध रहेको बताए ।

एफएनसीसीआईका वस्तुगत संघका उपाध्यक्ष हेमराज ढकालले निजी क्षेत्रले खरिद गरेको जग्गा सरकारी अथवा राष्ट्रिय सम्पत्ति बनाउन खोज्नु हुँदैन, निजी लगानीमा खरिद गरेको जग्गा राज्यको जग्गा होइन भन्ने बताउनु हुँदै घर जग्गा क्षेत्रलाई प्रोत्साहित गर्नुपर्छ भन्ने धारणा राखे ।

नेपाल चेम्बर अफ कमर्सका कार्यवाहक अध्यक्ष दिपक मल्होत्राले रियल इस्टेट व्यवसाय नफस्टाएका कारण विभिन्न आर्थिक समस्या देखापरेको धारणा राख्दै भूमि सम्बन्धी विधेयक चाँडै पारित होस् भन्ने व्यवसायीहरूको चाहना रहेको र जग्गा खरिद बिक्रीको रजिस्ट्रेसन दस्तुर घटाउनुपर्ने माग राखे ।

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सहसचिव गणेशप्रसाद भट्टले कालो धनलाई व्यवस्थापन गर्नुपर्ने आवश्यकता रहेको वर्तमान परिप्रेक्ष्यमा रियलस्टेट क्षेत्रलाई व्यवस्थित गर्नुपर्ने आवश्यकता औंल्याए । उनले व्यवसायीहरूको माग सम्बोधन गर्न नेपाल सरकारले कार्य गरिरहेको जानकारी दिँदै घरजग्गा व्यवसायको लागि हदबन्दी छुट दिने उद्देश्यले विधेयक पारित गर्ने क्रममा रहेको बताए । साथै उनले स्थानीय निकायहरुले जग्गा वर्गीकरण नगरेका कारण कित्ताकाटमा समस्या आउन सक्ने आशंका व्यक्त गरे ।

नेपाल जग्गा तथा आवास विकास महासंघका अध्यक्ष विष्णुप्रसाद घिमिरेले शहरी ऐन छिट्टै जारी गर्नुपर्ने र घरजग्गा व्यवसायीहरूलाई हदबन्दी छुट दिनुपर्ने कुरामा जोड दिँदै घरजग्गा व्यवसायीहरूको पहलमा स्थापना गरिएको नेपाल अर्बान इन्फ्रास्ट्रक्चर डेभलप्मेन्ट कम्पनीमा लगानी गर्न आग्रह गरे ।

संघका नवनिर्वाचित अध्यक्ष दीपक कुँवरले रियल इस्टेट व्यवसायलाई प्रवर्धन गर्नको लागि राज्यले यस सम्बन्धी कानुनहरुमा सुधार गरी सहजीकरण गरिदिनुपर्ने बताए । उनले पूर्वाधार विकासको क्षेत्रमा व्यवसायीहरु लगानी गर्न तत्पर रहेको र युवालाई देशभित्रै उद्योग गर्ने अवसर प्रदान गर्नुपर्ने आवश्यकतालाई ध्यानमा राखी संघको नयाँ कार्य समितिको कार्यकारिणी सदस्यमा युवाहरु समेतलाई चयन गरिएको बताए ।

सभाका प्रमुख अतिथि शहरी विकास मन्त्रालयका सचिव सिग्देलले नयाँ कार्य समितिलाई बधाई दिँदै सहरी विकास ऐन छिट्टै जारी हुने क्रममा रहेको, रियल इस्टेट क्षेत्रमा हदबन्दी हुनुहुन्न भन्ने आफ्नो धारणा रहेको, संयुक्त आवास सम्बन्धी ऐन संशोधनको क्रममा रहेको र घर जग्गा कारोबारलाई व्यवस्थित गर्न लाइसेन्सीङको व्यवस्था हुनुपर्ने धारणा राखे ।

संघको नवनिर्वाचित कार्यसमितिको अध्यक्ष दीपक कुँवरको नेतृत्वमा १४ सदस्यीय कार्य समिति निर्विरोधरुपमा निर्वाचित भएको छ । सो समिति अन्य पदाधिकारीहरुमध्ये प्रथम उपाध्यक्षमा पुरुषोत्तम पौडेल, दितीय उपाध्यक्षमा सुमितकुमार अग्रवाल, तृतीय उपाध्यक्षमा रोशन भयोध्यो, महासचिवमा तुलसीप्रसाद अधिकारी, सचिवमा वरुणकुमार आचार्य र कोषाध्यक्षमा निश्चल बहादुर श्रेष्ठ निर्वाचित हुनु भएको छ । त्यसैगरी कार्यकारिणी सदस्यहरुमा डेगेन्द्र कुमार श्रेष्ठ, मनोजबहादुर श्रेष्ठ, हरिभक्त श्रेष्ठ, सन्दिप श्रेष्ठ, प्रश्रित भयोध्यो, सिद्धान्त बिक्रम धमला र आभाष कुँवर रहेका छन् ।

नवनिर्वाचित कार्यसमितिका अध्यक्ष दीपक कुँवरको कार्य समितिले बैठक बसी आईएमएस डेभलपर्स प्रा.लि.का मुख्य व्यवस्थापक अरनिको सिंहलाई कार्यकारणी सदस्यमा मनोनीत गरी ९ सदस्यीय सल्लाहकार समिति समेत चयन गरेको छ । सल्लाहकार समितिमा बुद्धिनारायण श्रेष्ठ, नमान श्रेष्ठ, इच्छाबहादुर वाग्ले, प्रकाश आचार्य, ओम बहादुर राजभण्डारी, दिपक मल्होत्रा, कालु गुरुङ र टंकबहादुर श्रेष्ठ रहेका छन्।