August 3rd, 2016

१० अर्बको रिभर्स रिपो जारी गर्दै राष्ट्र बैंक

nrbनेपाल राष्ट्र बैंकले बुधबार १० अर्ब रुपैयाँ बराबरको रिभर्स रिपो जारी गर्ने भएको छ । बैंकिङ प्रणालीमा भएको अधिक तरलता खिच्ने उद्देश्यले केन्द्रीय बैंकले बोलकबोलमार्पत रिपो जारी गर्न लागेको हो । असारको अन्तिममा सरकारी विकासखर्च अत्याधिक बढेकाले बजारमा तरलता बढेको छ । असार अन्तिम सातामात्रै साढे ४७ अर्ब रुपैयाँ सरकारी विकास खर्च भएको छ । राष्ट्र बैंकले जारी गर्ने रिपोको समयावधि ७ दिनको हुनेछ । जसअनुसार साउन २६ गते रिपो परिपक्व हुने राष्ट्र बैैंकले जनाएको छ । रिपोमा बैंक, विकास बैंक र वित्त कम्पनीहरुले लगनी गर्न पाउनेछन् । रिपो किन्नका लागि मास्टर्स रिपर्चेज एग्रिमेन्ट अनिवार्य हुनुपर्नेे राष्ट्र बैंकले जनाएको छ । रिपोमा सहभागी हुन बैंकहरुले अनलाइन बिडिङ गर्नुपर्नेछ । बोलकबोलमा परेको सबैभन्दा कम व्याजदरलाई आधार मानेर व्याजदर निर्धारण गरिने छ ।

गत आर्थिक वर्षभरीमा राष्ट्र बैंकले पटक–पटक गरी साढे ५ खर्ब रुपैयाँ तरलता प्रशोचन गरेको थियो । बुधबार जारी गर्ने रिपो नयाँ आर्थिक वर्ष २०७३/०७४ को तेश्रो रिपो हो । यसअघि केन्द्रीय बैंकले साउन ५ गते दश करोड तथा साउन १२ गते दश अरब रुपैयाँ बराबरको रिपो जारी गरेको थियो ।