नेपाली पुँजी बजारको सबैभन्दा उच्च तहको नियमनकारी निकाय धितोपत्र वोर्डले सेयर बजार व्यवस्थापन, विकास तथा विस्तारका लागि सुधारात्मक कार्ययोजनाहरु तिव्र गतिमा अगाडि बढाइरहेको छ । पुँजी बजारमा उत्पन्न भएका विकृति अन्त्य, नयाँ प्रविधिहरुको उपयोग र जति सक्दो बढि लगानीकर्तासामु बजार पहुंच पुर्याउनका लागि धितोपत्र वोर्डले यस्ता आक्रामक शैलीका कार्ययोजनाहरु ल्याएको वोर्डका अध्यक्ष डा. रेवत बहादुर कार्कीको भनाइ छ । यद्यपी पुँजी बजारको प्रमुख अंग सेयर बजारमा अवैद्य कारोबार हुने क्रम भने बढिरहेको छ ।
जलविद्युत, बैंक र केहि सहकारीहरुका नाममा सेयर जारी गरेको झुट्टा आश्वासनहरु दिँदै बजारबाट अरबौँको रकम उठिरहेको छ । तर यसका विषयमा न सम्बन्धित पक्षलाई जानकारी छ, न त कुनै सरकारी निकायहरुलाई नै पत्तो छ । या त पत्तो पाएर पनि मौन बसिरहेका छन् । अचम्मको कुरा त ठगी प्रकरणमा सहभागीहरुले आफ्नो कम्पनी राष्टिय स्तरका वाणिज्य बैंकहरुको सहायक कम्पनीको रुपमा काम गरिरहेको भन्दै सर्वसाधारणका आँखामा छारो हाल्दै रकम असुल गरिरहेका छन् ।
एनएमबी बैंकको नाम बेचेर कानुनविपरित सेयर निष्काशन
हालै, युनिभर्सल पावर कम्पनी नाम गरेको एक कम्पनीले आफ्नो कम्पनी एनएमबी बैंकको सहायक कम्पनी रहेको बताउँदै देशका विभिन्न प्रमुख स्थानहरुमा भब्य कार्यक्रमको आयोजना गर्दै सर्वसाधारण जनतालाई सेयर निष्काशन भन्दै रकम संकलन गरिरहेको छ । बास्तवमा युनिभर्सल कम्पनी सिइडिबी हाइड्रो फण्डको सहायक कम्पनी हो, भने सिइडिबी हाइड्रो फण्ड उतिबेलाको क्लिन इनर्जी डेभलपमेन्ट बैंकको माताहतमा रहेको संस्था थियो । जब क्लिन इनर्जी डेभलपमेन्ट बैंक एनएमबी बैंकसँग मर्जरमा जाने पक्का भयो, त्यसलगत्तै सिइडिबी हाइड्रो फण्ड र क्लिन इनर्जी डेभलपमेन्ट बैंक विचको सम्बन्ध बैधानिक रुपमा नै तोडिएको थियो ।
यसकारण युनिभर्सल कम्पनी र सिइडिबी हाइड्रोबिच कुनै पनि सम्बन्ध नरहेको राष्टिय स्तरको बाणिज्य बैंक एनएमबी बैंकको नाम बेचिएको छ । तर एनएमबी बैंकको सहायक कम्पनीले सेयर निष्काशन गरेको भन्दै सर्वसाधारणलाई फारम वितरण गरेर रकम संकलन गर्ने र व्यक्तिगत रुपमा रकम बाँडफाँड गर्ने युनिभर्सल नामक कमपनीले आफ्नो वेभसाइटमा क्लिन इनर्जी डेभलपमेन्ट बैंक र एनएमबी बैंकको नाम गर्वका साथ प्रस्तुत गरेका छन् ।
दोलखा जिल्लामा रहेको एघार मेगावाटको खारेखोला जलविद्युत आयोजनामा सेयर लगानी गर्न आह्वान गर्दै देशका प्रमुख सहरहरु नेपालगन्ज, पाल्पा, पोखरा र रुपनदेहिमा वृहत समारोहहरु सञ्चालन गरी सर्वसाधारणमाथि प्रत्यक्ष रुपमा ठगीको काम भइरहेको छ । तर जलविद्युत आयोजनाको सेयर खरिद गरेको भन्दै क्रमशः रकम भुक्तानी गर्ने सामान्य मानिसहरुले यसलाई गहिरो रुपमा बुभ्mन आबश्यक ठानेका छैनन् ।
ठगी कार्यमा संलग्न व्यक्तिहरु सबै सिइडिबीका कर्मचारी रहेको कुरा पनि खुलासा भएको छ । कुनैपनि सरकारी निकाय अथवा नियमनकारी निकायबाट अनुमति नलिइकनै व्यक्तिगत र निजी कम्नीबाट सार्वजनीकरुपमा निष्काशन गरेको सेयर कानुनविपरीत र अवैध हो भनेर पुँजी बजारको उच्च निकाय धितोपत्र वोर्डले पनि अनुसन्धान गरेको छैन ।
सर्वसाधारणबाट अरबौंको रकम उठाएर व्यक्तिगत मोज
झन्डै, डेढ वर्ष अगाडि एउटा इन्भेस्टमेन्ट कम्पनी जसले धितोपत्र वोर्डबाट लाइसेन्स नै लिएको थिएन, र अझै पनि छैन । त्यो कम्पनीको नाम हो साहस उर्जा प्रालि । आफ्नो कम्पनी मेगा बैंकले प्रवद्र्धन गरेको संस्था हो भनेर सर्वसाधारणमाझ चिनाउँदै विभिन्न राष्ट्रिय दैनिक पत्रपत्रिकाहरु मर्फत सेयर निष्काशनको सूचना नै निकालेर सर्वसाधारण जनताबाट अरबौंको रकम संकलन गरेको थियो । जलविद्युत गृह निर्माणको नाममा अरबौंको रकम संकलनमा सहभागी व्यक्तिहरु सोहि कम्पनीका मालिकहरु नै हुन् ।
साहस उर्जा कम्पनीका सञ्चालक समितिहरुले दुधकोशि जलविद्युत आयोजना हाम्रो हो भन्दै गत बर्ष नै एक अर्ब भन्दा बढि रकम संकलन गरिसकेका छन् । संकलित रकमलाई एक साहस सेभिङ एण्ड क्रेडिट कोअपरेटिभ नामक संस्थालाइ संचालनमा ल्याएर कम्पनीको रकमलाई महँगो ब्याजमा ऋण लगाउने गरेका छन् ।
यसविषयमा धितोपत्र वोर्डसमक्ष समेत कुरा पुगेकोमा त्यतिबेला उक्त कम्पनीले वोर्डसँग च्यानल मिलाएर कानुनविपरित निष्काशन गरेको सेयरको प्रक्रियालाई यतिकै चापचुप बनाएका विषयमा पनि धेरै टिक्का टिप्पणी भएका थिए । पछि धितोपत्र वोर्डले पनि यस विषयमा बेवास्ता गरेपछि कम्पनीले निक्कै लामो समय सम्म पनि रकम उठाउने काम गरिरह्यो । यसकारण साहास उर्जा कम्पनीमा लगानी गर्ने लगानीकर्ताहरु ठगिने निश्चित छ ।




