December 18th, 2019

फागुन २ देखि क्यान इन्फोटेक, मुख्य प्रायोजनमा प्रभु पे


बैंकिङ खबर । कम्प्युटर एशोसिएशन नेपाल (क्यान) महासंघले क्यान इन्फोटेक २०२० आगामी फागुन २ देखि ७ सम्म काठमाडौंको भृकुटीमण्डपमा आयोजना गर्ने भएको छ । नेपालको सूचना र प्रविधिबारे प्रदर्शनी तथा सम्मेलनको यो २६ औं संस्करण हो, जुन ६ दिन सम्म चल्नेछ ।
सन् २०२० मा क्यान इन्फोटेक उपत्यका बाहिर पनि ८ स्थानमा आयोजना गरिंदै छ । प्रदेश नं. १ को इटहरी, प्रदेश नं. २ को विरगञ्ज, प्रदेश नं.३ को चितवन, गण्डकी प्रदेशको पोखरा, प्रदेश ५ को बुटवल र नेपालगञ्ज, कर्णाली प्रदेशको सुर्खेत र सुदुरपश्चिम प्रदेशको धनगढीमा प्रदेश स्तरीय तथा प्रदेश ५ को नेपालगञ्जमा जिल्लास्तरीय प्रदर्शनीको आयोजना गरीनेछ ।

२६ औं क्यान इन्फोटेक तथा प्रदेश र जिल्ला स्तरीय इन्फोटेकको शीर्ष प्रयोजन प्रभु पे, अफिसियल इन्सुरेन्स­ प्रभु इन्सुरेन्स तथा टिकट पार्टनरमा प्रभु पे, इ पे ले प्रायोजन गर्ने भएका छन् । सिल्भर प्रायोजन लर्ड बुद्ध एजुकेसन फाउण्डेसनले गरेको छ, भने यशोसिएट, प्लाटिनम, डायमण्ड, गोल्ड र सिल्भरका साथै अन्य अफिसीयल प्रायोजन पनि खुल्ला गरीएको छ । नेपालमा सूचना तथा सञ्चार प्रविधिबारे चेतना बढाउन, उद्योग तथा उद्यमीहरुको आवश्यक्ता थाहा पाउन र त्यसका लागि चाहिने सहयोग दिलाउन क्यान इन्फोटेक २०२० को आयोजना गरीन लागेको बताइएको छ । यसले व्यवसायी तथा ग्राहकको लागि अन्तरक्रियाको एक प्लाटफर्म सिर्जना गर्ने छ । ग्राहकसँगको छलफलबाट व्यवसायीले आफ्ना वस्तु तथा सेवाको आपूर्तिमा सुधार ल्याउन सक्नेछन् । स्वदेशी तथा विदेशी कम्पनी तथा व्यवसायीहरु बीच नेटवर्क सिर्जना गर्ने लक्ष्य लिएको छ ।

सूचना प्रविधि प्रर्दशनीमा क्यान महासंघका सदस्य संस्थाका साथै विभिन्न राष्ट्रिय र अन्तराष्ट्रिय सूचना तथा सञ्चार प्रविधिसम्बन्धि कम्पनीहरुको सहभागिता रहनेछ । प्रदर्शनीलाई व्यवसायीले व्यापार विस्तारका साथै नयाँ–नयाँ प्रविधिको प्रदर्शनी गर्ने थलोको रुपमा उपयोग गर्न सक्नेछन् भने अवलोकनकर्ताले एकै थलोमा सूचना तथा सञ्चार प्रविधिका नौला प्रविधि र उपकरणको अवलोकन तथा खरिद गर्न पाउनेछन् । क्यान इन्फोटेक २०२० ले सूचना तथा सञ्चार प्रविधि क्षेत्रका कम्पनीहरुलाई आफ्नो बजार विस्तार गर्ने, ग्राहकका आवश्यक्ता थाहा पाउने, बजार सर्वेक्षण गर्ने, नयाँ उत्पादनहरु सार्वजनिक गर्ने र ग्राहकसँग आपसी सम्बन्ध स्थापना गर्ने अभुतपूर्व अवसर दिनेछ । क्यान इन्फोटेक २०२० मा विभिन्न खण्डहरु रहनेछन् जसमा ब्राण्डिङ, आइसिटी एक्ससरिज,गेम पार्लर, प्रडक्ट लञ्चिङ रोबोटिक्स, ई–वेस्ट म्यानेज्मेण्ट, वाइफाइ, इण्टरनेट र लर्निङ सेन्टर, आईटी कलेजका बिधार्थीद्धारा निर्माण गरेका प्रोजेक्ट तथा रोजगार केन्द्र मुख्य हुने जनाइएको छ ।

अपरेटिङ सिष्टम सफ्टवेयर, नेटवर्किङ सोल्युशन, मोबाइल फोन तथा सोल्युशन, सोलार पावर सिष्टम, इभर्टर, यसपीएस, ल्यापटप तथा डेस्कटप कम्प्युटर, प्रिन्टर, पावर सिष्टम, कम्प्युटर एक्सेसरिज जस्ता उत्पादनहरु प्रदर्शनीमा राखिनेछन् । त्यस्तै, आर्टिफिसियल ईन्टेलिजेन्स सम्बन्धि जानकारी, आईटी कलेज, बैंक, बीमा तथा लेखासम्बन्धि सफ्टवेयर, सरकारी क्षेत्रमा प्रयोगमा आएका तथा आउने सफ्टवेयर,सेल्फ लर्निङ सफ्टवेयर तथा ट्युटोरियल आदि समेत प्रदर्शनीमा रहनेछन् ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]