Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

बैंकिङ क्षेत्रमा ३ दशक योगदान दिएका डीसीईओ ढकालको निधन

२०७९ फाल्गुन ४ गते

बैंकिङ खबर/ लुम्बिनी विकास बैंकका वरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) पवन ढकालको निधन भएको छ । उनको हृदयघातका कारण निधन भएको हो । डीसीईओ ढकाल हृदयघातका कारण लामो समयदेखि उपचाररत थिए । ढकालको काठमाडौंमा निधन भएको हो । हृदयघात भएपछि उनलाई उपचारका लागि दिल्ली लगिएको थियो । उनलाई दुई पटकसम्म हृदयघात भएको थियो ।

त्रिभुवन विश्वविद्यालयबाट एमबीए गरेका ढकालको नेपाली बैंकिङ क्षेत्रमा तीन दशकको योगदान छ । उनले सन् १९९२ मा स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपाल लिमिटेड (साविक नेपाल ग्रिन्डलेज बैंक) बाट आफ्नो बैंकिङ करियर सुरु गरेका थिए । सो बैंकमा करिब ८ वर्ष बिताएका थिए ।

स्ट्याण्डर्ड चार्टर्ड बैंक छाडेपछि उनी माछापुच्छ्रे बैंकमा आबद्ध भएका थिए । उनले माछापुच्छ्रे बैंकमा करिब १४ वर्षसम्म विभिन्न व्यवस्थापकीय भूमिका र जिम्मेवारीमा रहेर काम गरेका थिए ।

त्यसपछि साविक कैलाश विकास बैंकमा सहायक महाप्रबन्धक, सिद्धार्थ विकास बैंकमा डीसीईओ र जनता बैंकमा सहायक महाप्रबन्धकको रूपमा काम गरेका थिए । उनी सन् २०१९ जुनदेखि लुम्बिनी विकास बैंकमा वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृतको पदमा प्रवेश गरेका थिए । उनले मुक्तिनाथ क्यापिटलको सञ्चालक समितिमा पनि बैंकको प्रतिनिधित्व गरेका थिए ।