अर्थमन्त्री कृष्णबहादुर महराले नेपाल राष्ट्र बैंक दोश्रो संशोधन विधेयक २०७३ सहित व्यवस्थापिका संसदमा बिहिबार विभिन्न आर्थिक विधेयक पेश गरेका छन् । बिहिबार बसेको संसद बैठकमा महराले संसदको अर्थ समितिको प्रतिवदेन सहितको कर्मचारी संचय कोष नवौं संशोधन विधेयक २०७३, अर्थ समितिकै प्रतिवदेनसहितको लेखापरीक्षण पहिलो संशोधन विधेयक २०७३, नेपाल राष्ट्र बैंक दोस्रो संशोधन विधेयक २०७३ र निक्षेप तथा कर्जा सुरक्षण कोष विधेयक पेश गरेका हुन् ।
ती विधेयकमाथी विहिबारबाटै छलफल सुरु भएकाले आवश्यक पारितको प्रक्रियामा जाने अर्थ समितिका सदस्य जगदीश्वर नरसिंह केसीले बताए । अर्थमन्त्री महराले बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन (बाफिया) चालु अधिवेशनबाटै पारित गराउने बताए पनि सो विधेयक भने पेश गरेनन् । उनका स्वकीय सचिव हिमाल शर्माका अनुसार बाफिया विधेयक छलफलकै क्रममा रहेकाले अर्थ समितिबाट अन्तिम खाका आएपछि अर्थमन्त्रीले आवश्यक अध्ययन गरेर पेश गर्ने तयारी गरेका छन् । अर्थ समिति सदस्य केसीले अर्थ समितिले पनि छिट्टै अर्थमन्त्रीसहित छलफल गर्ने गरी तयारी गरिरहेको छ ।