May 6th, 2021

क्युआर कोड प्रयोगमा उत्साहित हुँदै युवापुस्ता

सन्दीप / उत्तम – बैंकिङ खबर/ सामान्य चिया पसलदेखि तरकारी बजारसम्म भुक्तानीका लागि आकर्षक माध्यम बन्दै आएको छ – क्युआर कोड । अझ महामारीको समयमा पैसाको कम कारोबार गर्न क्यासलेस माध्यम अर्थात् क्युआर कोडको प्रयोग दैनिक बढ्दो क्रममा छ । केन्द्रीय बैंकको तथ्यांकअनुसार पछिल्लो समय विद्युतीय माध्यमबाट हुने भुक्तानी लगातार बढ्दो क्रममा छ । साना–साना कारोबार पनि क्युआर कोड स्क्यान गरेर सहजै गर्न सकिने भएकाले यसको आकर्षण बढ्दो छ । तर, यसको प्रयोगमा केही समस्या रहँदै आएको व्यापारीहरू बताउँछन् । यस सन्दर्भमा आफ्नो पसलमा ग्राहकलाई क्युआर कोडमार्फत कारोबार सुविधा उपलब्ध गराउँदै आएका केही व्यापारीहरूसँग बैंकिङ खबरले कुराकानी गरेको छ ।

‘क्युआर कोडले ग्राहकसँगको सम्बन्ध बढेको छ’
दुर्गा खड्की, एचबिबी एन्ड कोल्ड स्टोर, काठमाडौं

मैले एचबिबी एन्ड कोल्ड स्टोर सञ्चालन गर्दै आएको छु । अहिले मासु पसलमा क्युआर कोड राखेको तीन महिनाजति भयो । यसले बारोबारमा धेरै सहज भएको छ । ग्राहकहरू कार्ड बोकेर आउनुहुन्छ । कोहीसँग त खल्तीमा पैसा नै हुँदैन । उहाँहरूले यही कार्डमार्फत तिर्नुहुन्छ । कारोबार सहजै चलिरहेको छ ।

क्युआर कोडमार्फत दैनिक ५ हजारदेखि १० हजारसम्म कारोबार हुँदै आएको छ । हाम्रो पसलबाट जाने सामानको भुक्तानी यही क्युआर कोडबाट हुन्छ । यसले ग्राहक र हामी दुवैलाई राम्रो भइरहेको छ । यसले ग्राहकसँगको सम्बन्ध अझ बढेजस्तो लाग्छ । यो प्रणालीले व्यवसायलाई थप सहज बनाएको छ ।

‘क्युआर कोडले धेरै सहज महसुस गरेको छु’
यज्ञप्रसाद अधिकारी
सञ्चालक, दुग्धजन्य पदार्थ खरिद–बिक्री (डेरी)

पसलमा क्युआर कोड राखेको ६ महिनाजति भयो । क्युआर कोड राख्दा धेरै कुरा सहज भएको छ । सामान किन्नलाई पर्समा पैसा बोकेको छैन भने पनि क्युआर कोडबाट तिर्न सकिन्छ । यसले निकै सहज हुन्छ । गोजीमा पैसा छैन भनेर आत्तिहाल्नुपर्दैन ।

अहिले प्रायः बैंकमा खाता नभएको मान्छे हुँदैन । प्रायः सबैले बैंकमा खाता खोलेर केही पैसा जम्मा गरेकै हुन्छन् । खाताबाट हामीले मोबाइलमा ट्रान्सफर गरेर क्युआर कोडमार्फत तिर्न सजिलो हुन्छ । नाम मिलेन कि, केही गडबड वा मिस्टेक पो भयो कि भन्ने पनि हामीलाई हुन सक्छ । तर, क्युआर कोड भइसकेपछि कोड भिडाएर तिरियो भने मिस्टेक हुँदैन । त्यसैले क्युआर कोड धेरै सहज हुने मैले महसुस गरेको छु ।

अहिले मान्छेहरू यसको प्रयोग गर्ने मनस्थितिमा पुगिसकेका छैनन् । त्यसले गर्दा नतिरिने पो हो कि, पैसा जाने पो हो कि भन्ने खालका मनस्थिति पनि धेरैको छ । मेरो विचारमा ४० प्रतिशतले यसमाथि विश्वास गरेजस्तो लाग्छ । मलाई भने धेरै विश्वास लाग्छ ।

क्युआर कोड नभए पनि हामीले विभिन्न विद्युतीय माध्यमबाट कारोबार गरेको धेरै वर्ष भयो । पसलहरूमा म आफू किन्न जाँदा पनि तपाईंहरूको क्युआर कोड छ कि छैन ? कहाँ राख्नुभएको छ ? भनेर सोध्छु र त्यसैमार्फत तिर्छु । सानो वा ठूलो सामान किन्दा पनि मैले यसरी नै तिरेको छु ।

प्रायः पैसा खातामा जम्मा हुन्छ । खातामा रहेको पैसा निकालेर तिर्नुभन्दा क्युआर कोडमार्फत तिरियो भने सहज हुन्छ । गोजीमा पैसा बोकेर हिँड्नुपर्दैन, पैसा खस्छ वा हराउँछ भन्ने डर पनि हुँदैन ।

‘लेनदेन गर्न धेरै सहज हुँदोरहेछ’
पर्शुराम भण्डारी, एपी मोबाइल हाउट, पुतलीसडक

क्युआर कोड राखेको तीन–चार महिना भयो । कसैले क्यास दिन्छन्, कसैले क्युआरमार्फत तिर्छन् । दैनिक एक–दुईजना, कहिले–कहिले दुई–तीनजनाले यसैबाट तिर्ने गर्नुहुन्छ । क्यासमा कारोबार गर्दा कोरोना सर्ने सम्भावना हुन्छ । तर, यसबाट कारोबार गरियो भने सुरक्षित भइन्छ ।

क्युआर कोडमार्फत लेनदेन गर्न धेरै सहज हुँदोरहेछ । पहिले क्युआर कोड नहुँदा ग्राहकहरूले नै राख्नुपर्छ भनेर सुझाब दिनुहुन्थ्यो । यसले कारोबारलाई निकै सहज बनाएको छ ।

‘युवापुस्ता क्युआर कोड प्रयोगमा उत्साहित छ, तर इन्टरनेटले समस्या भयो’
माधवप्रसाद तिमिल्सिना, इच्छुमती तरकारी बजार, काठमाडौं

मैले इच्छुमती तरकारी बजारमा पसल सञ्चालन गरेको २२ वर्षजति भयो । पसलमा ४ महिनादेखि क्युआर कोड राखेको छु । यो पूर्ण रूपमा प्रयोग त भएको छैन, तर पनि हामीले सामान पठाउने ठाउँमा पनि क्युआर कोडमार्फत पैसा भुक्तानी गर्दा उहाँहरू खुसी हुनुहन्छ ।

अहिलेको युवा वर्ग क्युआर कोड चलाउन उत्साहित हुनुहुन्छ । डिजिटल नेपाल अवधारणअनुसार यसलाई अझै सहज बनाउँदा राम्रो हुन्थ्यो । अहिले दैनिक २/४ जना, कहिले ७,८ जना क्युआर कोड प्रयोग गर्ने हुन्छन् । रेगुलर कस्टुमरहरूले पनि यो प्रयोग गरिरहनुभएको छ । अर्कोतर्फ यो कोरोना महामारीको संक्रमणको अवस्थामा सुरक्षित हुन पनि क्युआर कोडबारे सोधिरहनुहुन्छ ।

बैंकमा हाम्रो खाताहरू पहिलेदेखि नै थियो । अहिले यसैमार्फत हामीले क्युआर कोड राखेका छौँ । अलि सर्वसुलभ र सबैले प्रयोग गर्न जान्ने भए भने राज्यलाई पनि राम्रो, व्यवसायीलाई पनि सजिलो हुन्छ । सेवा लिन आउने कस्टुमरलाई पनि सजिलो हुन्छ । अहिले यहाँ सबैभन्दा बढी समस्या वाइफाईको छ । वाइफाई नहुँदा अफ्टयारो छ । ग्राहकले क्युआर कोडबाट पैसा हालिदिन्छु भन्दा पनि नेट नहुँदा समस्या छ । नेट भयो भने सजिलो हुने भयो । अझै व्यवस्थित गर्न सकियो भने राम्रो हुन्छ ।

पछिल्लो समय युवापुस्ता क्युआर कोडबाट पैसा हालिदिन्छु भन्नेमा उत्साहित भएर आएको अवस्था छ । पहिले–पहिले पैसाबाटै कारोबार गर्दै आएकाहरू भने त्यति क्युआर कोड प्रयोग गर्दैनन् । अहिले पढ्दै गरेका विद्यार्थीहरूले क्युआर कोड रहेछ भन्दै यही प्रयोग गर्दै आएका छन् ।

‘पैसा हाल्नेबित्तिकै म्यासेज नआउँदा समस्या भयो’
सुनीता श्रेष्ठ, इच्छुमती तरकारी बजार, काठमाडौं

१५/२० वर्षदेखि इच्छुमती तरकारी बजारमा तरकारी पसल सञ्चालन गर्दै आएको छु । लामो समयपछि पसलमा क्युआर कोड राखेको छु । माछापुच्छ्रे बैंकको
क्युआर कोड राखेको एक महिनाजति भयो । यसले केही सहज र केही असहज भएको छ । प्रविधिको प्रयोग गर्न नजान्दा केही असहज भएको छ । एकपल्ट ग्राहकले तरकारी किनेर पैसा हालिदिनुभयो तर पैसा आएन ।

हामीले सबै ग्राहकलाई चिनिरहेका हुँदैनौँ । उहाँहरूको नम्बर हुने कुरा पनि भएन । नम्बर भए पो तपाईंको पैसा यति आयो, यति भन्ने ! त्यसैले कहिलेकाहीँ प्रविधिक त्रुटिले पनि हामीले घाटा व्यहोर्नुपर्ने अवस्था छ ।

मेरो पसलमा एकजना ग्राहक आउनुभयो । सुरुमा क्युआर कोड छ भनेर सोध्नुभयो । मैले देखाइदिएँ । मसँग क्यास पैसा छैन, तरकारी लिन्छु, म मोबाइलबाटै पैसा हालिदिन्छु भन्नुभयो । मैले हुन्छ भनेँ । सुरुमा ६५ रूपैयाँको काँक्रो किन्नुभयो । पछि फेरि आधा किलो करेला किन्नुभयो । करेलाको पनि पैसा हालिदिएँ भन्नुभयो । उहाँको मोबाइलमा घुमिरहेको थियो । मलाई आयो होला भन्ने भयो । पछि मेरो मोबाइलमा म्यासेज आउँदा ६५ रूपैयाँ मात्रै आयो, ५० रूपैयाँ आएन ।

सधैँ आउने मान्छे भए पो पछि सम्झाउनूँ, चिनेको हुँदैन । दैनिक जम्मा एक–दुईजना क्युआर छ ? भनेर आउनुहुन्छ । पैसा हाल्नेबित्तिकै मेसेज आउने रहेनछ । एकछिनपछि म्यासेज आउँछ, त्यो मान्छे हिँडिसकेको हुन्छ । त्यसैले असहज भएको छ । क्यास भयो भने आफूले हिसाब गरेर नगद लिन पाइयो, मिस्टेक हुँदैन । क्युआरमा मान्छे गइसकेको हुन्छ, सम्पर्क नम्बर र चिनजान नभएको मान्छेलाई कहाँबाट खोज्ने ?

‘वाइफाई छैन, डाटा खोलेर पैसा हाल्न झन्झट मान्छन्’
रामहरि उप्रेती, इच्छुमती तरकारी बजार, काठमाडौं

मेरो घर काभ्रे हो । इच्छुमती तरकारी बजारमा पसल सञ्चालन गर्दै आएको २५ वर्ष भयो । कोड राखेको डेढ महिनाजति भयो । क्युआर कोडबाट सबैलाई सहज हुन्थ्यो तर यहाँ वाइफाई छैन । मान्छेहरू डाटा खोलेर कसले हाल्ने पैसा भनेर झन्झट मान्छन् ।

वाइफाई भएको भए सबैले यही प्रयोग गर्थे होलान् तर यहाँ वाइफाई छैन । वाइफाई नभएपछि यो प्रणाली चल्दो रहेनछ । डाटा खोली खोली कसले हालोस् ! वाइफाई भएको भए ग्राहकले धेरथोर पैसा यहीँबाट तिर्थे । विस्तारै बानी लाग्थ्यो । कसै–कसैले पैसा ल्याउन बिर्सिएछु भनेर डाटा खोलेर पनि यसैबाट तिर्दै आएका छन् । क्युआर कोडको प्रयोग भए एकदमै सहज हुन्थ्यो ।

यहाँ साढे दुई सय स्टलमध्ये दुई सयवटामा क्युआर कोड राखिएको छ । तर, वाइफाईको सुविधा भने छैन । वाइफाई भए ग्राहकलाई विद्युतीय माध्यमबाट तिर्ने उत्साह बढ्छ र विस्तारै बानी पर्छ । मान्छेहरू पढेका छैनन्, तरकारी किन्न बुढाबुढी आउनुहुन्छ । उहाँहरू यसको प्रयोगमा अभ्यस्त हुनुहुन्न । वाइफाई भयो भने पढेलेखेका मान्छे आए भने यसको प्रयोग गर्छन् । हामीलाई पनि सजिलो हुन्थ्यो ।

अहिले क्युर कोडका प्रयोगकर्ता खासै छैनन् । दैनिक दुई–तीनजना मात्र क्युआर कोड छैन ? भन्नै आउँछन् । हामीले पनि खासै वास्ता गरेका छैनौँ । तैपनि दैनिक ६–७ जनाले यसमार्फत कारोबार गर्छन् । कोही–कोहीले डाटा खोलेर तिर्छन् । पैसा ल्याउन बिर्सिएको अवस्थामा पनि यो धेरै सहज छ तर मान्छेहरूले बुझेका छैनन् ।

कोरोना महामारीको अवस्था छ । यसलाई सदुपयोग गर्न सकेमा हामीलाई धेरै राम्रो हुन्छ । चानचुन पैसा दिनु पनि परेन, पैसाको कारोबार पनि भएन, झन्झट पनि हुँदैन ।

नेपालमा अहिले भर्खरै यो क्युआर कोड प्रयोगमा आउँदै छ । यसको प्रयोग व्यापक हुन समय लाग्छ । विस्तारै प्रयोगमा आउँछ किनकि अहिले सबैसँग राम्रो खालको मोबाइल पनि हुँदैन । धेरै मान्छेले पढेका पनि छैनन् । हामीलाई नै पहिले यसबारे थाहा थिएन । बैंकको मान्छे आएर सबै सिकाउनुभयो ।

‘बैंकमा पैसा हुने खल्तीमा नहुनेलाई सहज’
मालती मगर, इच्छुमती तरकारी बजार, काठमाडौं

इच्छुमती तरकारी बजारमा पसल छ । अहिले पसलमा क्युआर कोड छैन तर राख्ने तरखरमा छु । क्युआर कोड भनेको सबैलाई हुने, नजानेकाले पनि जान्ने, सबैलाई रुचि भएको कुरा हो । पैसा नहुँदा पनि क्युआर कोडबाट भुक्तानी गर्न सकिन्छ । कहिलेकाहीँ पैसा घरमै छुटेको हुन्छ । बैंकमा पैसा हुने तर खल्तीमा नहुनेका लागि यो धेरै राम्रो छ । यो सिस्टमले राम्रो सुविधा दिएको छ, मलाई मन पर्छ ।

मलाई धेरै पढ्न–लेख्न नआए पनि युवा पिढीले आएर प्रयोग गर्दा हामीले पनि सिक्ने मौका पाएका छौँ । मेरो पसलमा पनि क्युआर कोड राख्ने तरखरमा छु । कागजात प्रोसेसमा छ । धेरैजना सोध्न आउनुहुन्छ, कहिलेकाहीँ पैसा छुटेकाहरू पनि सोध्न आउनुहुन्छ । हामीकहाँबाट सामान लगिरहनेले त उधारोमा पनि कारोबार गर्नुहुन्छ । क्युआर कोड आयो भने झन् राम्रो हुन्छ जस्तो लाग्छ ।

 

 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]