पुँजी वृद्धि गर्न नसकेका कमजोर पाँच बैंकहरु

investingरुपा कोइराला । हाल नेपालमा २८ वटा वाणिज्य बैंकहरु सञ्चालनमा छन् । नेपाल राष्ट्र बैंकले पुँजीवृद्धिको योजना ल्याएपछि बैंक अफ काठमाण्डू र लुम्बिनी बैंक गाभिएर बैंक अफ काठमाण्डू लुम्बिनी बनेपछि बैंकको संख्या २८ मा झरेको हो । राष्ट्र बैंकको निर्देशनअनुसार यी वाणिज्य बैंकहरु आगामी असार मसान्तसम्ममा चुक्तापुँजी आठ अर्ब पुर्याउनुपर्ने हुन्छ  । सरकारी स्वामित्वमा रहेका राष्ट्रिय वाणिज्य बैंक र कृषि विकास बैंकको पुँजी आठ अर्ब पुगिसकेको छ । नेपाल बैंक र नेपाल इन्भेष्टमेन्ट बैंक र ग्लोबल आईएमई बैंकको चुक्तापुँजी हाल ६ अर्बभन्दा माथि छ । त्यस्तै, नेपाल बंगलादेश बैंक र प्रभु बैंकको पुँजी पाँच अर्बमाथि छ भने सिटिजन्स बैंक, नविल बैंक, सानिमा बैंक, एनआईसी एसिया बैंक, बैंक अफ काठमाण्डू लुम्बिनी, हिमालयन बैंक र एनएमबी बैंकको चुक्तापुँजी चार अर्ब माथि छ । थोरै कसरत गरेमा यी बैंकहरुलाई आठ अर्ब पुँजी पुर्याउन गाह्रो देखिँदैन । 

नेपाल राष्ट्र बैंकका अनुसार, स्टान्डर्ड चार्टर्ड बैंकबाहेक सबै बैंकहरुले पुँजी वृद्धिको योजना पेश गरिसकेका छन् । यद्यपि, उक्त योजनाअनुसार बैंकहरुले काम गरिरहेका छैनन् । राष्ट्र बैंकले निर्धारण गरेको समयावधि सकिन नौ महिना मात्र बाँकी छँदा समेत १४ वटा बैंकको चुक्तापुँजी चार अर्बभन्दा कम छ । यीमध्ये, सात वटा बैंकको पुूँजी तीन अर्बभन्दा पनि कम रहेको छ । 

समग्रमा हेरौँ सबैभन्दा कम पुँजी भएका वाणिज्य बैंकहरु :

एनसीसी बैंक : हाल एनसीसी बैंकको चुक्तापुँजी २ अर्ब ३५ करोड ३१ लाख ७६ हजार रुपैंया रहेको छ, जुन वाणिज्य बैंकहरुमध्ये सबैभन्दा कम पुँजी हो । इन्फ्राष्ट्रक्चर डेभलपमेन्ट बैंक, इन्टरनेशनल डेभलपमेन्ट बैंक, एपेक्स डेभलपमेन्ट बैंक र सुप्रिम डेभलपमेन्ट बैंकसँग मर्जरमा जाने प्रक्रियामा रहेको बैंकले गत आर्थिक वर्षमा ७० करोड ३० लाख ८८ हजार रुपैंया खुद नाफा कमाएको छ । यो नाफाबाट बैंकले वोनस सेयर दिन बाँकी छ । यही मर्जर र बोनस सेयरबाटै आठ अर्ब पुँजी पुर्याउने योजना बैंकको छ ।

कुमारी बैंक : सबैभन्दा कम पुँजी भएका बैंकहरुको दोस्रो नम्बरमा छ कुमारी बैंक । हाल यो बैंकको चुक्तापुँजी २ अर्ब ६९ करोड रुपैयाँ छ । एनसीसीसँग मर्जरमा जान लागेको बैंकले अन्तिम चरणमा आएर बाहिरिने निर्णय गर्यो । गत आर्थिक वर्षमा कुमारी बैंकले ७४ करोड रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । यसबाट बैंकले बोनस सेयर वितरण गर्न बाँकी छ । सेयर निष्काशनबाट मात्रै आठ अर्ब पुर्याउन सक्ने अवस्थामा यो बैंक देखिँदैन । तत्कालका लागि कुनै संस्थासँग बैंकले मर्जरमा जाने निर्णय पनि गरेको छैन । 

एभरेष्ट बैंक : हाल एभरेष्ट बैंकको चुक्तापुँजी २ अर्ब ७४ करोड २६ रुपैयाँ छ । अबको नौ महिनामा यो बैंकले पाँच अर्ब २६ करोड रुपैयाँ पुँजी थप गर्नुपर्ने छ । यसका लागि मर्जरमा नगई सम्भव देखिँदैन । तत्कालका लागि बैंकले कुनै संस्थासँग मर्जरमा जाने निर्णय पनि गरेको छैन । गत आर्थिक वर्षमा बैंकले १ अर्ब ७३ करोड २ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । यसबाट बैंकले आकर्षक बोनस सेयर दिन सक्छ । यद्यपि, आठ अर्ब पुँजी पुर्याउन सेयर निष्काशन मात्रै काफी नहुने देखिन्छ ।

स्टान्डर्ड चार्टर्ड बैंक : स्टान्डर्ड चार्ट बैंकको चुक्तापुँजी २ अर्ब ८१ करोड रुपैयाँ रहेको छ । गत आर्थिक वर्षमा बैंकले एक अर्ब २६ करोड रुपैयाँ नाफा कमाएको छ । यसबाट बैंकले आफ्ना सेयरधनीलाई आकर्षक बोनस सेयर दिन सक्छ । तर, यो बैंकले आजसम्म नेपाल राष्ट्र बैंकले आफ्नो पुँजी वृद्धिको योजना पेश गरेको छैन । न त, पुँजी बढाउनका लागि कुनै कदम नै चालेको देखिन्छ । यस हिसाबले, असार मसान्तसम्ममा आठ पुँजी पुर्याउन यो बैंकलाई पनि ठूलै कसरत गर्नुपर्ने देखिन्छ । 

जनता बैंक : हाल २ अर्ब ६ करोड रुपैयाँ चुक्ता पूँजी भएको जनता बैंक नेपालले ५० प्रतिशत हकप्रद शेयर निष्काशन जारी गर्ने निर्णय छैठौं बार्षिक साधारणसभाबाट पारित गरिसकेको छ । बैंकको अहिले २ अर्ब ६ करोड रुपैयाँ चुक्ता पुँजी छ । हकप्रद सेयर जारी गरेपछि पुँजी १ अर्ब ३ करोड रुपैयाँ बढेर ३ अर्ब ९ करोड पुग्नेछ । माछापूछ्रे बैंकसँगको मर्जर प्रक्रिया तोडेको यो बैंकले अन्य कुनै संस्थासँग मर्जरमा जाने निर्णय गरेको छैन । गत आर्थिक वर्षमा ३३ करोड ५३ लाख रुपैयाँ मात्रै नाफा कमाएको छ । यसबाट बोनस सेयर दिएर पुँजी बढाउने सम्भावना पनि छैन । यस हिसाबले हेर्दा, आठ अर्ब पुँजी अबको नौ महिनाभित्रमा पुर्याउन यो बैंकलाई पनि ठूलै करसत आवश्यक पर्ने देखिन्छ । 

यसबाहेक,  हाल २ अर्ब ८७ करोड रुपैयाँ पुँजी भएको मेगा बैंकले ८१ करोड एक लाख चार हजार तीन सय ८० रुपैयाँ बराबरको हकप्रद निष्काशन गर्यो । उक्त हकप्रद वितरण गरेपछि बैंकको पुँजी ३ अर्ब ७० करोड रुपैयाँको हाराहारीमा पुग्नेछ । त्यस्तै, हाल २ अर्ब ८४ करोड रुपैयाँ चुक्तापुँजी रहेको सेञ्चुरी कमर्सियल बैंकले ८५ करोड २२ लाख ४० हजार रुपैयाँ बराबरको हकप्रद शेयर निष्काशन गरेको छ । उक्त हकप्रद वितरण गरेपछि बैंकको चुक्तापूँजी ३ अर्ब ७० करोड रुपैयाँ पुग्नेछ । 

त्यसैगरी, सनराइज बैंकको पुँजी ३ अर्ब ९७ करोड रुपैयाँ छ । नेपाल एसबीआई बैंकको चुक्तापुँजी हाल ३ अर्ब ८८ करोड ३७ लाख रुपैयाँ रहेको छ भने माछापूछ्रे बैंकको पुँजी ३ अर्ब ८६ करोड रुपैयाँ रहेको छ । प्राइम कमर्सिल बैंकको चुक्तापुँजी ३ अर्ब ७० करोड ५२ लाख रुपैयाँ रहेको छ भने सिभिल बैंकको पुँजी ३ अर्ब ८ करोड रुपैयाँ छ । सिद्धार्थ बैंकको चुक्ता पूँजी ३ अर्ब २ करोड रुपैयाँ रहेको छ । लक्ष्मी बैंकको पुँजी पनि ३ अर्ब रहेको छ । यी बैंकहरुलाई मर्जरमा नगईकन आठ अर्ब पुँजी पुर्याउन निकै ठूलो कसरत आवश्यक पर्ने देखिन्छ ।