February 18th, 2016

ऐतिहासिक उचाईमा नेप्से, ६५ करोडमाथिको कारोबार 

economyसाताको सुरुवातमा निराशाजनक रहेको नेप्से बुधबारदेखि पुनः बढ्ने क्रममा रहेको छ । साताको अन्तिम दिन शेयर बजार ऐतिहासिक उचाईमा पुगेर बन्द भएको www.businesssansar.com मा खबर छ । नेप्से सूचक बुधबारको तुलनामा ७.२० अंकले बढेर १२७३.२८ अंकको नयाँ उचाईमा पुगेर बन्द भएको हो । बुधबारको तुलनामा कारोबार रकममा पनि उल्लेख्य वृद्धि भएको छ । बुधबार ४५ करोडमाथिको कारोबार भएको बजारमा विहिबार ६५ करोड ७३ लाख ६२ हजार ६ सय ९८ रुपैँया बराबरको शेयर कारोबार भएको नेप्सेले जनाएको छ । नेप्सेका अनुसार, दिनभरिमा १ सय १८ वटा कम्पनिका ३ हजार ३२ कित्ता शेयर ३३ लाख ४५ हजार ३ सय ५८ पटक किनबेच भएको छ । 

सनराइज विकास बैँकले सबैभन्दा धेरै ६ करोड ७१ लाखभन्दा माथिको शेयर कारोबार गरेको छ भने नेपाल बंगलादेश र नेपाल बैँकको क्रमशः ५ करोड र ४ करोडमाथिको शेयर कारोबार भएको छ । नेपाल इन्भेष्टमेन्ट बैँकको संस्थापक र साधारण शेयर गरेर ६ करोड माथिको कारोबार भएको छ । प्राइम कमर्सियल बैँकको २ करोड माथिको कारोबार भएको छ । त्यस्तै, सिद्धार्थ इक्विटी ओरिएन्टेड स्किम, एनएमबी बैँक, हिमालयन बैँक र नेशनल लाइफ इन्स्योरेन्सको १ करोड माथिको शेयर कारोबार भएको छ । भक्तपूर फाइनान्सका लगानीकर्ताले सबैभन्दा धेरै कमाएका छन् । यो कम्पनिको शेयर मूल्य ९.५५ प्रतिशतले बढेको छ । 

विहिबार, वीमा र अन्य समूह बाहेक कारोबार भएका सबै समूहको शेयर सूचक उकालो लागेको छ । १२ करोड ४४ लाखभन्दा बढीको कारोबार भएको वीमा र ९० लाखको कारोबार भएको अन्य समूहको शेयर क्रमशः ५.२३ र ५.८७ अंकले घटेका छन् । सबैभन्दा शेयर २६.७५ अंकले बढेको होटल समूहको २४ लाखमाथिको कारोबार भएको छ भने सबैभन्दा धेरै ३६ करोड माथिको कारोबार गरेको वाणिज्य बैँक समूहको शेयर १२.५२ अंकले बढेको छ । १४.२२ अंकले बढेको जलविद्युत् समूहको ३ करोडमाथिको शेयर कारोबार भएको छ । सामान्य ०.६४ र ०.०७ अंकले बढेका फाइनान्स र विकास बैँक समूहको क्रमशः १ करोड र ५ करोडमाथिको शेयर कारोबार भएको छ ।