Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

एनएमबी बैंक लुटपाटः पेस्तोलसहित यसरी आएका थिए ४ लुटेरा(भिडियोसहित)

२०८० जेष्ठ १६ गते

बैंकिङ खबर/पेस्तोलसहित आएका चार लुटेराले महोत्तरीमा रहेको एनएमबी बैंकको शाखाबाट दिनदहाडै पैसा लुटपाट गरेका छन् । मंगलबार मध्याह्न साढे १२ बजे महोत्तरी गाउँपालिका वडा नम्बर २ महोत्तरी बजारमा रहेको एनएमबी बैंकको शाखा कार्यालयबाट लुटपाट भएको हो।

जिल्ला प्रहरी कार्यालय महोत्तरीका डिएसपी दिलिपकुमार गिरीका अनुसार ४ जनाले पेस्तोल देखाएर बैंक लुटपाट गरेका हुन्। बैंकमा लुटपाट भइरहेको बेलाको सिसिटिभी फुटेज बाहिरिएको छ। जसमा मास्क लगाएका ४ जना पुरूषले पेस्तोल देखाउँदै बैंकभित्र प्रवेश गरेको देखिन्छ।

ग्राहकलाई एक ठाउँमा उभाएर उनीहरू काउन्टरभित्र प्रवेश गरेको भिडिओमा देखिन्छ। अर्का एक लुटेराले भने ग्राहककै कपडा लिएर काउन्टरमा प्रवेश गरेको देखिन्छ।

केहीबेरमा त्यही कपडामा पैसा पोको पारेर ल्याएको देखिएको छ। प्रहरीका अनुसार लुटपाट भएको रकमको विवरण आइसकेको छैन। तर बैंकले भने करिब ३५ लाख रुपैयाँ लुटेको प्रारम्भिक जानकारी प्रहरीलाई दिएको छ।