
बैंकिङ खबर/ दशैँका लागि १२ अर्ब रुपैयाँ बराबरका नयाँ नोट सटही भएको छ । दसैँ तिहार र छठ पर्वको अवसर पारेर राष्ट्र बैंकले उपलब्ध गराएको सफा नोट सटही सुविधामा सो बराबरको नयाँ नोट साटिएको हो ।
नेपाल राष्ट्र बैंकले गत भदौ २९ गतेदेखि नयाँ नोट साट्न थालेको थियो । बैंक तथा वित्तीय संस्थाहरुले भने असोज २ गतेदेखि नयाँ नोट साट्न थालेका थिए । राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुलाई भने भदौ २३ गतेदेखि नै नयाँ नोट उपलब्ध गराएको थियो ।
असोज ११ गतेसम्ममा १२ अर्ब रुपैयाँ बराबरका नयाँ नोट साटिएको नेपाल राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभागका कार्यकारी निर्देशक रेवती नेपालले बताउनुभयो । राष्ट्र बैंकले आगामी शुक्रबारसम्म सर्वसाधारणलाई नयाँ नोट उपलब्ध गराउने भएकोले थप ५० करोड रुपैयाँ जति नयाँ नोट सटही हुन सक्ने अनुमान कार्यकारी निर्देशक नेपालले गरे ।
नेपाल राष्ट्र बैंकले केन्द्रीय कार्यालय बालुवाटारबाट र उपत्यका बाहिरका ७ कार्यालयहरूबाट नयाँ नोट सटही गरिरहेको छ । काठमाडौंको बालुवाटारमा ५ वटा काउन्टर राखेर नयाँ नोट सटही गरिरहेको उनले जानकारी दिए । राष्ट्र बैंकको केन्द्रीय कार्यालयबाट दैनिक औसतमा ७ सय जनाले नयाँ नोट सटही गर्ने गरेका छन् । काठमाडौं उपत्यका बाहिरका कार्यालयहरूबाट दैनिक औसतमा प्रतिकार्यालय ४ सय जनाले सटही गर्ने गरेका छन् ।


