June 21st, 2016

घरै नहुनेले मात्र सहुलियत ऋण पाउने, राष्ट्र बैंकले दियो यस्तो निर्देशन

moneyनेपाल राष्ट्र बैंकले व्यक्तिगत आवास निर्माणका लागि सरकारले भुकम्पपीडितलाई दिने सहुलियत ऋण बस्न मिल्ने घर नभएकालाई मात्र दिन बैक तथा वित्तीय संस्थाहरुलाई निर्देशन दिएको छ । राष्ट्र बैंकले सोमबार वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनिसहितको परिपत्र जारी गर्दै यस्तो व्यवस्था गर्न निर्देशन दिएको हो । नेपाल राष्ट्र बैंकले भुकम्पपीडितलाई व्यक्तिगत आवास निर्माणको लागि प्रदान गरिने पुनर्कर्जा कार्यविधि २०७२ को बुँदा नम्बर २ र ८ लाई संशोधन गर्दै नयाँ व्यवस्था लागू गर्न निर्देशन दिएको हो ।

नयाँ व्यवस्थाअनुसार भुकम्पले क्षतिग्रस्त आवाशीय घर गाविसमा भए सोही गाविसभित्रै, नगरपालिकामा भए सम्बन्धित वडाभित्रै आवास निर्माण गर्नका लागि मात्र पुनकर्जा उपलब्ध गराइनेछ । क्षतिग्रस्त स्थान स्थान नै बस्नयोग्य नभएको प्रमाण सरकारको आधिकारिक निकायबाट प्राप्त भएको खण्डमा भने अर्को स्थान वा अर्को जिल्लामा घर बनाउन पनि कार्यविधिअनुसार पुनर्कर्जा दिन सकिने राष्ट्र बैंकले जनाएको छ । 

राष्ट्र बैंकले गत वर्षको वैशाख १२ गतेको भुकम्पमा घरबारविहीन भएका जनताको पुनर्वासका लागि काठमाडौँ उपत्यकाभित्र २५ लाख, र उपत्यकाबाहिर १५ लाख रुपैँयासम्मको कर्जा उपलब्ध गराउने व्यवस्था गरेको थियो । जसअनुसार, पुनकर्जा माग गर्ने सम्बन्धित बैंक तथा फाइनान्स कम्पनिहरुलाई राष्ट्र बैंकले शून्य व्याजदरमा पुनर्कर्जा दिने र त्यसलाई बैंकहरुले २ प्रतिशत व्याजमा कर्जा प्रवाह गर्ने व्यवस्था गरेको थियो ।