
बैंकिङ खबर/बैंक तथा वित्तीय संस्थाको ब्याजदर वृद्धिविरुद्ध आन्दोलन भइरहेको बेला सरकार भने अनौपचारिक छलफलमा जुटेको छ । उपप्रधान तथा भौतिक पूर्वाधार मन्त्री नारायणकाजी श्रेष्ठले बैंकको बढ्दो ब्याजदरका बारेमा सरकारले अनौपचारिक छलफल गरेर समाधान खोजिरहेको बताएका छन्।
पछिल्ला दिनमा व्यवसायीहरुले ब्याजदरका कारण अप्ठेरोमा परिरहेको र आत्महत्या गर्नुपर्ने अवस्था आएको बताइरहेका छन्। बिहीबार नेपाल इटाली उद्योग वाणिज्य संघको ९औं वार्षिक साधारणसभामा पनि व्यवसायीले महँगो ब्याजको प्रसंग उठाएका थिए।
कार्यक्रमको प्रमुख अतिथि रहेका श्रेष्ठले व्यवसायीले उठाएका समस्याका बारेमा सम्बोधन गर्दै ब्याजदर घटाउने सन्दर्भमा सरकारले अनौपचारिक छलफल गरिरहेको जानकारी गराएका हुन्।
उनले अर्थतन्त्रको सुधारका लागि सरकारले सक्दो पहल गरिरहेको र त्यसको नतिजा केही दिनमै देखिने दाबी समेत गरे।कार्यक्रममा नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्ल र पूर्वअध्यक्ष राजेशकाजी श्रेष्ठले उच्च ब्याजदरका कारण व्यवसाय गर्न नसकिने अवस्था आएको बताएका थिए।




