
बैंकिङ खबर/ सञ्चालनमा रहेका २६ वटा बैंकमध्ये लाभांश घोषणा गर्नेमा बैंक अफ काठमाण्डू, कुमारी, सिटिजन्स, एनसीसी, स्टयान्डर्ड चार्टर्ड, ग्लोबल आइएमई र सानिमा बैंक रहेको छ । बैंक अफ काठमाण्डूले २०.९५ प्रतिशत लाभांश घोषणा गरेको छ । जसमा बोनस ६ र नगद १४.९५ प्रतिशत रहेको छ ।
कुमारीले १२.५ प्रतिशत नगद लाभांश दिने भएको छ भने सिटिजन्सले सेयरधनीलाई ९ प्रतिशत नगद लाभांश दिने भएको छ । सिटिजन्स बैंकले लाभांश घोषणा गरेर पनि साधारणसभा बोलाएर घोषणा गरेको लाभांश सभाले पारित गरिसकेको छ ।
कुमारी बैंकले सभा बोलाएको छ । कात्तिक २१ गते सभा बोलाएको बैंकले कात्तिक १४ गतेका लागि बुक क्लोज गरिसकेको छ । कुमारी बैंक र एनसीसी बैंक मर्जरमा जान लागेका कारण अहिले कारोबार रोक्का रहेको छ ।
असोज १० गतेसम्म कायम रहेका लगानीकर्ताले लाभांश पाउने छन् । बैंकले १२.५० प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ । यस्तै एनसीसी बैंकले ११ प्रतिशत लाभांश घोषणा गरेकामा ३.३६ प्रतिशत बोनस र ७.६३ प्रतिशत नगद लाभांश घोषणा गरेको छ ।
यस्तै स्टयान्डर्ड चार्टर्ड बैंकले १६.५१ प्रतिशत लाभांश घोषणा गरेको छ । बैंकले नगद मात्रै लाभांश दिने भएको छ । ग्लोबल आइएमई बैंकले १३.६ प्रतिशत लाभांश घोषणा गरेको छ । जसमा बोनस ३ र १०.६ प्रतिशत नगद लाभांश रहेको छ ।
सानिमा बैंकले १०.९८ प्रतिशत लाभांश घोषणा गरेकामा १० प्रतिशत बोनस र कर प्रयोजनका लागि ०.९८ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ ।
बैंकहरुले गत आर्थिक वर्ष २०७८÷७९ को मुनाफाबाट सेयरधनीहरुलाई उक्त लाभांश दिने प्रस्ताव गरेका हुन् । प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृति भई बैंकको आगामी साधारणसभाले पारित गरेपछि लगानीकर्ताले पाउनेछन् ।




