२०७३ कार्तिक ४ गते

माथि उठ्न सकेन चिनियाँ अर्थतन्त्र : जीडीपी स्थिर जस्तै

chinaसन् २०१६ को तेस्रो त्रैमासमा चीनको आर्थिक वृद्धि स्थिर बनेको एक तथ्याङ्कले देखाएको छ । जुलाई–सेप्टेम्बर अवधिमा चीनको अर्थतन्त्र ६ दशमलव ७ प्रतिशत बढेको नेशनल ब्युरो अफ स्ट्याटिष्टिक्स (एनबीएस)ले सार्वजनिक गरेको तथ्याङ्कले देखाएको हो । यो एशोसिएटेड फ्रान्स प्रेसले गरेको जनमत सङ्ग्रहको ६ दशमलव ६ प्रतिशत वृद्धि प्रक्षेपणको तुलनामा बढी हो ।

यो वर्ष चीनमा साढे ६ देखि ७ प्रतिशतसम्मको आर्थिक वृद्धि हुने सरकारी लक्ष्य रहेको छ । गतवर्ष चिनियाँ अर्थतन्त्र २५ वर्षकै सुस्त अर्थात् ६ दशमलव ७ प्रतिशतले बढेको थियो । त्यस्तै त्यहाँको खुद्रा खर्चले पनि गति लिएको तथ्याङ्कले देखाएको छ । यसैक्रममा सेप्टेम्बर महीनामा चीनको औद्योगिक उत्पादन भने अघिल्लो महीनाको तुलनामा घटेर ६ दशमलव १ प्रतिशतमा समेटिएको थियो ।

अगष्टमा भने उत्पादन ६ दशमलव ३ प्रतिशत थियो । विश्वव्यापी मागमा कमी आएका कारण उत्पादन घटेको हो । तर, गत महीना खुद्रा विक्री भने गतवर्षको तुलनामा १० दशमलव ७ प्रतिशत बढेको छ । खुद्रा विक्री उपभोक्ता खर्चको एक प्रमुख सूचक हो । त्यस्तै यो वर्षको पहिलो ९ महीनामा स्थिर सम्पत्तिमाथिको लगानी पनि ८ दशमलव २ प्रतिशत बढेको एनबीएसले बताएको छ । रासस/एएफपी