चालू आर्थिक वर्षको चौथो त्रैमासिक अवधिमा चीनको ठूलो पुँजी पलायनको सम्भावना कम भएको छ । देशको आर्थिक आधार बलियो भएकाले यसको सम्भावना कम भएको देशको विदेशी विनिमयको नियामक निकायले जनाएको छ । गत साता सार्वजनिक भएको आधिकारिक तथ्यांकले समग्र आर्थिक वृद्धि ६.७ प्रतिशत भएको देखाएको छ ।
विदामा डलरको माग उच्च
चिनियाँ बैंकहरूमा सेप्टेम्बरमा खुद २८.४ अर्ब डलरको विदेशी विनिमयको सटही भएको थियो । यो अगस्टको १८.९ अर्ब डलरको दाँजोमा बढी भएको स्टेट एडमिनिस्ट्रेसन अफ फरिन एक्सचेन्जले जनाएको छ । पहिलो त्रैमासिक अवधिमा खुद विदेशी मुद्राको बिक्री २४३.४ अर्ब डलर रहेको थियो ।
यसमा आवधिक तत्वले प्रमुख भूमिका खेलेको प्रशासनका प्रवक्ता वाङ चुनियिङले बताइन् । विशेष गरी नेसनल डेको ग्रीष्मकालीन बिदाको समयमा नागरिकबाट विदेशी मुद्राको उच्च माग आएको उनले बताइन् । दोस्रो त्रैमासिक अवधिको तुलनामा तेस्रो त्रैमासिक अवधिमा भ्रमणका लागि भएको खुद बिक्री १३.२ अर्ब डलरले वृद्धि भएको उनले बताइन् । उनका अनुसार यो अघिल्ला केही वर्षकै समान हो ।
अमेरिकाको व्याजदर वृद्धिको सम्भावित प्रभाव
यद्यपि अमेरिकाले गर्न सक्ने भनिएको ब्याजदर वृद्धिलगायतका केही बाह्य कारणले अल्पकालीन प्रभाव पार्न सक्नेछ । हालको पुँजी बाह्य प्रवाहको दबाब व्यवस्थापन गर्न सकिने किसिमको भएको र डिसेम्बरको दाँजोमा न्यून भएको चाइना इभरब्राइट सेक्युरिटिजका प्रमुख अर्थशास्त्री सु गाओले बताए । देशको आर्थिक अवस्था र युआनको विनिमय दरप्रतिको चिन्ताका कारण ठूलो परिमाणमा पुँजी बाह्य पलायनको सम्भावना कम भएको उनको भनाइ छ । उनका अनुसार, हाल युआनमा भएको अवमूल्यन स्वभाविक हो । अमेरिकी डलर मजबुत भएकाले पनि युआनको अवमूल्यन भएको उनको तर्क छ । एजेन्सी



