ल्यापटप मेशिनरी उपकरण हो । अन्य उपकरणमा झैं यसमा पनि स्वाभाविक रूपमा खराबी आउँछ । तथापि, यसको हेरचाहका केही उपाय अपनाए यसरी आउने खराबी केही कम गर्न सकिन्छ । ल्यापटपको राम्रो हेरचाहले यसको आयुसमेत लम्ब्याउन सकिन्छ । त्यसैले, ल्यापटपको हरचाहका लागि यहाँ केही सहज उपाय प्रस्तुत गरिएका छन् । यी उपाय अपनाउँदा ल्यापटपको कार्य क्षमता तथा गतिमा समेत सुधार आउँछ ।
तरल पदार्थबाट जोगाउने
ल्यापटप चलाउँदै चिया, कफीलगायत पेयपदार्थमा रमाउने अधिकांशको बानी हुन्छ । तर, यस्ता तरल पदार्थ ल्यापटपमा पोखिएमा भने उपकरणमा नराम्रो असर पर्छ । त्यसैले, सकेसम्म ल्यापटपको नजिक बसेर चिया, कफी आदि नपिउनुहोस् । यदि यस्ता पेयपदार्थ पिउँदै चलाउनुपरेमा कभरसहितका कप वा ग्लासको प्रयोग गर्नु राम्रो हुन्छ । तरलपदार्थ पोखिएमा ल्यापटपमा रहेका माइक्रोइलेक्ट्रानिक कम्पोनेण्ट (सूक्ष्म विद्युतीय सामग्री)मा खराबी आउन सक्छ । साथै, सर्ट सर्किट हुँदा यसमा सञ्चित गरिएका डाटालगायत हराउने सम्भावनासमेत रहन्छ । त्यसकारण यसप्रति बढी सचेत हुनुपर्छ ।
एण्टिभाइरसको प्रयोग गर्ने
इण्टरनेटबाट विभिन्न सामग्री डाउनलोड गर्दा चनाखो भए तापनि तीसँगै भाइरससमेत भित्रिने खतरा रहन्छ । तर, अधिकांश मानिस आफ्ना ल्यापटपमा एण्टिभाइरसको प्रयोग गर्न चाहँदैनन् । यसो गर्दा सर्किट एरर वा प्रणालीमै सफ्टवेयर समस्या आउने सम्भावना रहन्छ । उपकरणमा भाइरस पसेमा यसले समग्र प्रणालीको कार्य क्षमतामै ह्रास ल्याउन सक्छ ।
खाना तथा पाल्तु जीवबाट टाढा राख्ने
ल्यापटपलाई सकेसम्म खाना तथा घरपालुवा जनावरबाट टाढै राख्नु राम्रो हुन्छ । ल्यापटपनजिक खाना खाँदा खानाका टुक्रा यसमा पसेर समयान्तरालमा उपकरणमै खराबी आउन सक्छ । साथै, घरपालुवा जनावरका भुत्ला मात्रै पसे पनि उपकरणमा असर पर्न सक्छ । जनावर ठूला भएमा उपकरणमा ठेस लाग्ने, तारसँग अल्झिनेलगायत सम्भावना हुन्छ । यसले उपकरण राखिएको स्थानबाट खस्नेलगायत खतरासमेत रहन्छ । यस्तो भएमा उपकरणमा क्षति पुग्न सक्छ । ल्यापटपको प्रयोग गरिने कोठा सकेसम्म सफा तथा धूलोरहित बनाउने प्रयास गर्नुपर्छ ।
हातको सफाई गर्ने
ल्यापटपको प्रयोग गर्नुपूर्व आफ्ना हात सफा गर्नु राम्रो हुन्छ । यसले टचप्याड चलाउन सहज हुनुका साथै उपकरणमा धूलो तथा दाग बस्न पाउँदैन । यसो गर्दा पसिना तथा हातमा अड्केका सूक्ष्म फोहोरले ल्यापटप कोरिने तथा बाहिरी बनोटमा खराबी हुने सम्भावनासमेत कम हुन्छ ।
डिस्प्लेको सुरक्षा गर्ने
ल्यापटप बन्द गर्दा स्क्रिन र किप्याडका बीचमा केही पनि नरहेको कुरा निश्चित गर्नु आवश्यक छ । उपकरण बन्द गर्दा कलम, एयरफोनलगायत सामग्री किबोर्डमा रहेमा यसले उपकरणको स्क्रिन कोर्ने सम्भावना रहन्छ । साथै, स्क्रिन बन्द गर्दा अत्यधिक बलको प्रयोग पनि गर्नुहुँदैन । यसो गरेमा समयान्तरालमा उपकरण बाङ्गिनेलगायत सम्भावना हुन्छ ।
उठाउँदा सावधानी अपनाउने
ल्यापटपलाई कहिल्यै पनि स्क्रिनमा समाएर उठाउनु हुँदैन । यसका लागि सधैं ‘बेस’को प्रयोग गर्नुपर्छ । साथै, स्क्रिनमा चाप पर्दा डिस्प्ले सहजै बिग्रने सम्भावना पनि रहन्छ । त्यसैले, यसमा चाप नपरोस् भन्नाका लागि विशेष सकर्तता अपनाउनुपर्छ ।
पावर कर्ड नथुत्ने
ल्यापटमा रहेको पावरकर्ड निकाल्दा सधैं प्लगमा समाएर निकाल्ने बानी बसाल्नु राम्रो हुन्छ । सीधै तार समाएर प्लग निकाल्दा यसले पावर कर्ड चुँडिन वा अन्य समस्या निम्तिन सक्छ । पावर कर्डमा कुल्चने, अल्झने, मेचको मुनि डुब्नेलगायत सम्भावनाबारे पनि विशेष सजग हुनु आवश्यक छ ।
तार जडान गर्दा ध्यान दिने
ल्यापटपमा हरेक तारका लागि विशेष स्लटको व्यवस्था गरिएको हुन्छ । कुनै पनि तार जडान गर्नुपूर्व कुन तारका लागि कुन स्लट दिइएको हो, यसबारे विशेष ध्यान दिनु आवश्यक छ । साथै, तार जडान गर्दा जबर्जस्ती बल प्रयोग कहिल्यै पनि गर्नु हुँदैन ।
तापक्रम परिवर्तनमा सजगता अपनाउने
विशेषगरी जाडो महीनामा ब्यागमा बोकिएका ल्यापटप कोठामा प्रवेश गरेलगत्तै अन गर्नु हुँदैन । कोठामा प्रवेशपश्चात् केही समय तापक्रम समायोजनका लागि उपकरणलाई समय दिनुपर्छ । साथै, प्रत्यक्ष ताप वा सूर्यका प्रकाशबाट समेत ल्यापटप जोगाउन विशेष सजगता अपनाउनुपर्छ ।
आन्तरिक सफाइमा ध्यान दिने
करीब १ वर्षको समयान्तरालमा ल्यापटपलाई खोलेरै सफाइ गर्नु राम्रो हुन्छ । आफैमा ल्यापटप खोल्ने क्षमता नभएमा यसका लागि तालीमप्राप्त प्राविधिकको सहयोग लिनु आवश्यक हुन्छ । लामो समयसम्म धूलो जम्मा हुँदा उपकरणको चिस्यान प्रणालीलगायतमा खराबी आउन सक्छ । यसले ल्यापटपको मदरबोर्डलाई प्रत्यक्ष असर पार्ने सम्भावना रहन्छ । त्यसैले, यसतर्फ पनि ध्यान दिनुपर्छ ।
ल्यापटममाथि भारी सामान नराख्ने
ल्यापटपमाथि किताब, ब्यागलगायत भारी वजनका सामग्री कहिल्यै राख्नु हुँदैन । भारी सामग्रीले एलसीडी स्क्रिन र किबोर्डबीचमा चाप उत्पन्न गराई उपकरणमै खराबी ल्याउन सक्छ ।
उपयुक्त आकार व्याग प्रयोग गर्ने
ल्यापटप बोक्नका लागि प्रयोग गरिने ब्याग उपयुक्त आकारको हुनु आवश्यक छ । ल्यापटपभन्दा ठूलो वा सानो आकारको भएमा यसले उपकरण कोर्ने, फुट्नेलगायन समस्या ल्याउन सक्छ । तर, उपयुक्त साइजको ब्यागले भने ल्यापटप खसिहालेमा पनि ठूलो क्षति हुनबाट जोगाउँछ ।
समतल सतहमा राख्ने
ल्यापटपको प्रयोग गर्दा सकेसम्म समतल सतहको प्रयोग गर्नुपर्छ । उक्त सतह सफा हुनु पनि उत्तिकै आवश्यक छ । खाटमा बसेरै ल्यापटप चलाउने बानी राम्रो होइन । यसरी चलाउँदा खाटमा रहेका फोहोर लगायत उपकरणको फ्यानले तान्ने हुँदा समयान्तरालमा यसले फ्यानको चिस्यान प्रणालीमै खराबी आउन सक्छ ।
अनावश्यक सामग्री स्टोर हुन नदिने
ल्यापटपमा समयान्तरालमा प्रयोगविहीन तथा अनावश्यक सफ्टवेयर पनि स्टोर हुँदै जान्छन् । यसले ल्यापटपको स्टोरेजमा कमी ल्याउनुका साथै समग्र उपकरणमा नै खराबी ल्याउने सम्भावना रहन्छ । उपकरणमा रहेका हटाउन मिल्ने सामग्रीबारे थप सहज हुनु आवश्यक छ । निकालिएका सीडी ड्राइभलगायत सामग्री काम सकिएलगत्तै यथास्थानमा जडान गर्ने वा तिनका लागि कुनै विशेष केशको व्यवस्था गर्नु राम्रो हुन्छ ।



