बैंकिङ खबर/ कोभिड–१९ महामारीका कारण विश्वकै अर्थतन्त्र संकटको घडीमा आइपुगेको छ। यतिबेला हरेक देश आफ्नो अर्थतन्त्रलाई कसरी जोगाउने भन्नेमा चिन्तित छन् । केही देशको आर्थिकस्तर सुधारोन्मुख दिशामा लागे पनि अधिकांश देशमा संकटको अवस्था अझै कायमै छ । विशेष गरेर सबल भनिएका विश्वका देशहरुको अवस्था पनि सोचेजस्तो हुन सकेको छैन । विश्वको अर्थतन्त्र संकटको अवस्थामा परिरहँदा यसको प्रत्यक्ष असर बैंक वित्तहरुमा पर्न थालेको छ ।
नेपालकै सन्दर्भमा हेर्दा पनि कोरोना भाइरस (कोभिड–१९) का कारण देशव्यापी लकडाउन गरेपछिका दिनमा आर्थिक गतिविधिहरु सुस्ताए । अहिले केही सुधारोन्मुख देखिन्छ । लकडाउन खुलेपछि पनि आर्थिक गतिविधि पुरानै अवस्थामा फर्किन केही समय लाग्यो । व्यापार–व्यवसाय रोकिँदाको प्रत्यक्ष असर बैंकहरुमा पर्यो । नेपालजस्तो विकासोन्मुख देश मात्र नभई सबल भनिएका विश्वका देशहरुको अर्थतन्त्र र बैंक वित्तमा कोभिडले नराम्रोसँग प्रभावित बनाएको छ । जसलाई तल प्रस्तुत गरिएको छ ।
जनविश्वास गुमाउँदै भारतीय बैंक

कोभिड–१९ को प्रभाव छिमेकी देश भारतमा पनि नराम्रोसँग परेको छ । भारतमा गएको वर्ष धेरै खराब कर्जाका कारण तीन ठूला बैंकहरू संकटग्रस्त बने । भारतमा व्यापारलाई शुरुमा कोभिड–१९ ले थला पार्याे। जसको असर बैंकवित्तमा पनि पर्याे । भारतको केन्द्रीय रिजर्भ बैंक अफ इण्डिया आरबीआईले गत वर्ष ९४ वर्ष अगाडि स्थापित उक्त बैंकको वित्तीय स्वास्थ्य संकटग्रस्त भएको भन्दै उसको कारोबारमा अंकुश लगायो । जसअनुसार बचतकर्ताहरूले एक महिनामा भारु २५,००० सम्म मात्र झिक्ने पाए ।
गत वर्ष यसरी संकटग्रस्त बनेको लक्ष्मी विलास तेस्रो बैंक हो । सन् २०१९ को सेप्टेम्बरमा पञ्जाब एण्ड महाराष्ट्र कोअपरेटिभ बैंक पीएमसी संकटमा परेको थियो । करिब ६० करोड डलरको धोकाधडीपूर्ण कर्जा दिएको आरोपमा उक्त बैंकमाथि अनुसन्धान भइरहेको छ ।
गत वर्षको मार्च महिनामा भारतको पाँचौँ ठूलो निजी बैंक पीएमसीको कारोबारमा निषेधहरू लगाइएको थियो जब उसले आफ्नो खराब कर्जा मेट्न आवश्यक पुँजी जुटाउन सकेन । आरबीआईबाट निकै द्रुतगतिमा लक्ष्मी विलास र पीएमसी बैंकको सहायताका लागि कदमहरू चालिएको छ । लक्ष्मी विलास बैंकलाई उसले सिङ्गापुरको सबभन्दा ठूलो बैंक डीबीएसमा गाभ्न सघायो भने यस बैंकमा चाहिँ पुँजी सेचन गरिदियो । पछिल्ला कैयौँ वर्षहरूदेखि भारतीय बैंकहरू ठूलो मात्राको कर्पोरेट खराब कर्जाको मारमा परिरहेका छन् । उनीहरूले दशौँ अर्ब डलर बराबर त्यस्ता खराब कर्जा गुमाइसकेका छन् । आरबीआईका पूर्वगभर्नर रघुराम राजनले यस्ता खराब कर्जाको मुख्य कारण बैंकहरूमा देखिएको ‘अत्याधिक आशावाद र नाजायज उत्साह’ लाई मानेका छन् ।
भारतको सबभन्दा ठूलो सरकारी स्वामित्वको स्टेट बैंक अफ इण्डिया एसबीआईकी पूर्वप्रमुख अर्थविद् वृन्दा जागिरदार भन्छिन्, ‘वर्तमान कोभिड समस्याले भारतीय अर्थतन्त्र सुस्ताएको सन्दर्भमा यी पछिल्ला घटनालाई हेर्नुपर्छ ।’ उनी थप्छिन्, ‘खराब कर्जाका अन्य कारणमा कमजोर कर्पोरेट शासन, अव्यवस्था तथा बैंकहरूभित्र कमजोर निगरानी प्रणाली रहेका छन् । यसलाई हरेक तहमा जवाफदेहीता बढाएर समाधान गर्न सकिन्छ ।’
कोभिडले पाठ सिकेका चिनियाँ बैंकवित्त

कोभिड–१९ को उद्गमस्थल चीनमा कोभिडपछि अर्थतन्त्र धेरै नै सुस्तायो । चुलिँदो ऊर्जा र विभिन्न औद्योगिक समस्याका कारण विश्वको दोस्रो ठूलो अर्थतन्त्र समस्याग्रस्त बन्यो । जसको प्रत्यक्ष असर बैंकवित्तमा पनि पर्न गयो ।
प्रोपर्टी उद्योगमा समस्या आउँदा यसले निर्माण क्षेत्र, निर्माणजन्य पदार्थ, होम फर्निसिङ उद्योगमा असर गर्याे । प्रोपर्टी उद्योगमा सरकारले अख्तियार गरेको कडा नियम र ऊर्जा संकटका कारण बैंकहरुले समेत आफ्नो वृद्धि प्रक्षेपणलाई घटाउन बाध्य भए । कोभिडले चिनियाँ ठूला राष्ट्रिय बैंकहरूदेखि मझौला तथा साना बैंकहरुमा समेत असर गर्यो । चिनियाँ साना बैंकहरू बढी जोखिममा परे । कमजोर जोखिम व्यवस्थापन र कम पुँजीका कारण उनीहरु संकटग्रस्त हुन बाध्य भए । जसले साना बैंकहरू चीनको वित्तीय प्रणालीको सबैभन्दा कमजोर अवस्थामा आइपुगे । विशेष गरी उनीहरु आर्थिक संकटमा परे ।
अर्कातिर आर्थिक चक्र र महामारीको प्रभावहरूको संयोजनले बैंकहरूको सम्पत्ति पोर्टफोलियोहरूमा ठूलो चुनौती खडा गरेको छ । नियामकहरू र बैंकहरूले भविष्यको दिशाहरू भविष्यवाणी गर्न र व्यापार पोर्टफोलियोहरू चुस्त रूपमा समायोजन गर्न सम्पत्ति, उद्योग र उत्पादनहरूमा लगातार तनाव परीक्षणहरू प्रदर्शन गरेका छन् ।
तर पनि कोभिडपछि चिनियाँ बैंकहरुले डिजिटल व्यापार रूपान्तरणको योजना बनाए । कोभिडका कारण चीनमा पारवहन र उत्पादनबाहेक बैंकिङ क्षेत्र पनि नराम्ररी प्रभावित भयो । ग्राहक प्राप्ति, खुद ब्याज आम्दानी र मध्यवर्ती व्यापार आम्दानीमा ठूलो दबाब पर्दा बैंकका ग्राहकहरू शाखासम्म पुग्न सकेनन् ।
बन्द र कारखानाहरूको सुस्त रिकभरीले प्रत्यक्ष र अप्रत्यक्ष रूपमा बैंकिङ सम्पत्तिको गुणस्तर र कर्पोरेट व्यापार वृद्धिलाईसमेत असर गर्यो । यद्यपि अग्रणी डिजिटल बैंकहरूले यो अवसरलाई एप्स मार्फत अनलाइन सम्पत्ति व्यवस्थापन र ऋण सेवाहरू विकास गर्ने अवसरलाई सदुपयोग गरे । बैंकहरूको अनुभवका आधारमा कोभिडको महामारीमा पनि चीनमा डिजिटलका कारण प्रत्यक्ष रूपमा बैंकले महामारीसँग सजिलै सामना गर्न सफल भए ।
कोभिड महामारीमा युरोपेली बैंकहरू

कोभिडले यूरोपका देशहरुमा पनि प्रत्यक्ष रुपमा असर गर्यो । कोभिडकै कारण यूरोपका देशहरुमा आर्थिक संकट उत्पन्न भयो । जसले गर्दा यसको असर बैंकवित्तसम्म पर्न गयो । कोभिडका कारण यूरोपियन देशहरु बेलायत, अमेरिका जस्ता शक्तिशाली देशहरु पनि लकडाउन गर्न बाध्य भए । जसले गर्दा त्यहाँको अर्थतन्त्रमा प्रत्यक्ष असर पर्न गयो । कोभिडकै कारण उक्त देशमा कैयौंले ज्यान गुमाउन बाध्य भए ।
कोभिडले युरोपेली बैंकहरूमा चुनौतीहरू पनि खडा भए । तर पनि त्यहाँ रहेका केन्द्रीय बैंकहरू, पर्यवेक्षकहरू र सरकारहरू लगायतको संकटलाई मध्यनजर गर्दै ल्याइएको नीतिगत प्रतिक्रियाको कारण केही सहज भने भएको छ । जसले गर्दा युरोपेली बैंकहरूलाई कोरोना भाइरस संकटको सबैभन्दा कठिन अवधिहरूमा वास्तविक अर्थतन्त्रलाई समर्थन गर्न सक्षम बनायो। संकटमा त्यहाँ रहेका बैंकिङ क्षेत्र बढी लचिलो देखिए । त्यहाँको सरकारको मौद्रिक नीति, पर्यवेक्षक, नियामक र वित्तीय) का कारण बैंकिङ क्षेत्रलाई स्थिर बनाउन र वास्तविक अर्थतन्त्रमा ऋण प्रवाह खुला राख्न मद्दत गरेको पाइन्छ ।
महामारी शुरु भएको डेढ वर्षपछि यूरोपीयन क्षेत्रका गतिविधिमा सुधार हुन थालिसकेको छ । हालैका महिनाहरूमा बैंकहरूको पुँजी प्रक्षेपणहरू थप विश्वसनीय भएको देखिन्छ । यूरोपियन धेरैजसो बैंकहरूले हाम्रा पर्यवेक्षकहरूको अपेक्षाहरू र यस संकटका विशिष्ट सुविधाहरू प्रतिबिम्बित गर्न आफ्नो क्रेडिट जोखिम नियन्त्रणहरू समायोजन गरेका छन् । केही बैंकहरूको ऋण तिर्न नसकेका ऋणीहरुको मूल्यांकन गर्न थालेका छन् ।
कोभिड–१९ को महामारीमा अमेरिकी बैंक

विश्वभर महामारीको रुपमा फैलिएको कोभिड–१९ प्रकोपका कारण विश्वले मानवीय एवम् आर्थिक क्षति व्यहोर्नु पर्यो । विश्वको सबैभन्दा बढी शक्तिशाली देशको रुपमा चिनिएको अमेरिकामा पनि कोभिडले नराम्रोसँग असर गर्यो । यता कोभिडकै कारण बैंक अफ अमेरिकाको नाफा ३५ प्रतिशतले घटेको छ। बैंकका ठूला ऋणीहरु कोभिड महामारीका कारण अर्बौं रुपैयाँ गुमाएका थिए ।
अफ्रिकी बैंकवित्तमा कोभिडले पारेको प्रभाव

कोभिड–१९ ले अफ्रिकी देशहरुको आर्थिक गतिविधिमा पनि नराम्रोसँग धक्का दियो । जसले गर्दा यसको असर बैंकवित्तमा पनि परेको देखिन्छ । महामारीले अफ्रिकाको आर्थिक दृष्टिकोणलाई आमूलरूपमा परिवर्तन गरेको छ । कोभिडका कारण यहाँको आर्थिक वृद्धिदर नकारात्मक रहेको छ भने प्रतिव्यक्ति आयमा पनि गिरावट आएको छ । अफ्रिकी देशहरुमा कोरोनाको कारण गरिबीको दर पनि बढको विभिन्न अध्ययनहरुले देखाएका छन् । कोभिड–१९ का कारण २६ मिलियन मानिसहरू गरिबीको रेखामुनि पर्ने प्रक्षेपण गरिएको छ ।
अफ्रिकी देशहरुमा रहेका बैंक वित्तले कोभिड–१९ को संकटमा वित्तीय स्थायित्व व्यवस्थापन गर्न कदम चालेको पाइन्छ । जसले बैंकिङ प्रणालीमा जोखिमलाई कम गर्न सहयोग गरेको थियो । कोभिडका कारण अफ्रिकी देशहरुमा पनि विभिन्न क्षेत्र र व्यापारिक क्षेत्रका ऋणीहरू प्रभावित भएका छन् । अफ्रिकी मुलुकमा संकटले डिजिटल अर्थतन्त्रका सम्भावनाहरू अगाडि ल्याइएको छ । बैंक वित्त पनि डिजिटलमैत्री हुन पुगेका छन् ।
गहिरो संकटमा अफगानिस्तानको बैंकिङ प्रणाली

द्वन्द्वबाट पिल्सिएको अफगानिस्तानका बैंक वित्तहरुको अवस्था विगतमा खासै राम्रो रहन सकेन । अझ कोभिड र विद्रोही समूह तालिबानले अफगानिस्तान कब्जा गरेपछि झन् गहिरो संकटमा पुगेका छन् । यहाँका बैंकहरुमा खराब कर्जा बढेको छ। यहाँका बैंकहरुले अघिल्लो त्रैमासिकमा छुट्याएको केही पैसा प्रतिद्वन्द्वीहरूलाई दिन बाध्य भए । संयुक्त राष्ट्र विकास कार्यक्रमले जारी गरेको प्रतिवेदनमा समेत अफगानिस्तानको बैंकिङ प्रणाली गहिरो संकटमा परेको उल्लेख गरिएको छ ।
तालिबानले अफगानिस्तानको नियन्त्रणमा लिएपछि, सहायता र विकास कार्यकर्ताहरूमा धेरै अनिश्चितताहरू छन्। यूएनडिपिले धेरै मानवीय कार्यक्रमहरूको निरन्तरताका लागि कार्यात्मक बैंकिङ प्रणाली अत्यावश्यक छ भनी जोड दिइएको छ । ‘बैंकिङ क्षेत्र बिना, अफगानिस्तानको लागि कुनै मानवीय समाधान छैन,’ यूएनडिपिले प्रतिवेदनमा भनेको छ ।
अगस्टमा अफगानिस्तान तालिबानले कब्जा गरेपछि, देश ठूलो मात्रामा विश्वव्यापी वित्तीय प्रणालीबाट काटिएको छ । विदेशमा रहेका सम्पत्तिहरू रोक्का गरिएको छ । अन्तर्राष्ट्रिय प्रतिबन्धहरूले गम्भीर नगद संकटमा योगदान पुर्याएको छ । बैंकको निक्षेप गत वर्षको २.९ बिलियन डलरबाट सेप्टेम्बरमा २ अर्ब डलरमा झरेको छ । थप बिग्रने अनुमान गरिएको छ ।



