Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

नबिल बैंकद्वारा एजीएम आह्वान, यी विशेष प्रस्ताव अनुमोदन गरिने

२०७९ पुष ६ गते

बैंकिङ खबर/नबिल बैंक लिमिटेडले आफ्नो ३८ औँ वार्षिक साधारणसभा डाकेको छ । बैंक सञ्चालक समितिको पुस ४ गते बसेको बैठकले यही पुस २९ गते वार्षिक साधारणसभा आयोजना गर्ने निर्णय गरेको हो । सभा काठमाण्डौको गैह्रीधारास्थित सिल्भर ओक ब्यांक्वेट एन्ड इभेन्ट सेन्टरमा बिहान १० बजेबाट हुनेछ। सभाले आर्थिक वर्ष २०७८–७९ का लागि प्रस्तावित चुक्तापुँजीको कुल ३० प्रतिशत लाभांश अनुमोदन गर्नेछ। जसमा १८.५ प्रतिशत बोनस सेयर र ११.५ प्रतिशत नगद लाभांश छन्।

सभाले बैंकको अधिकृत पुँजी वृद्धि गरी २८ अर्ब रुपैयाँ पुर्याउने विशेष प्रस्ताव पनि अनुमोदन गर्नेछ। बैंकको प्रबन्धपत्रको केही दफाहरुमा संशोधन स्वीकृत गर्ने र नियमनकारी निकायबाट फेरबदलको सुझाव प्राप्त भएमा आवश्यक परिमार्जन, संशोधन तथा समायोजन गर्न सञ्चालक समिति वा समितिले तोकेको व्यक्तिलाई अख्तियारी प्रदान गर्ने विशेष प्रस्ताव पनि पारित गर्नेछ।

अन्य उपयुक्त बैंक तथा वित्तीय संस्था आपसमा गाभ्ने, गाभिने वा प्राप्ति गर्न तथा वैदेशिक रणनीतिक साझेदारीमा जान उपयुक्त देखिएमा सोसम्बन्धी सम्पूर्ण कार्य अगाडि बढाउन सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने विशेष प्रस्ताव सभाले अनुमोदन गर्नेछ।

सभाले संस्थापक सेयरधनीहरुका तर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने सञ्चालक पदमा ३ जनाको निर्वाचन गर्नेछ।सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदनलगायतका दस्तावेजहरु छलफल गरी पारित गर्नेछ। लाभांश र सभा प्रयोजनका लागि बैंकले पुस १८ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ पुस १८ गतेभन्दा अगाडि कायम सेयरधनीहरुमात्रै यो बैंकको लाभांश पाउन र सभामा भाग लिन योग्य हुने जनाइएको छ ।