
बैंकिङ खबर/महालक्ष्मी विकास बैंक लिमिटेडले आर्किड गार्डेन नेपाल परियोजनालाई आर्थिक सहयोग गरेको छ । विगत १७ वर्षदेखि पिछडिएका बालबालिकाहरुलाई दिवा स्याहार तथा शिक्षा प्रदान गरिरहेको बाल विद्यालयको हालको अवस्था अत्यन्त नाजुक रहेकोले विद्यालयको अवस्था सुधार गरी बालबालिकाको पठनपाठनमा सहजता पुर्याउने उद्देश्यसहित ५० हजार रुपैयाँ आर्थिक सहयोग गरिएको बैंकले जनाएको छ ।
विद्यालय ग्राउन्ड सतह भन्दा करिब ४ फिट तल रहेको, वर्षायाममा कक्षा कोठामा बाढी पस्ने कारणले विद्यालय बन्द गर्नुपर्ने र सरकारी प्राधिकरणबाट विद्यालय सुधारका लागि सूचना समेत आइसकेकोले आर्किड गार्डेन नेपाल परियोजना अन्तर्गत रही विद्यालय सुधार गर्न लागिएको विद्यालयले जनाएको छ ।
६ महिनादेखि ९ वर्षसम्मका १५० जना बालबालिकाहरुलाई दिवा स्याहार सेवा तथा शिक्षा प्रदान गरिरहेको विद्यालयले सुधार पश्चात करिब २०० जना बालबालिकालाई सेवा प्रदान गर्ने सामर्थ्य राख्ने विश्वास गरिएको छ ।


