August 7th, 2019

प्रभु पे मोबाईल मार्फत घरमा नै बसेर अस्पतालको टिकट काट्न सकिने

बैंकिङ खबर । Prabhu Group ले प्रभु पे मोबाईल मार्फत अस्पतालको ओपिडी टिकट मोबाईलबाटै काट्न मिल्ने व्यवस्था गरेको छ । अस्पतालमा लामो समय लाईन बसी टिकट लिनु पर्ने समस्याको अन्त्य गर्दै काठमाडौंको सिभिल हस्पिटलबाट मेडिफ्लो सोलुसनले प्रभु पे मोबाइल एप मार्फत घरमा नै बसेर टिकट काट्नसक्ने प्रविधिको विकास गरेको हो ।

अहिले यो सेवा मार्फत टिकट काट्नका लागि मोबाइल प्रयोगकर्ताले प्रभु पे नामक एपलाई डाउनलोड गर्नुपर्नेछ । हाललाई यो सेवा एन्ड्रोइडमा उपलब्ध भएको र केही दिनपछि आइओएसमा पनि उपलब्ध हुने प्रभु टेक्नोलोजीका सिइओ खुसल रेग्मीले जानकारी दिए ।

उक्त व्यवस्थासंगै अब बिरामी वा उनका आफन्तले उपचार गराउन घरबाटै ओपिडी टिकट काट्न सक्ने काट्न सक्नेछन् । मेडिफ्लोले अन्य अस्पतालमा पनि यो सेवा विस्तार गर्दै लैजाने मेडिफ्लोका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र न्यौपानेले जानकारी दिए । नेपालका सबै सरकारी अस्पतालमा जाँच गर्न जाँदा बिरामी र बिरामीका आफन्तले लामो लाइन बसेर ओपिडी टिकट लिनुपर्ने बाध्यता छ । लाइनलाई व्यवस्थित गर्न अस्पतालले टोकन प्रणालीको सुरुवात गरेको भए पनि टोकन पाउन पनि बिरामीका आफन्त बिहानैदेखि अस्पतालको लाइनमा नै बस्नुपर्ने बाध्यता छ ।

अब भने सिभिल अस्पतालको ओपिडी टिकट लिन बिरामी तथा बिरामीको आफन्तले घन्टौं लाममा बस्नुपर्ने अवस्थाको अन्त्य हुने भएको छ । न्यौपानेका अनुसार मेडिफ्लोले अहिले यो सेवा आफ्नो एपबाट नभई प्रभु पेसँगको सहकार्यमा सुरु गरेको हो । भविष्यमा आफ्नो लगायत अन्य एपबाट पनि यो सेवा सुरु गर्ने उनले जानकारी दिए ।

अस्पतालले बिरामीको सहजताका लागि प्रविधिको प्रयोग गर्दै एप मार्फत टिकट काट्ने व्यवस्था सुरु गरेको अस्पतालका कार्यकारी निर्देशक प्रा.डा. दीर्घराज आरसीले जानकारी दिए । ‘अस्पतालमा ओपिडीको टिकट लिनका लागि निकै लामो लाइन बस्नुपर्ने बाध्यता छ,’ उनले भने, ‘हामीले विभिन्न प्रविधिको प्रयोग मार्फत यसलाई व्यवस्थित बनाउने काम गरिरहेका छौं’ । मोबाइल एपबाट नै ओपिडीको टिकट काट्न सकिने भएपछि टिकट काट्नका बिरामीले अस्पतालमा समेत पुग्नु नपर्ने भएको हो । उनका अस्पतालमा हाल दैनिक ८०० सय बिरामी ओपिडीमा आउने गरेका छन् ।

मोबाइलबाट टिकट काट्न के गर्ने?
मोबाइल प्रयोगकर्ताले प्रभु पे नामक एपलाई डाउनलोड गर्नुपर्नेछ । प्रभु पे वालेटमा रजिस्टर भएपछि व्यक्तिले आफ्नो विभिन्न बैंकबाट रकम जम्मा गर्न सकिने छ । त्यसपछि आवश्यक तथा सेवा उपल्बध हुने एपमा रहेको हस्पिटल भन्ने बटनमा क्लिक गर्नुपर्ने हुन्छ । सम्बन्धीत अस्पताल क्लिक गरेपछि त्यहाँ नयाँ वा पुरानो ओपिडी भन्ने विकल्प आउने छ ।

त्यसमा पुरानो हो भने पुरानो र नयाँ हो भने नयाँ ओपिडी छान्ने । त्यसपछि आफूले जाँच गर्न चाहेको विभाग र डाक्टर तथा मिति छान्नुपर्ने हुन्छ । उक्त प्रक्रियापछि बिरामीले आफ्नो विवरण भर्नुपर्ने हुन्छ । सबै विवरण भरिसकेपछि टिकटको मूल्य प्रभु पेमा तपाईंको खातामा रहेको रकमबाट काटिने छ ।

अनलाइन टिकट काट्ने समय
हाल सिभिल अस्पतालका लागी मात्र यो प्रविधीको प्रयोग गर्न सकिने भएकाले टिकट लिने समय सोही अस्पताल कै अनुसार निर्धारण गरिएको छ । हाललाई जनरल ओपिडी टिकट काट्नका लागि अघिल्लो दिन बिहान ७ बजेदेखि परीक्षण गर्ने दिन बिहान ७ बजेसम्म राखिएको छ । अस्पतालको पेइङ क्लिनिकतर्फ मोबाइल मार्फत टिकट काट्नका लागि भने हाललाई अघिल्लो दिन बिहान १० बजेदेखि परीक्षण गर्ने दिन बिहान १० बजेसम्मका लागि तोकिएको छ ।

यसका साथै अस्पतालले अस्पताल हातामा एटिम मेसिन जस्तै ‘किओस्क मेसिन’ बाट पनि टिकट लिनसक्ने व्यवस्था समेत गरिएको छ । साथै, अस्पतालले ल्याब रिपोर्टहरु अनलाइनमा हेर्न सकिने व्यवस्था समेत सुरु गरेको जनाईएको छ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]