July 18th, 2016

राजनीतिक कार्यकर्ता बोकेको राष्ट्र बैंकलाई कर्मचारी कटौतीको सकस

nrbनेपाल राष्ट्र बैंकमा आवश्यकताभन्दा २ सय २५ जना कर्मचारी बढी रहेको एक अध्ययनले देखाएको छ । राष्ट्र बैंकको उद्देश्य र कार्य पद्धतिबारेमा नेपाल स्टाफ कलेज जाउलाखेलद्वारा गरिएको अध्ययनका आधारमा तयार पारिएको ‘संगठन तथा व्यवस्थापन सर्वेक्षण’ नामक प्रतिवेदनले यस्तो देखाएको हो । राष्ट्र बैंकको पुनर्संरचना तथा संगठनात्मक परिर्वतन र चारवर्षीय रणनीतिक योजना कार्यान्वयनका साथै संघीय नेपालका लागि कर्मचारीको आवश्यकता पहिल्याउने उद्देश्यले अध्ययन गरिएको थियो । ‘विभिन्न तहमा गरी २ सय २५ जना कर्मचारी आवश्यकभन्दा धेरै छन्,’ प्रतिवेदनमा उल्लेख छ ।

प्रतिवेदनका अनुसार हाल राष्ट्र बैंकमा १ हजार ३ सय ८९ जना कर्मचारी कार्यरत छन् । ती कर्मचारीहरू गभर्नरको कार्यालयसहित १७ वटा विभाग र ७ वटा क्षेत्रीय कार्यालयमा विभाजन गरिएको छ । राष्ट्र बैंकको पुनर्संरचना गरी सञ्चालन गर्दा १ हजार १ सय ६४ जना कर्मचारी मात्र आवश्यक रहेको अध्ययनले देखाएको छ । 

कुन पदमा कति आवश्यक र कति अनावश्यक कर्मचारी ?
प्रतिवेदनअनुसार अधिकृत तह (सहायक निर्देशक) मा ३ सय ७६ कर्मचारी भए पुग्नेमा ५ सय ८१ जना कार्यरत छन् । सोही पदको प्राविधिकतर्फ ४ जना कर्मचारी धेरै रहेको अध्ययनले देखाएको छ । त्यस्तै, उपनिर्देशकमा ४८ जना कर्मचारी बढी छन् । सामान्यतर्फ १ सय ३७ कर्मचारी भए पुग्नेमा १ सय ८५ जना कार्यरत भएको प्रतिवेदनमा उल्लेख छ । विशिष्ट श्रेणी (कार्यकारी निर्देशक) मा ३ जना, प्रथम श्रेणी (निर्देशक (सामान्य) मा १५ जना, सहायक प्रथम (प्राविधिक) मा ११ जना, सहायक द्वितीयमा ३८ जना र कार्यालय सहायकमा ५१ जना कर्मचारी आवश्यकताभन्दा धेरै छन् । 

सहायक प्रथम (सामान्य) तहमा १ सय ५७ जना, प्रथम श्रेणी (प्राविधिक) मा २ जना र सहायक द्वितीय (सामान्य) मा १ जना कर्मचारी अपुग भएको अध्ययनले देखाएको छ । सहायक प्रथम तहमा २ सय १० जना कर्मचारी चाहिनेमा ५३ जना मात्र छन् । हाल राष्ट्र बैंकले सहायक निर्देशक र त्यसभन्दा तलका पदमा मात्र कर्मचारी भर्ना गर्दै आएको छ ।

डेपुटी तथा सहायक गभर्नर अपुग
राष्ट्र बैंकको पुनर्संरचनाका लागि ४ वटा सहायक गभर्नरको पद स्थापना गर्न प्रतिवेदनले सुझाएको छ । ‘गभर्नरपछि दुईवटा डेपुटी गभर्नर र हरेक डेपुटीमुनि दुई÷दुईवटा सहायक गभर्नरको व्यवस्था हुन सके राष्ट्र बैंकको काम कारबाहीमा प्रभावकारी हुनेछ । त्यसो नभएमा हालको व्यवस्थामा एक डेपुटी गभर्नर थप गरी तीनजना बनाउन पनि सकिन्छ,’ प्रतिवेदनमा भनिएको छ ।  

किन बढी भए कर्मचारी ?
राष्ट्र बैंक सरकारी बैंक भएकाले यहाँ कर्मचारी राख्ने र हटाउने खेल राजनीतिक हिसाबले हुँदै आएको छ । सरकारैपिच्छे आआफ्ना मान्छेलाई छिराइँदा राष्ट्र बैंकमा कर्मचारीहरुको आकार नै ठूलो हुन गएको छ । जसको सरकार आयो उसैको सिफारिसअनुसार कर्मचारी थप्दै जाँदा यस्तो समस्या देखिएको हो । बारम्बार कर्मचारी थप्दै गएको राष्ट्र बैंकलाई अब कर्मचारी कटौती गर्न हम्मेहम्मे पर्ने देखिएको छ । 

कसरी कटाउने कर्मचारी ?
पछिल्लो समयमा मर्जर र एक्विजिसनका कारण घट्दो क्रममा रहेको वित्तीय संस्थाको संख्यालाई मध्यनजर गर्दै ‘क’ वर्गको वित्तीय संस्थालाई एउटा विभाग र ‘ख’, ‘ग’ तथा ‘घ’ वर्गका वित्तीय संस्थालाई एउटा विभाग मार्फत नियमन तथा सुपरिवेक्षण गर्न सकिने सुझाव प्रतिवेदनले दिएको छ । हाल सबै संस्थाहरूलाई छुट्टाछुट्टै विभागमार्फत नियमन तथा सुपरिवेक्षण हुँदै आएको छ । यसले पनि राष्ट्र बैंकमा कर्मचारीको संख्या बढाइरहेको छ ।