आगामी आइतबार नेपाल राष्ट्र बैंकले १० अर्ब रुपैयाँ बराबरको ‘राष्ट्र बैंक ऋणपत्र’ जारी गर्ने भएको छ । बोलकबोलमार्फत बिक्री गरिने एकबर्षे अवधिको उक्त ऋणपत्रमा दिउँसो तीनबजेसम्म आवेदन दिन सकिने राष्ट्र बैंकले जनाएको छ । उक्त ऋणपत्रका लागि अनलाइनमार्फत आवेदन दिन सकिने र बोलकबोलमा कम ब्याजदरको प्रस्ताव गर्नेले ऋणपत्र खरिद गर्न पाउने व्यवस्था गरिएको राष्ट्र बैंकले जनाएको छ । ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाले खरिद गर्न पाउने सो ऋणपत्रका लागि कम्तीमा १ करोड र बढीमा १ करोडले भाग गर्दा निःशेष भाग जाने गरी १० अर्ब रुपैयाँ सम्मका लागि आवेदन दिनुपर्नेछ ।
ऋणपत्रको ब्याजदर अर्ध वार्षिक रूपमा भुक्तानी गर्ने व्यवस्था गरिएको छ । यसका लागि एउटै वित्तीय संस्थाले समेत फरक–फरक ब्याजदरमा बोलकबल गर्न सक्ने राष्ट्र बैंकद्वारा जारी जारी सुचनामा उल्लेख छ । ऋणपत्र बैंक तथा वित्तीय संस्थाबाट ऋण लिनका लागि धितोका रूपमा प्रयोग गर्न पाइने र लगानी भएको रकम बैधानिक तरलता अनुपात (एसएलआर) मा गणना गर्न पाइने सुविधा प्रदान गरिएको छ ।
तरलता बढी भएपछि केन्द्रीय बैंकले ऋणपत्रमार्फत बजारबाट रकम उठाउन लागेको हो । ०७२ वैशाखमा गएको भूकम्प, त्यसपछिको तराई आन्दोलन र भारतीय नाकाबन्दीका कारण कर्जा उलेख्य बढ्न नसकेपछि बैंक तथा वित्तीय संस्थामा रकम थुप्रिएको छ । अहिले बैंकिङ क्षेत्रमा १ खर्ब रुपैयाँ तरलता रहेको बताइएको छ ।


