December 18th, 2020

डिजिटल पेमेन्ट कम्पनी बढ्यो तर बैंकमा लाइन लाग्ने प्रथा घटेन

बैंकिङ खबर । विकसित मुलुकहरुमा झन्डै शतप्रतितशत कारोबार नै नगदरहित हुन्छ । सबै कारोबार डिजिटल पेमेन्ट सिस्टमबाट हुन्छ । क्यासलेश कारोबारलाई नेपालमा पनि प्रोत्साहन गर्ने प्रयार गरिएको छ । जसका लागि थुप्रै प्रविधिहरु नेपाल भित्रिएका छन् । डिजिटल पेमेन्टसम्बन्धी काम गर्ने कम्पनीहरुको संख्यामा पनि उल्लेख्य वृद्धि भएको छ ।

कम्पनीको संख्या बढ्दै
नेपालमा ईसेवा, खल्ती, प्रभु पे, आईएमई पे, पे टाइम, फोन पे, सेल पे, जस्ता थुप्रै डिजिटल वालेटहरु संचालनमा रहेका छन् । यी सेवाहरुमार्फत कुनै पनि बैंकमा रहेको खाताबाट सीधै कारोबार गर्न सकिन्छ । यसबाट विजुली, इन्टरनेट, यातायात, फोन, खानेपानी लगायतका बिल भुक्तानी गर्न सकिन्छ । मोबाइलमा डाउनलोड गरेको एउटा एपको माध्यमबाट घरमै बसेर पैसा ट्रान्सफर गर्नेदेखि लिएर सम्पूर्ण कार्य गर्न सकिने सुविधा डिजिटल पेमेन्ट सर्भिस प्रोभाइडरले दिने गर्दछन् ।

प्रयोगकर्ता न्यून
डिजिटल पेमेन्ट सेवा दिने कम्पनीको संख्या बढेपनि प्रयोगकर्ता बढ्न सकेका छैनन् । बैंकमा खाता खोल्नकै लागि पनि सरकारले अभियान नै चलाउनुपरेको अवस्थामा डिजिटल सिस्टमको प्रयोगकर्ता बढाउनु चुनौतिपुर्ण रहेको छ । निकै कम संख्यामा मानिसहरुले मोबाइल वालेट चलाउँछन् । चलाएपनि रिचार्ज गर्ने जस्ता सीमित कारोबारका लागि चलाउँछन् । पढेलेखेकै मानिसहरु पनि प्रविधिको प्रयोगमा झन्झट मान्छन् । डिजिटल माध्यमबाट रिचार्ज गराउनुको सट्टा पसलमा गएर कार्ड किन्न रुचाउँछन् । घरमै बसेर विजुलीको बिल तिर्नुको सट्टा प्राधिकरणमा गएर लाइन बस्न रुचाउँछन् । बैंकहरुले प्रदान गरिरहेको मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ लगायतका सेवा प्रयोगमा समेत दयनीय अवस्था रहेको छ । 

वित्तीय चेतनाको अभाव
नेपालमा वित्तीय चेतना भएका मानिसहरु कम छन् । बैंकमा खाता खोलेर बचत गर्ने, कर्जा लिएर उद्यम गर्ने, लगानी गर्ने लगायतका विषयमा जानकारी नभएका मानिस थुप्रै छन् । यस्ता मानिसहरुलाई डिजिटल पेमेन्ट सिस्टमको बारेमा बुझाउनु सजिलो छैन । वित्तीय साक्षरताको विस्तारसँगै यससम्बन्धी जानकारी पनि बढ्दै जाने अपेक्षा गर्न सकिन्छ । तर, यसका लागि समय लाग्ने देखिन्छ । साक्षरता दर नै जम्मा ६५ प्रतिशत रहेको मुलुकमा वित्तीय साक्षरता दर बढाउनु कम चुनौतीपूर्ण छैन ।

प्रविधिको प्रयोगबारे जानकारीको अभाव
नेपालीहरुमा प्रविधिको प्रयोगबारे जानकारीकै अभाव छ । केही पढेलेखेका युवाबाहेकले प्रविधिको नाममा मोबाइल मात्रै चलाउँछन्, त्यो पनि फोन गर्नका लागि मात्रै । एउटा स्मार्ट फोनबाट केके सुविधाको प्रयोग गर्न सकिन्छ भन्ने कुराको जानकारी नै उनीहरुमा छैन । यस्तो अवस्थामा वित्तीय कारोबारका क्षेत्रमा भित्रिएका प्रविधिहरुबारे चेतना फैलाएर यसको प्रयोग सिकाउनु आवश्यक देखिन्छ ।

यसरी, चेतनाकै कमीका कारण डिजिटल पेमेन्ट सिस्टमका प्रयोगकर्ता बढ्न सकेका छैनन् । एकदमै सीमित व्यक्तिहरुको पहुँचमा मात्रै यो सिस्टम रहेको छ । यसका लागि क्रमशः वित्तीय चेतना, प्रविधि चेतनाका साथमा इन्टरनेट पहुँच, बैंकिङ पहुँच लगायतको विस्तारका कार्यलाई अगाडी बढाउनुपर्दछ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]