२०७३ जेष्ठ ३२ गते

हजारको नोटमा अब जुम्ल्याहा हात्ती

nrbसय रुपैँयाको नोट परिवर्तन गरेर सोमबारदेखि बजारमा ल्याएको नेपाल राष्ट्र बैंकले हजारको नोटमा पनि परिवर्तन गर्ने जनाएको छ । राष्ट्र बैंकका अनुसार, हजारको नोटमा अब दुई वटा हात्ती हुनेछन् । हाल चलनचल्तीमा रहेको हजारको नोटमा एउटा मात्रै हात्ती रहेको छ । अब बन्ने नयाँ नोटमा भने नेपालको हात्ती प्रजनन् केन्द्रमा नै जन्मिएका जुम्ल्याहा हात्तीको फोटो राख्ने निर्णय राष्ट्र बैंकको छ । यद्यपि, नयाँ डिजाइनको नोट सार्वजनिक भइसकेको छैन ।

राष्ट्र बैंकमा नोटमा परिवर्तन गर्ने विषयमा नोट डिजाइन कमिटीले निर्णय लिन्छ । कमिटीले नै अहिलेको सय, पाँच सय र हजारको नोटमा परिवर्तनको निर्णय लिएको हो । राष्ट्र बैंकको नोट डिजाइन कमिटीमा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागको समेत सहभागिता रहने गरेको छ ।