
रबि काफ्ले
नेपाल राष्ट्र बैंकको मौद्रिक नीति, ०७८/७९ अनुसार बैंक तथा वित्तीय संस्थाले पनि बैंकिङ पहुँच विस्तार र डिजिटल बैंकिङलाई प्राथमिकता दिएका छन् ।
‘क’ ‘ख’ र ग वर्गका सबै बैंकले मोबाइल तथा इन्टरनेट बैंकिङको सेवा दिइरहेका छन् भने केही ‘ग’ वर्गका वित्तीय संस्थाले पनि एटिएम सेवा दिन थालेका छन् । चालू आर्थिक वर्षको मंसिरसम्म ७ सय ४३ स्थानीय तहमा वाणिज्य बैंकका शाखा विस्तार भइसकेका छन् । बैंक तथा वित्तीय संस्थाको शाखा संख्या ५ हजार ४ सय ७० पुगिसकेको छ । यस अवधिमा २ करोड ९२ लाख ६९ हजारभन्दा बढी बचत खाता खुलेका छन् । १४ लाख ५६ हजारभन्दा बढी कर्जा खाता खोलिएका छन् ।
यसरी खाता खोल्नेमध्ये ९० लाख ९९ हजारले मोबाइल बैंकिङ सेवा र ९ लाख २८ हजारले इन्टरनेट बैंकिङ सुविधा लिइरहेको राष्ट्र बैंकको तथ्यांक छ । ६८ लाख १९ हजारले डेबिट, १ लाख ३७ हजारले क्रेडिट कार्ड प्रयोग गरिरहेका छन् । बैंक तथा वित्तीय संस्थाका एटिएम संख्या ३ हजार ५ सय २० पुगेका छन् ।
ठूलो संख्यामा मोबाइल र इन्टरनेट बैंकिङको सेवा विस्तार भए पनि नगदरहित कारोबारको गति भने न्यून छ । छिटफुट कामबाहेक नगद नबोकी सुखै छैन । नगद जम्मा गर्न सम्बन्धित बैंकमै धाउनुपर्ने बाध्यता छँदै छ । बजारको संरचनाले गर्दा ग्राहकले नगद र कार्ड दुवै बोक्ने चलन छ ।
एटिएमबाट पैसा निकाल्ने र पसलमा गएर त्यही पैसाले सामान किन्ने प्रवृत्तिले डिजिटल बैंकिङको अर्थ हुदैन ‘अहिले जसरी अधिकांश स्थानमा कार्डको प्रयोग हुँदैन, त्यसैगरी भोलि नगदको प्रयोग नहुने अवस्था बन्यो भने डिजिटल बैंकिङको अनर्थ हुन्छ,’ ‘त्यसका लागि नियमनकारी निकायको अग्रसरता, बैंक तथा वित्तीय संस्था र अन्य सेवाप्रदायकले मध्यस्थताको भूमिका खेल्नुपर्छ ।’ इन्टरनेट तथा विद्युतीय उपकरणले जनजीवनलाई सरल एवं सहज बनाइसकेको समाजलाई डिजिटल बैंकिङमा लैजान ढिला भइसकेको छ ।
विश्वका थुप्रै मुलुक नगदरहित कारोबारमा अभ्यस्त भइसकेका छन् । ती देशमा पैसाको सानो इकाइदेखि लाखौँ रुपैयाँसम्म तत्काल मोबाइल वा इन्टरनेटमार्फत लेनदेन गर्न मिल्ने भएकाले नगद बोकिरहनुपर्दैन । चियापसलदेखि ठूल्ठूला किनमेल र कारोबार नगदरहित नै हुन्छ । हार्वर्ड विजनेस रिभ्यु–२०२१ का अनुसार अमेरिका, बेलायत, नेदरल्यान्ड, नर्वे, जापान, डेनमार्कलगायत देशमा ९० प्रतिशत बढी कारोबार नगदरहित हुने गरेको छ ।
त्यसो त नगदरहित कारोबारको फाइदा पनि अनेक छन् । डिजिटल बैंकिङको पहुँचले खर्चमा कटौती, सरल र छिटो सेवा प्रवाह, जुनसुकै समय र स्थानबाट कारोबार सञ्चालन गर्न सकिन्छ ।
यसको प्रयोगले उत्पादकत्वमा वृद्धि, समयको बचत, कागजी नोट खर्च छपाइमा कटौती, पैसाको सुरक्षा र स्मार्ट जीवनशैली बनाउँछ ‘अनियमितता रोक्न, राजस्व चुहावट कम गर्न तथा अर्थतन्त्रको औपचारिकीकरण गर्न क्यासलेस कारोबार महत्त्वपूर्ण छ,’ ‘राज्यलाई चौतर्फी फाइदा पुग्ने भएकाले डिजिटल बैंकिङ राष्ट्र बैंकको प्राथमिकतामा छ ।’
डिजिटल कारोबार पारदर्शी हुने भएकाले व्यवसायीसमेत करको दायरामा आउने, विद्यमान कर चुहावट र छलीलाई कानूनी दायरामा ल्याउन पनि सहयोग हुनेछ !!!
(काफ्ले सिटिजन्स बैंक इन्टरनेस्नल लि.शाखा कार्यालय कालिकानगरमा कार्यरत हुनुहुन्छ ।)



