July 16th, 2021

एमडीएमएस लागू, अवैध मोबाइल नचल्ने


बैंकिङ खबर/नेपाल दूरसञ्चार प्राधिकरणले शुक्रबारदेखि नेपालमा मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) लागू गरेको छ ।
एमडीएमएस प्रणाली लागू भएसँगै नेपालमा भित्रिएका अवैध मोबाइल बन्द र वैध मोबाइल मात्रै सञ्चालन हुनेछ ।
६ महिनाभित्र काम सक्ने गरी प्राधिकरणले २०७६ असारमा ७६ करोड लागतमा ठेक्का दिएपनि लकडाउनका कारण भन्दै ढिला गरी यो प्रणाली सञ्चालनमा आएको हो ।

के हो एमडीएमएस ?

मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) मोबाइल डिभाइसको तथ्यांकका लागि प्रयोग गरिने प्रणालीका रुपमा यसलाई लिन सकिन्छ ।

यसमा राखिएको मोबाइल तथ्यांक प्रणालीले कुन मोबाइल वैध र कुन अवैध भन्ने छुट्याउँछ । हरेक मोबाइल डिभाइसमा हुने इन्टरनेसनल मोबाइल इक्विपमेन्ट आइडेन्टिटी (आईएमईआई) नम्बरका आधारमा मोबाइल वैध–अवैध भन्ने छुट्याइन्छ । यस्तो नम्बर सामान्यतः १५ अंकको हुन्छ । मोबाइल किन्दा सिम राख्ने स्लट वा ब्याट्रीमा यस्ता नम्बर लेखिएको हुन्छ ।

यसले कसरी काम गर्छ ?

नेपालमा भन्सार तिरेर भित्रिएका हरेक मोबाइलको आईएमईआई नम्बर प्राधिकरणले एमडीएमएस प्रणालीमा राखिरहेको छ ।
नेपालमा भन्सार महसुल तिरेर भित्रिएका हरेक मोबाइल वैध मोबाइलका रूपमा यो प्रणालीमा सूचीकृत भएका हुन्छन् । यसबाहेक विदेशबाट उपहारमा वा किनेर ल्याइएका मोबाइलको आईएमईआई नम्बर प्रयोगकर्ता आफैंले दर्ता गराउन सक्छन् ।

एमडीएमएसको प्रणाली हरेक सेवा प्रदायकको सर्भरमा पनि एकीकृत गरिएको हुन्छ । यो प्रणाली नेपाल टेलिकम, एनसेल, स्मार्ट टेलिकमको सर्भरमा पनि जोडिएको छ ।
यस्ता सेवा प्रदायकले वितरण गरेको सिम कुनै मोबाइलमा प्रयोग भइरहेको छ र ती मोबाइलको आईएमईआई दर्ता भएको रहेनछ अथवा चोरी भएको वा हराएको भनेर उजुरी परेको छ भने तिनमा सिम चल्दैन ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]