
बैंकिङ खबर/ झापाका विवादित व्यवसायी दुर्गा प्रसाईको ‘कालोमोसो’ अभियानका केन्द्रीय संयोजक शम्भु थापा चितवनबाट पक्राउ परेका छन्।
थापालाई मंगलबार भरतपुरस्थित जिल्ला प्रशासन कार्यालय परिसरबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।
बैंक तथा वित्तीय संस्थाविरुद्ध अफवाह फैल्याएको आरोपमा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
दुर्गा प्रसाई पछिल्लो समय बैंक तथा वित्तीय संस्थाको कर्जा नतिर्ने अभियान चलाइरहेका छन्। उनले फागुन १३ गते चितवनमा सभा गरेका थिए।
त्यही कार्यक्रममा थापालाई कालोमोसो दस्ताको संयोजक घोषणा गरेका थिए। संयोजक थापाले बैंक तथा वित्तिय संस्थाका प्रमुखहरुलाई मोसो दल्ने घोषणा गरेका थिए।
कार्यक्रममा मोसो लेखिएका टिसर्टमा युवाहरु परिचालन पनि गरिएको थियो। दस्ताको धम्कीपछि बैंक तथा वित्तीय संस्थाले जिल्ला प्रशासन कार्यालय चितवनमा पुगेर ध्यानाकर्षण गराएका थिए। प्रहरीले बिहीबार म्याद थप गरेर थप अनुसन्धान अगाडि बढाउने तयारी गरेको छ




