
विकास आचार्य
लघुवित्तकर्मी
बिहान कार्यालय पुग्दा नपुग्दै प्युठानको एउटा शाखामा कार्यरत शाखा प्रमुखको फोन आयो । सामान्य अभिवादनपछि उहाँले भन्नुभयो,‘सर काम गर्ने वातावरण छैन, तराई तिरबाट एउटा समुह आएको छ ।
दिनभर गाउँमा पसेर हाम्रा ऋणी सदस्यहरुसँग सदस्यता बापत रु.५०० विना धितो कर्जा मिनाहा गराएको रु.१००० धितो कर्जा मिनाहा गराएको रु. २००० का दरले रकम असुल गरी रहेका छन् । दिनभर असुल गरेको रकमले बेलुका होटलमा रक्सी खाने गरेका छन् ।
यो प्रक्रिया तिनिहरुको दैनिकी बनेको छ । अघिल्लो महिनासम्म राम्रोसँग कर्जा तिरी रहेका ऋणीहरुले पनि कर्जा मिनाहा हुने लोभमा किस्ता तिर्न मानि रहेका छैनन् । बाहिरबाट आएको समूहले कर्मचारीलाई कालोमोसो दल्ने कुटपिट गर्ने धम्की दिई रहेका छन् । मैले तपाईहरु बचेर काम गर्नुस् परिस्थिति सधँै यस्तै रहँदैन । सालिनता पूर्वक कुरा गर्नेसँग मात्र छलफल गर्ने बुझाउने कोसिस गर्नुस् भनेर फोन काटे । एक छिनमा महेन्द्रनगरमा रहेको अर्को शाखामा कार्यरत शाखा प्रमुखको फोन आयो । उहाँले त्यस्तै व्यथा सुनाउनुभयो ।
सर आज एउटा फोन आयो भोलि देखि कार्यालय नखोल्नु ज्यानको माया नभए मात्र खोल्नु हामी कार्यालय तोडफोड गर्छौं । कसैसँग किस्ता नमाग्नु म….. पार्टीको मान्छे बोलेको भनेर धम्कायो । मैले सचेत रहनु होला अफिस आए भने संवाद गर्नु अराजकता देखाए तपाईहरु जोगिनु भन्ने सुझाव दिएँ ।
धनगढी नजिकै रहको अर्को शाखाको शाखा प्रमुखको फोन आयो । उहाँले त्यस्तै समस्या सुनाउनुभयो । सर हामिले सञ्चालन गर्ने समूह बैठकमा एकाएक ३ जना अपरिचित मानिसहरु आए । किस्ता नतिर्नु, बैठक संचालन नगर्नु गरेमा हामी कालो मोसो दल्छौं । ज्यानको माया छैन भने बैठक सञ्चालन गर्न आउनु । किस्ता तिरेका ऋणीहरुको पैसा कर्मचारीको हातबाट खोसेर ऋणीहरुलाई नै फिर्ता दिए ।नतिर्नु भनि ऋणीहरुलाई समेत धम्काए हामी मिनाहा गरिदिन्छौं तिर्नु पर्दैन भन्दै मिनाहा गराइदिने भन्दै ऋणीसँग रकम असुले हामी बचेर आयौं ।
अफिस आएर समूहको अध्यक्षलाई फोन ग¥यौं । उहाँले तपाईहरु फिल्ड नआउनुस् हामी अफिसमै ल्याइ दिन्छौं भन्नु भएको छ । मैले रेडिमेड जस्तै कुरा गरे । तपाईहरु बचेर काम गर्नहोला । सचेत रहनु होला सधैँ परिस्थिति यस्तै रहँदैन । यति सुनेपछि हतासिँदै गुलरिया शाखामा फोन गरे ।
शाखाको हालखबर बुझ्ने इच्छा प्रकट गरे । उहाँले सुनाउनुभयो ‘सर एक जना स्वघोषित सामाजिक अभियान्ता.. आएपछि संघर्ष समिति बनाएका छन् रे । कुन–कुन वित्तीय संस्थाको शाखा प्रमुखलाई पहिला कारबाही गर्ने भनेर लिस्ट बनाएका छन् रे ?, त्यसमा मेरो नाम पनि छ भन्ने सुनेको छु । मैले तपाईलाई कसले जानकारी दियो तपाईको नाम पनि छ भन्ने भनेर ?, प्रति प्रश्न गरे ।
हाम्रा असल ऋणी तथा सदस्यहरुले भन्नु भएको भन्ने जानकारी गराउनुभयो । ‘मैले कस्ता मान्छे छन् संघर्ष समितिमा भनेर सोधे’ उताबाट जवाफ आयो कोहि दुई चार पटक जेल परेर निस्किएका कोहि दलका कार्यकर्ताहरु छन् । खासमा तिनिहरु ऋणी होइनन् भन्ने जवाफ प्राप्त भयो ।
लामो सास फेरेर एकछिन मोबाइल निकालेर स्क्रोल गरे । समाचार देखियो जाजरकोटमा अज्ञात समूहबाट एन.आइ.सी एसिया लघुवित्तको कर्मचारीलाई कालो मोसो दलियो । फिल्डबाट संकलन गरेर ल्याएको रकम समेत लुटियो ।
अलिकत स्क्रोल गर्दा अर्को भाइरल भिडियो देखियो । एक जना स्वघोषित सामाजिक अभियान्ताको भाषण बैंक वित्तीय संस्थाका कर्मचारीलाई कालो मोसो दल्नुस्, कुटपिट गुर्नस् भन्दै गरेको । दुई चारदिन अगाडि मात्र एउटा समाचार पढको थिए । काठमाडौंमा दिन दहाडै मोबाईल पसल लुटियो ।
देशमा उदण्ड र अराजकताले सीमा नाघेको छ । यी प्रतिनिधि उदाहारण मात्र हुन् । एउटा उदण्ड समूह लघुवित्त संस्थाहरुको विरोध गर्ने, कर्जा मिनाहा गराई दिन्छौं भन्दै रकम असुली गरेर खाने गरेको छ । यसको पछाडि केहि मिटरव्याजी र स्थानीय साहु महाजनको समेत सहयोग र संलग्नता रहेको सजिलै अनुमान गर्न सकिन्छ ।
देशमा उदण्डता अराजकता मौलाई रहेको छ । राज्यले शान्ति सुरक्षाको प्रत्याभुति गर्न सक्दैन मुकदर्शक बनेर हेरिरहेको छ । कतिपय राजनीतिक दलहरुले भोट बैंकको रुपमा लाभ लिने र चुनावमा परिचालन गर्ने उदेश्यले उदण्डहरुको समूहलाई समर्थन जनाई रहेका छन् ।
अस्थिर राजनीतिक व्यवस्था र राज्यहिनताको लाभ लिने प्रवृत्ति दलहरुको पुरानै भएपनि यो स्तरको नैतिक च्युत भएको महसुस मुलुकले गरेको थिएन ।
देशको चौथो अंग भनेर चिनिने पत्रकार, देशको मूलधारका मिडिया र युट्युवरहरुले तथ्यहिन र भ्रामक समाचार सम्प्रेषण गरी रहेका छन् । यिनिहरुको आफ्नै स्वार्थ छ भाइरल हुने, हो हल्ला गर्ने र धमिलो पानीमा माछा मार्ने । नियामक निकाय नेपाल राष्ट्र बैंकले ग्रामीण अर्थतन्त्रको मेरुदण्डको रुपमा सर्वस्वीकार्य लघुवित्त संस्थाहरुको समुचित संरक्षण गर्न सकि रहेको छैन ।
ग्रामीण किसान, महिला, विपन्न, देशको दूरदराजमा बस्ने पीछडिएको वर्ग, बैंक वित्तीय संस्थाको पहुँच नभएका व्यक्तीहरुलाई वित्तीय रुपमा साक्षर बनाई, व्यावसायिक सीप सिकाउँदै सानो सानो कर्जा प्रवाह गरी व्यावसायिक बनाई विपन्न परिवारको जीवनस्तर उकास्ने पवित्र उदेश्य बोकेर लघुवित्त संस्थाहरु स्थापना भएका हुन् ।
लघुवित्त संस्थाले ठूला वाणिज्य बैंक र होलसेल लेन्डर कम्पनी मार्फत कर्जा लिएर गरिब विपन्न परिवारको घर दैलोमा पुगेर वित्तीय सेवा प्रदान गर्नु पर्ने भएको हुँदा आफुले लिएको ऋणको प्रचलित व्याजदर अनुसारको व्याज तिर्नुपर्ने र घर दैलोमा पुगेर सेवा दिनुपर्ने भएकोले स्वभाविक रुपमा लागत बढ्न जाने हुँदा व्याजदर बढि हुनु स्वभाविक छ । यद्यपी नेपाल राष्ट्र बैंकले १५ प्रतिशत भन्दाबढी व्याज लिन नपाउने र १.५ प्रतिशत भन्दा बढी सेवा शुल्क लिन नपाउने व्यवस्था गरेको छ ।
जुन अहिलेको प्रचलित बजारको व्याजदरको औषत हो भने अन्य दक्षिण एसियाली मुलुकहरुको भन्दा सस्तो हो । यसलाई महंगो भन्नुपर्ने कुनै कारण छैन । सानो आकारको कर्जा र व्याजदरको सीमा तोकिएकाले आम्दानी समेत सानै हुने हुँदा लघुवित्तहरुमार्फत मात्र वित्तीय साक्षरता र व्यावसायिक सीपको विकास गराउनु आफैँमा कठिन काम हुन्छ । त्यसकारण लघुवित्तको एक्लो प्रयासले मात्र प्रयाप्त हुँदैन ।
यसमा राज्यको सहयोग समेत आवश्यक हुन्छ । बंगलादेशबाट सुरुवात भएको लघुवित्त कार्यक्रमको ग्रामीण मोडेल विश्वका धेरै मुलुकमा गरिबी निवारणको महत्वपूर्ण औजारको रुपमा स्थापित छ । बंगलादेशमा लघुवित्तहरुले गरिबी निवारणमा महत्वपूर्ण योगदान पु¥याएका छन् । यसरी सफलता प्राप्त गर्न सक्नुको मुख्य कारण भनेकै लघुवित्त मैत्री नीति र राज्यको सहयोग नै हो । जुन नेपालमा प्रयाप्त छैन ।
त्यसो त नेपालमा केहि गर्न नसकेको भन्ने आरोप मिथ्या हो । हजारौं परिवारले लघुवित्तको कर्जा मार्फत व्यावसायिक सफलता प्राप्त गरेका उदाहारण छन् । अहिलेको स्तरको बोल्न सक्ने लघुवित्तहरुले नै बनाएका हुन् । हात समाएर आमा दिदी बहिनीहरुलाई लेख्न सिकाउने र वित्तीय रुपमा समेत साक्षर बनाउने काम विगत तिस वर्ष लघुवित्तले गर्दै आएका छन् ।
देशको ग्रामीण अर्थतन्त्र चलाएमान बनाउन, परम्परागत कृषि तथा पुर्खौली पेशा गरी रहेका व्यक्तिहरुलाई व्यावसायिकरण गर्न, महिला सशक्तिकरण गर्न, ग्रामीण विपन्न व्यक्तिहरुको जीवनस्तर सुधार गर्न, साहु महाजनको चर्को व्याजदरको चंगुलबाट मुक्ति दिलाउन लघुवित्तको अपरिहार्यतालाई नकार्न सकिँदैन ।
नेपाल जस्तो विकासोन्मुख देशमा लघुवित्तमार्फत समृद्धि सम्भव छ । उदण्डता र अराजकतालाई निरुत्साहन गरौं । राज्यले लघुवित्त कार्यक्रमको मर्म अनुसार संरक्षणको नीति र लघुवित्तमैत्री वातावरण सिर्जना गरोस् । देशमा शान्ति सुरक्षा अमन चयन कायम गरी नागरिकले आफ्नो पेशा व्यावसाय गर्न सकुँन सम्बन्धित निकायको ध्यान पुगोस् । जय लघुवित्त ।



