राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले भूकम्पबाट अतिप्रभावित ११ जिल्लाका चार लाख २० हजार ८ सय २२ पीडितलाई पहिलो किस्ताको अनुदान वितरण गरेको छ । हालसम्म चार लाख ३७ हजार ४ सय ६९ घरधनीलाई पहिलो किस्ताको रू. ५० हजार भुक्तानीका लागि सिफारिस गरिएको प्राधिकरणका प्रवक्ता रामप्रसाद थपलियाले बताए । ‘दशैंका कारण केही दिन अनुदान सम्झौता र पहिलो किस्ताको रकम वितरणमा ढिलाइ भए पनि शुक्रवारदेखि काम शुरु गरिएको छ, काठमाडौंमा ५५ हजार घरधनीसँग अनुदान सम्झौताको काम शुरु गर्ने तयारी भएको छ’– उनले भने ।
यसअघि भूकम्पबाट अति प्रभावित सिन्धुपाल्चोक, दोलखा, रामेछाप, ओखलढुङ्गा, सिन्धुली, काभ्रेपलाञ्चोक, मकवानपुर, गोरखा, धादिङ, रसुवा र नुवाकोट गरी ११ जिल्लामा अनुदान सम्झौता गरी पहिलो किस्ताको रू. ५० हजार लाभग्राहीको बैङ्क खातामा हाल्ने काम भइरहेको थियो । ललितपुरको बुङ्मतीका चार घरधनीसँग अनुदान सम्झौता गरी पहिलो किस्ता दिइएको थियो ।
केन्द्रीय तथ्याङ्क विभागले काठमाडौंमा एक लाख १५ हजार ६ सय ७१ घरधनीलाई पुनर्निर्माणका लागि अनुदान दिनुपर्ने सूची प्राधिकरणमा बुझाएको छ जसमध्ये ५५ हजारलाई पहिलो चरणमा तत्काल अनुदान सम्झौता गर्नेगरी तयारी शुरु गरिएको हो । तिहारअघि नै ललितपुर र भक्तपुरमा पनि अनुदान सम्झौता शुरु गरिने प्रवक्ता थपलियाले बताए । रासस
