नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरंजीबि नेपालले विकास निर्माणका कार्य तीव्र रूपमा अगाडि बढाउनुपर्ने र भूकम्पपछिको पुनर्निर्माणका लागि ठूलो धनरासी खर्च गर्नुपर्ने बाध्यताका कारण बजेटको आकार बढेकाले आगामी आर्थिक वर्षको मूल्यवृद्धि तोकिएको सीमामा राख्न कठीन हुने बताएका छन् । मूल्यवृद्धि सीमामा राख्न सकिए विपन्न र गरिब नेपालीको हित हुने उनको भनाइ छ । मौद्रिक नीति तर्जुमाका लागि राष्ट्र बैंकको आयोजनामा बिहिबार राजधानीको एक होटलमा आयोजिक अन्तरक्रिया कार्यक्रममा उनले मूल्यवृद्धिकै कारण सर्वसाधारणको दैनिकी कष्टकर भएको बताए । उनले मूल्यवृद्धि नियन्त्रण गर्न सके गरिबी निवारका क्षेत्रमा बढी प्रयत्न आवश्यक नपर्ने विचार पनि राखे । यसअघि सम्बोधनका क्रममा उनले विप्रेषण अप्रवाहको वृद्धिदर घट्दो छ र सरकारको लक्ष्यअनुसार आर्थिक वृद्धिदर हासिल गर्न वित्तीय साधन परिचालन गर्नुपर्ने चुनौति र अवसर थपिएको बताए । हेरोँ उनको भनाई जस्ताको त्यस्तै :
नेपाल राष्ट्र बैंकको मौद्रिक नीतिको मुख्य उद्देश्य माग पक्षबाट सृजना हुने मूल्य वृद्धिलाई नियन्त्रण गर्ने, वित्तीय स्थायित्वलाई सुदृढ तुल्याउने तथा वित्तीय विकास मार्फत् आर्थिक विकासमा टेवा पुर्याउने तथा बाह्य क्षेत्र स्थिति कायम गर्ने रहँदै आएको छ । यी उद्देश्य पूरा गर्ने क्रममा नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०७३/७४ को मौद्रिक नीति तर्जुमा गर्दैछ । मौद्रिकनीति तर्जुमा गर्ने क्रममा सबै सरोकारवालाहरुबाट सुझाव प्राप्त होस् र मौद्रिक नीति तर्जुमा प्रक्रिया बढी सहभागीतामूलक बनोस् भन्ने उद्देश्यका साथ यो अन्तरक्रिया आयोजना गरिएको हो ।
मौद्रिक नीतिको मुख्य उद्देश्य मूल्य स्थायित्व भएतापनि नेपालजस्तो देशमा आर्थिक विकाससंग सम्बन्धित विषयमा समेत वित्तीय क्षेत्रको योगदानलाई प्रभावकारी बनाउन मौद्रिक नीति तर्जुमा गर्नुपर्ने हुन्छ । सन् असीको दशकमा सुरु गरिएको आर्थिक उदारिकरण नीति र सन् २००० देखि लागु गरिएको वित्तीय क्षेत्र सुधार कार्यक्रमले नेपालको वित्तीय क्षेत्रको प्रतिष्पर्धी र सुदृढ बनाउन महत्वपूर्ण सहयोग गरेको छ । अर्थतन्त्रमा मनिटाइजेसन बढेको वित्तीय प्रागाढताका सूचकहरु राम्रा हुँदै गएका तथा वित्तीय पहुँचमा सुधार भएको छ ।
तथापी आज पनि दूर–दराजमा वित्तीय संस्थाहरुको उपस्थिति न्युन नै रहेको छ । विप्रेषण अप्रवाहको वृद्धिदर घट्दो छ र सरकारको लक्ष्यअनुसार आर्थिक वृद्धिदर हासिल गर्न वित्तीय साधन परिचालन गर्नुपर्ने चुनौति र अवसर थपिएको छ । अन्तर्राष्ट्रिय स्थिति अनुकुल हुँदाहुँदै पनि हामी दोहोरो अंकको मुद्रास्फीति भोग्न बाध्य भईरहेका छौँ । यस अवस्थामा उच्च आर्थिक वृद्धि हाँसिल गर्ने, मुद्रास्फीति नियन्त्रण गर्ने र वित्तीय समावेशीता बढाउने र वित्तीय स्थायीत्वलाई थप मजबुद बनाउनेजस्ता उद्देश्यलाई ध्यानमा राख्दै यहाँहरुबाट प्राप्त सुझावलाई औच्यित्य र उपादेयताका आधारमा मौद्रिक नीतिमा समावेश गर्ने विश्वास दिलाउँछु । यहाँहरु सबैको अमूल्य सुझाव र उपस्थितिका लागि हार्दिक धन्यवाद व्यक्त गर्दछु ।
(नेपाल राष्ट्र बैंकको आयोजनामा बिहिबार राजधानीको एक होटलमा आयोजित मौद्रिक नीति तर्जुमाका लागि सुझाव कार्यक्रममा गभर्नर डा. नेपालले राखेको मन्तव्य)




