Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

शोक बिदाः बैंक, वित्तहरु भने खुल्ला रहने

२०७९ माघ १ गते

बैंकिङ खबर/पोखरामा आइतबार भएको यती एयरको विमान दुर्घटनाको शोकमा सरकारले सोमबार सार्वजनिक विदा दिने निर्णय गरेको छ । मन्त्री परिषद्को बैठकपछि गृह मन्त्रालयले जारी गरेको सूचनामा अत्यावश्यक सेवा बाहेक नेपाल राज्यभर सोमबार सार्वजनिक बिदा हुने उल्लेख छ । तर बैंक तथा बीमा कम्पनीका कार्यालयहरु भने खुला रहने छन् ।

नेपाल सरकारले राजपत्रमा २०७६ साल असोज २७ गते प्रकाशन गरेको सूचना अनुसार बीमा बैंक तथा वित्तीय सेवा प्रदायक संस्थाहरू समेत अत्यावश्यक सेवा अन्तर्गत पर्ने भएकाले बीमा कम्पनी तथा बैंक तथा वित्तीय संस्थाको कार्यालय खुल्ने भएका हुन् । राजपत्रको सूचनाको बुँदा नम्बर १५ मा बैंक सेवा र १६ नम्बरका बीमा सेवालाई अत्यावश्यक सेवाको सूचीमा समावेश गरिएको छ।

गृहमन्त्रालयको सूचना अनुसार अत्यावश्यक सेवाको सूचीमा समावेश रहेको दूरसंचार सेवा, यातायात सेवा, ढुवानी सेवा, स्वास्थ्य उपचार सेवा, पर्यटन सेवा, पेट्रोलियम पद्धार्थ ढुवानी सेवा, विद्युत सेवा, छापाखाना सेवा, आन्तरिक सुरक्षा सेवालगायतको सेवा प्रवाह गर्ने कार्यालयहरु समेत खुल्ला रहने भएका छन् ।

आइतबार बिहान काठमाडौंबाट पोखराका लागी १०ः३३ बजे उडेको यती एयरको विमान पोखराको सेती खोंचमा दुर्घटनाग्रस्त भएर आगलागी हुँदा चालक दलका ४ जना सहित सबै ७२ जनाको मृत्यु भएको अनुमान गरिएको छ । मृतकमध्ये ६९ जनाको शव घटनास्थलबाट उद्धारकर्मीले फेला पारेका छन् । बाँकी तीन जनाको भने सोमबार बिहानबाट पुनः खोजी गरिने जनाइएको छ ।