![]()
पल क्रुगम्यान
बैंकिङ खबर/ सबै अमेरिकी आर्थिक पर्यवेक्षकहरू एउटा कुरामा सहमत छन् । त्यो भनेको सन् २०२३ मा अमेरिकी अर्थतन्त्रले सामना गरेको समस्या सन् २००८ को पछिल्लो संकटका बेलाको समस्याभन्दा धेरै फरक छन् ।
सन् २००८ को संकटको समयमा अमेरिकाले बैंकिङ पतन र घट्दो मागसँग सामना गरिरहेको थियो । ऋहिले बैंकिङ एउटा सानो मुद्दाको रूपमा आइपुगेको छ । मुख्य समस्या मुद्रास्फीति बनेको छ, जुन उपलब्ध आपूर्तिको तुलनामा अत्यधिक मागको कारण सिर्जना भएको हो । अहिले पनि विगतको मूर्खताहरूको प्रतिध्वनिहरू सुनिन्छन्, जुन लगभग सधैँ नै हुन्छन् ।
क्रिप्टोप्रतिको मोहमा विगतको सब–प्राइम मोर्टगेजहरूको वृद्धि र पतनकै केही विशेषता देखिए । जसका कारण मानिस उनीहरूले नबुझेको जटिल वित्तीय व्यवस्थाप्रति लोभिए । यसका बाबजुद कसैले पनि सन् २००८ को डरलाग्दो समयको पुनरावृत्तिको आशा गरेका छैनन् । जब कि विश्व वित्तीय प्रणालीको आधार नै भत्किएजस्तो देखिएको थियो ।
एकाएक हामी अहिले उही पुराना परिदृश्य ‘रिप्ले’ मोडमा हेरिरहेको महसुस गर्दै छौं छौँ । सिलिकन भ्याली बैंक अमेरिकाको सबैभन्दा ठूला वित्तीय संस्थाहरूमध्येको थिएन, तर सन् २००८ को पहिलो पतन सामना गरेको बैंक लेहम्यान ब्रदर्स पनि त त्यस्तो बैंक थिएन ।
तर, सिलिकन भ्याली बैंक लेहम्यान होइन र सन् २०२३ पनि सन् २००८ होइन । अहिले जे भइरहेको छ, त्यो सम्भवतः प्रणालीगत वित्तीय संकट होइन । अहिले पनि सरकारले स्थितिलाई साम्य बनाउन अग्रसरता लिएको भए पनि करदाताको रकम बैंकको उद्धारका लागि प्रयोग गर्न सक्दैनन् ।
परिस्थिति बुझ्नका लागि सिलिकन भ्याली बैंक के थियो र त्यसले के गर्थ्यो भन्ने वास्तविकता बुझ्न आवश्यक छ । सिलिकन भ्याली बैंकले आफूलाई ‘वैश्विक नवप्रवर्तन अर्थतन्त्रको बैंक’को रूपमा चित्रण गर्थ्यो, जसले अनुमान गर्न सहज बनाउँछ कि यसले उच्च अनुमानित प्रविधि क्षेत्रमा लगानी गरिरहेको थियो । यसले ‘स्टार्टअप’हरूलाई वित्तीय सेवा प्रदान गरे पनि तिनलाई धेरै पैसा उधारो दिएन, किनकि प्रविधि स्टार्टअपले प्रायः भेन्चर क्यापिटलिस्टहरूबाट पर्याप्त रकम पाइरहेका हुन्छन् ।
खासमा नगद प्रवाह विपरीत दिशामा हुन्थ्यो, जहाँ प्रविधिसँग सम्बन्धित व्यवसायीहरूले ठूलो रकम सिलिकन भ्याली बैंकमा जम्मा गर्थे । र, बैंकले आफूसँग भएको पैसाको अत्यन्त सुरक्षित सम्पत्तिमा लगानी गर्थ्यो । जुन, मुख्यतया अमेरिकी सरकार र सरकार–समर्थित एजेन्सीहरूद्वारा जारी गरिने दीर्घकालीन बन्ड हुन्थे ।
यसबाट बैंकले केही समय राम्रै पैसा कमायो, किनभने कम ब्याजदरको संसारमा दीर्घकालीन बन्डहरूले सामान्यतया बैंक निक्षेपहरूसहित अल्पकालीन सम्पत्तिले भन्दा उच्च ब्याजदर दिलाउँछन् । तर, सिलिकन भ्याली बैंकको रणनीतिलाई दुई ठूला जोखिमको डर थियो ।
पहिलो त अल्पकालीन ब्याजदर बढ्दा उसको रणनीतिमा धक्का लाग्ने थियो (ती पहिले अत्यन्त न्यून भएकाले घट्ने ठाउँ नै थिएन), र यदि दीर्घकालीन ब्याजदर पनि बढे भने सिलिकन भ्याली बैंकको बन्डको बजार मूल्य घट्ने थियो, जसले ठूलो पुँजीगत ह्रास गराउने थियो । र, अमेरिकाको फेडरल रिजर्भले मुद्रास्फीतिसँग जुध्न ब्याजदर बढाएपछि त्यही नै भयो ।
सिलिकल भ्याली बैंकको रणनीतिमाथि दोस्रो जोखिमको कुरा गर्दा उसको निक्षेपलाई संघीय सरकारले सुरक्षा(बिमा) प्रदान गरेको थियो । तर, त्यो बिमा २ लाख ५० हजार डलरसम्म मात्र थियो । तथापि, बैंकको निक्षेप मुख्यतः करोडौँ डलर खाता भएका व्यावसायिक ग्राहकका थिए ।
कम्तीमा एक ग्राहकको खातामा ३.३ अर्ब डलर थियो (स्वाभाविक रूपमा त्यो एक क्रिप्टो फर्म थियो) । बैंकका ग्राहक बिमित नभएकाले बैंकलाई उसका अधिकांश ग्राहक पैसा झिक्न आउन सक्ने स्थितिको जोखिम थियो । र, त्यस्तो स्थिति पनि आयो ।
सरकारले हस्तक्षेप नगरेको भए पनि सिलिकन भ्याली बैंकको पतनले सायद ठूलो आर्थिक असर सिर्जना गर्ने थिएन । मुख्य क्षति सो बैंकमा पैसा जम्मा गर्ने व्यवसायले सहजै पैसा पाउन नसक्ने कुरामा हुने थियो । र, सिलिकन भ्याली बैंकको पतनले अन्य मध्यम आकारका बैंकमा जम्मा भएका निक्षेप झिक्न ग्राहक जाने सम्भावना सिर्जना हुन सक्थ्यो ।
सरकारी अधिकारीले सावधानीस्वरूप सिलिकन भ्याली बैंकका सबै निक्षेपको ग्यारेन्टी गर्ने मार्ग खोजेको हुनुपर्छ । यहाँ के उल्लेख गर्नु महत्वपूर्ण छ भने यसको मतलब स्टकहोल्डरको उद्धार गर्नु होइन । सिलिकन भ्याली बैंक अहिले सरकारी स्वामित्वमा छ र यसको इक्विटी नष्ट भएको छ । यसको अर्थ एउटै बैंकमा ठूलो रकम जम्मा गर्ने मूर्खताबाट केही व्यवसायलाई बचाउनु हो । यो किन पनि रिसउठ्दो छ भने धेरै प्रविधिसँग सम्बन्धित धनाढ्यहरू सरकारी सहायताको विरोध गर्छन्, तर त्यसवेलासम्म विरोध गर्छन्, जबसम्म ती आफैँलाई सहायताको आवश्यकता पर्दैन ।
सिलिकन भ्याली बैंक र सिलिकन भ्यालीका अन्य उद्योगले बैंकिङ नियम खुकुलो बनाउन ट्रम्प प्रशासन र कांग्रेसलाई सफलतापूर्वक लबिङ नगरेको भए आजको स्थिति आउने नै थिएन । बाइडेन प्रशासनका शीर्ष अर्थशास्त्री बनेका लैल ब्रेनार्डले नियम खुकुलो बनाउँदा सही अर्थमा निन्दा गरेका थिए ।
अहिलेका लागि सुखद समाचार यही हो कि यसपटक करदाताहरूको कुनै रकम सम्भवतः बैंकको उद्धारमा प्रयोग हुनेछैन । वास्तवमा सिलिकन भ्याली बैंक साँच्चै टाट पल्टिएको हो कि होइन भन्नेमा स्पष्ट छैन, तर यसले निक्षेपकर्ताको अचानकको वृद्धिअनुरूपको रकम उपलब्ध गराउन नसकेको भने पक्का हो ।
द न्युयोर्क टाइम्सबाट



