August 23rd, 2021

डिजिटल बैंकिङ प्रयोगमा उत्साहजनक बृद्धि

बैंकिङ खबर । नागरिकहरुमा डिजिटल प्रयोगमा आकर्षण बढ्दै गएको नेपाल राष्ट्र बैंकले जनाएको छ । केन्द्रीय बैंकले नेपालमा वित्तीय पहुँचसम्बन्धी अध्ययन प्रतिवेदन सार्वजनिक गर्दै डिजिटल प्रयोगमा आकर्षण बढ्दै गएको बताएको हो । प्रविधिको प्रयोगअन्तर्गत प्रतिखाता एटीएम प्रयोगकर्ता २०.३५ प्रतिशत, मोबाइल बैंकिङ प्रयोगकर्ता ३२.०३ प्रतिशत र इन्टरनेट बैंकिङ प्रयोगकर्ता ३.८६ प्रतिशत रहेका छन् । प्रतिखाता एटीएम, मोबाइल बैंकिङ र इन्टरनेट बैंकिङ प्रयोगकर्ता बाग्मती प्रदेशमा सबैभन्दा बढी क्रमशः २६.११, ३३.१२ र ६.४० प्रतिशत रहेको छ । प्रतिखाता एटीएम प्रयोगकर्ता गण्डकी प्रदेशमा सबैभन्दा कम १४.५० प्रतिशत, प्रतिखाता मोबाइल बैंकिब प्रयोगकर्ता प्रदेश नं। २ मा सबैभन्दा कम २७.०१ प्रतिशत र प्रतिखाता इन्टरनेट बैंकिङ प्रयोगकर्ता कर्णाली प्रदेशमा सबैभन्दा कम ०।५२ प्रतिशत रहेको पाइएको छ । यस्तै, महानगरमा प्रतिखाता एटीएम प्रयोगकर्ता २७।२८ प्रतिशत र इन्टरनेट बैंकिङ प्रयोगकर्ता ६.४८ प्रतिशत रहेका छन् । गाउँपालिकामा प्रतिखाता एटीएम प्रयोगकर्ता १०.६१ प्रतिशत र इन्टरनेट बैंकिङ प्रयोगकर्ता १.०८ प्रतिशत रहेका छन् । प्रतिखाता मोबाइल बैंकिङ प्रयोगकर्ता गाउँपालिकामा सबैभन्दा बढी ३३.३६ प्रतिशत रहेको देखिएको छ । उमेरगत हिसाबले २० वर्ष उमेरका व्यक्तिमा प्रविधिको प्रयोग उच्च रहेको र सो उमेरभन्दा माथि प्रविधिको प्रयोग क्रमशः घट्दै गएको देखिएको उल्लेख छ । युवा पुस्तामा प्रविधिको प्रयोग उच्च रहेको हुँदा आगामी दिनमा प्रविधिको माग दिनानुदिन बढ्दै जाने बैंकको भनाई छ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]