२०७३ भाद्र ३ गते

मोबाइल डेटा सेवामा थपिए ८६ लाख ७२ हजार ग्राहक

internetपछिल्लो ५ वर्षमा मोबाइलमा डेटा सेवा लिने संख्या ८६ लाख ७२ हजार ग्राहक थपिएका छन् । २०६९ वैशाखमा कुल जनसंख्याको १० प्रतिशत अर्थात् ४८ लाख ६७ हजारले डेटाको प्रयोग गरेर इन्टरनेट चलाउने गर्दथे । गत आर्थिक वर्ष २०७२/०७३ सम्म आइपुग्दा सो संख्या बढ १ करोड ३५ लाख ३९ हजार पुगेको छ ।
मोबाइलको प्रयोग बढेसँगै यसबाटै इन्टरनेट चलाउनेको संख्या पनि उल्लेख्य रुपका बढेको हो । 

नियामक निकाय प्राधिकरणद्धारा सार्वजनिक गरिएको म्यानेजमेन्ट इन्फर्मेसन सिस्टम (एमआईएस) अनुसार अहिले ५०.१० प्रतिशत सर्वसाधारण विभिन्न माध्यमबाट इन्टरनेट सेवामा जोडिएका छन् । प्राधिकरणका अनुसार गत वैशाखसम्म नेपाल टेलिकममा ७४ लाख २९ हजार, एनसेल ५७ लाख ९० हजार, इन्टरनेट सेवा प्रदायक (आईएसपी) १ लाख ५३ हजार, स्मार्ट टेलिकम १ लाख र यूटीएलका ६३ हजार डेटा सेवाका ग्राहक छन् । ग्राहक संख्याका आधारमा टेलिकमको बजारहिस्सा ५४.८७, एनसेलको ४२.४७, आईएसपी १.१३, यूटीएल ०.४७, स्मार्ट ०.७६  पुगेको छ । पाँच वर्षअघि टेलिकमका १९ लाख ४० हजार, एनसेल २७ लाख ९३ हजार, यूटीएल ७२ हजार, आईएसपी ६१ हजार मात्रै थिए । 

प्राधिकरणले राष्ट्रिय जनगणना २०६८ को कुल जनसंख्यालाई आधार मानी सेवा प्रदायकबाट बिक्री भएका सिमकार्ड तथा टेलिफोन लाइनका आधारमा औसत दूरसञ्चार सेवाको पहुँच निकाल्ने गर्छ । यो तथ्यांकअनुसार विदेशमा रहने र जनगणनापछि थपिएको जनसंख्या समावेश छैन । जनगणना २०६८ अनुसार नेपालको कुल जनसंख्या २ करोड ६४ लाख ९४ हजार ५ सय ४ छ ।