
बैंकिङ खबर/ विश्व वातावरण दिवसका अवसरमा शनिबार सांग्रिला डेभलपमेन्ट बैंकले ‘इन्धन जोगाऔं, पृथ्वी बचाऔं’, नाराका साथ डेभलपमेन्ट बैंकर्स एशोसिएसन नेपालसँगको सहकार्यमा साइकल र्यालीको आयोजना गरी सम्पन्न गरेको छ ।
बैंकका प्रमुख कार्यकारी अधिकृत सुयोग श्रेष्ठबाट साइकल र्यालीमा सहभागीहरुलाई वातावरण संरक्षणमा सर्वसाधारणको दायित्व विषयमा संवोधन गरिए पश्चात साइकल र्यालीको शुरुवात गरिएको थियो ।
बैंकको केन्द्रीय कार्यालय बालुवाटारको प्राङ्गण र्यालीबाट सुरु भई गैरीधारा, नारायणचौर, नागपोखरी, नारायणहिटि, दरबार मार्ग, भद्रकाली मन्दिर, शहिद गेट, त्रिपुरेश्वर, सुन्धारा, जमल, दरबार मार्ग, कृष्ण पाउरोटी, सिटि सेन्टर, ज्ञानेश्वर, जर्मन ऐम्बेसी, सानो गौचरण पुगेर करिब १० कि.मि. को दुरीको यात्रा सम्पन्न भएको थियो ।
उक्त साइकल र्यालीमा बैंकका कर्मचारी, गाहकवर्ग, शेयरधनी, प्रायोजक एवं यस बैंकप्रति सद्भाव राख्ने सम्पूर्ण शुभेच्छुक महानुभावहरु गरी लगभग ४०० भन्दा बढीको उपस्थिती रहेको थियो ।
यस साइकल र्यालीबाट सांग्रिला डेभलपमेन्ट बैंकले वातावरण प्रवद्र्धन प्रतिको आफ्नो उत्तरदायित्वलाई आत्मसात गर्दै इन्धनको मितव्ययिता एवं साइकल जस्तो बैकल्पिक यातायातको साधनको प्रयोग गरी प्रदूषण नियन्त्रणमा टेवा पुर्याउनको निम्ति समाजमा चेतना फैलाउन योगदान पुग्ने विश्वास राखेको छ ।
‘वातावरणलाई सफा स्वच्छ राख्ने उद्देश्यका साथ इन्धन बचाऔं, पृथ्वी बचाऔं’ भन्ने नारा लिएर बैंक अगाडि बढेकोले यस्ता किसिमका कार्यक्रमहरुलाई बैंकले निरन्तरता दिँदै जाने जनाएको छ ।
सो र्यालीमा सहभागी भएका सम्पूर्ण सहभागीहरुलाई टिर्सट र चिनो स्वरुप एक एक वटा विरुवा प्रदान गरिएको थियो । साथै एक साइकल र्यालीमा सहभागी हुनुभएका राधा कृष्ण श्रेष्ठलाई लक्की ड्रबाट उपहार स्वरुप एउटा साइकल प्रदान गरिएको थियो ।




