November 28th, 2018

‘कमजोर आर्थिक अवस्थाका कारण बीमा पहुँच बढ्न सकेन’

बीमाको सुरुवात भएको लामो समय भइसक्दा पनि नेपालमा बीमाको पहुँच विस्तार हुन सकिरहेको छैन । मानिसहरुमा बीमा शिक्षा कमी भएता पनि नेपाली बीमा बजार पछिल्लो समयमा फस्टाउँदै आएको छ । जसको कारण भनेको अनिवार्य बीमा हो ।  सहरमा भन्दा पनि गाउँमा बीमा शिक्षा अत्यन्त कम छ । त्यसकारण बीमा शिक्षा बढाउनका लागि बीमा समिति र बीमा कम्पनिहरुको भुमिका लगायतका विषयमा आधारित रहेर बैंकिङ खबर डट कमका लागि सहकर्मी कविता धितालले बीमा विज्ञ भोजराज शर्मासँग गरेको कुराकानीको सम्पादित अंश यहाँ प्रस्तुत गरिन्छः

बीमा भनेको के हो ?
बीमा भनेको आर्थिक सुरक्षण गर्ने माध्यम हो । आफुलाई पर्ने आर्थिक जोखिम लगायतका विभिन्न संकटहरुबाट बच्नका लागि नै बीमा गर्नुपर्दछ । जोखिमलाई हामीले रोक्न सक्दैनौँ । तर, भएको जोखिमलाई केही हदसम्म क मगर्न सकिन्छ । सम्भावित जोखिमहरुलाई केही मात्रामा कम गराएर  फेरी पहिलाकै अवस्थामा बस्न सक्ने माध्यम नै बीमा हो । 

बीमा क्षेत्रमा लामो समय बिताइसक्नु भएको छ । यो बीचमा तपाईँको अनुभव कस्तो रह्यो ?
सुरुमा मैले बीमा क्षेत्रमा काम गर्न थाल्दा केही विदेशी कम्पनीहरु मात्र थिए । ती विदेशी बीमा कम्पनीहरुले बीमा व्यवस्थापन राम्रोसँग गरेका थिएनन् । खासगरी उनीहरु एउटा एजेन्सीकै रुपमा थिए । नेपालबाट धेरै पैसाहरु बाहिर जाने गरेको थियो । नेपाल एउटा कलेक्सन सेन्टर जस्तो मात्र थियो । त्यो समयमा एलआईसी अफ ईन्डीया नामक कम्पनीले बीमा क्षेत्रको परिवर्तनमा धेरै योगदान पुर्याएको थियो । त्यो समयमा एलआईसी गर्ने र बीमा गर्ने भन्ने शब्द पर्यावाची जस्तै थियो । २०२४ सालमा स्थापना भई ०२५ सालमा संस्थानमा परिणत भएदेखि बीमा संस्थानले नेपालको वास्तविक बीमाको रुपमा काम गर्दै आएको हो । बीमा संस्थानको राम्रो विकास हुँदै आएपछि अन्य बीमा कम्पनीहरु पनि स्थापना हुँदै आए । 

अहिले बीमाको बजार फराकिलो भइसकेको छ । तर पनि सबै मानिसहरु बीमामा समेटिएका छैनन् । १०।११ प्रतिशत नेपालीहरुको मात्रै बीमामा संलग्नता रहेको छ । पहिलेको तुलनामा भने बीमाको पहुँच बढेको भए तापनि यो पर्याप्त छैन । बीमा समिति र बीमा कम्पनीहरुका कारण नभई मुलुककै कमजोर अवस्थाका कारण बीमाको पहुँच नबढेको हो । बीमा पहुँच वृद्धिका लागि बीमा समिति र बीमा कम्पनीहरु अग्रसर हुँदै आएका छन् । बीमा कम्पनीहरु धेरै खुलेका छन् तर क्षमता अभिवृद्धिको रुपमा अगाडी बढ्न सकेका छैनन् । वित्तीय रुपमा मात्रै अघि बढेका छन् । बीमा क्षेत्रका कर्मचारीहरुमा दक्षताको कमी छ । यसै तथ्यलाई मध्यनजर गर्दै हालै बीमा समिति र बीमा कम्पनीहरुको सहकार्यमा बीमा तालिम इन्स्टिच्युटको सुरुवात गरिएको छ । यस इन्स्टिच्युटमार्फत बीमा क्षेत्रका कर्मचारीहरुको क्षमता बढाउने अपेक्षा गरिएको छ । 

पहिला र अहिलेको बीमा क्षेत्रको अवस्थामा के फरक छ ?
बीमा क्षेत्रमा सन्तोकजनक अवस्था छैन । पछिल्लो समयमा अनिवार्य रुपमा गर्नुपर्ने बीमाका कारण बीमा बजार बढेको छ । मोटर बीमा अनिवार्य भएकाले गर्दा मोटर चलाउने चालकले बीम गरेका छन् । बैंकहरुले ऋण प्रवाह गर्दा लिने धितोको अनिवार्य रुपमा बीमा गरिएको हुनुपर्छ । यस्ता खालका व्यवस्थाले गर्दा बीमा बढेको छ । तर, यसलाई बीमाको पहुँच बढेको भन्न मिल्दैन । 

म बीमा क्षेत्रमा आवद्ध हुने बेलामा कुनै पनि बीमा अनिवार्य थिएन । त्यतिबेला वस्तुहरुको मूल्य पनि कम थियो । त्यसआधारमा बीमाको रेट पनि कम हुन्थ्यो । जीवन बीमा २५।५्र० हजारमा गरिन्थ्यो । अहिले त्यो अवस्था छैन । एउटै गाडीको ३०।४० लाख पर्छ भने एक करोडभन्दा कममा घर पाइँदैन । यस्तो ठूलो सम्पत्तिको नोक्सान हुने डरले पनि मानिसहरु बीम गर्न थालेका छन् । 

बीमा समिति भनेको हो ? यसको मूख्य उद्दे्रश्य के हो ?
जसरी नेपाल राष्ट्र बैंकले सबै बैंक तथा वित्तीय संस्थाहरुलाई नियमन गर्दछ, त्यसैगरी बीमा कम्पनहीरुको नियमन बीमा समितिले गर्छ । सबै बीमा कम्पनीहरुलाई एउटा सही मार्गदर्शन गरी जनताहरुको सुरक्षाका लागि रेखदेख गर्न र बीमा कम्पनीहरुका लागि विभिन्न नीति नियमहरु तर्जुमा गर्नका लागि बीमा समितिको भुमिका गहन छ । बीमा उद्योगलाई स्वस्थ विकासमा लिएर आउनु नै बीमा समितिको उद्देश्य हो । बीमा क्षेत्रले नेपालको अर्थतन्त्रमा महत्वपुर्ण भुमिका खेलेको छ । बीमाबाट उठेको करोडौँ रुपैयाँ नेपालमै लगानी भएको छ । 

बीमा ट्रेनिङ इन्स्टिच्युटको काम के हो ?
बीमा क्षेत्रमा काम गर्ने कर्मचारीहरुको क्षमता अभिवृद्धि गरी अन्तरराष्ट्रिय स्तरमा प्रतिष्पर्धी बनाउने उद्देश्यले बीमा ट्रेनिङ इन्स्टिच्युटको स्थापना गरिएको छ । यस इन्स्टिच्युटले बीमासँग सम्बन्धित मार्केटिङ, अन्डरराइटिङ जस्ता विविध किसिमको तालीमहरु दिने गर्दछ । बीमा क्षेत्रमा जागिर गर्न आउने कर्मचारीहरुलाई काम गर्न दक्ष बनाउनु नै यसको मुख्य उद्देश्य हो । बीमाको बारेमा बुझ्न चाहने व्यक्तिहरुकमा लागि पनि विभिन्न कोर्शहरु संचालन गरि बीमा बारे चेतना फलाउनु यस इन्स्टिच्युटको उद्देश्य रहेको छ । 

नेपालमा बीमा शिक्षाको अवस्था कस्तो छ ?
नेपालमा बीमा साक्षरता सन्तोषजनक छैन । गाउँ गाउँका मानिसहरुलाई बीमा भनेको थाहा नै छैन । बीमा बारे थाहा हुने नेपालीहरु अत्यन्त न्युन छन् । सहरका मानिसहरुलाई बीमा बारे केही कुरा थाहा भए तापनि ग्रामीण भेगका मानिसहरुमा बीमा शिक्षा अत्यन्त कम छ । कृषि बीमा आएपछि केही हदसम्म बीमा साक्षरता बढेको हो । नेपाल सरकारले कृषिमा ७५ प्रतिशत अनुदान दिएपछि बीमा बढ्दै आएको हो । साथै भुकम्पपछि मानीसहरुमा बीमा गर्नुपर्दो रहेछ भन्ने चेतनाको विकास हुँदै आएको छ । यद्यपि, धेरै मानिसहरुले अनुदानको आशमा कृषि बीमा गरे पनि घरको बीमा गरेका हुँदैनन ।  

बीमा पहुँच बढाउनका लागि बीमा समितिले विभिन्न किसिमका योजनाहरु ल्याएको छ । बीमा लेखहरु सबैले बुझ्ने गरी सुलभ र सरल बनाएको छ । ग्रामीण भेगमा बीमा कम्पनीको उपस्थिती बढाउनका लागि गाउँमा दुई वटा शाखा विस्तार गरेपछि मात्रै सहरमा एउटा शाखा विस्तार गर्ने अनुमति दिने व्यवस्था गरिएको छ । त्यस्तै, लघुबीमाको अवधारणालाई पनि प्राथमिकताका साथ अगाडी ल्याइएको छ । 

बीमा कम्पनीहरु थपिँदा बीमा बजारमा कस्तो प्रभाव परेको छ ? 
पछिल्लो समयमा बीमा कम्पनीहरुको संख्या धेरै बढेको छ । यसले बीमा बजारमा सकारात्मक र नकारात्मक दुवै प्रभाव पारेको छ । डिमाण्ड नभई सप्लाई मात्रै बढी भएको हो कि भनेर हामी डराएका पनि थियौँ । तर, बीमा समितिको नियमनभित्र बस्छौँ भन्ने कम्पनीहरुलाई अनुमति दिएपछि अहिले शाखाको विस्तार राम्रोसँग भएको छ । यसले गर्दा बीमा बजार फस्टाएको छ, बीमाको पहुँच बढिरहेको छ । सप्लाईले डिमाण्डलाई क्रिएट गरिरहेको छ ।

अब बीमा कम्पनीहरु थपिन्छन् कि थपिँदैनन् ?
नयाँ बीमा कम्पनीहरु खोल्ने तत्काल कुनै योजना छैन । आवश्यकता परेको खण्डमा योजना बन्न सक्छ ।

नेपालको बीमा र अन्तरराष्ट्रिय बीमामा के फरक छ ?
बीमाको सिद्धान्त एउटै हो । विदेशी इन्स्योरेन्स एशोसिएसनमा नेपाल पनि संस्थापक सदस्य रहेको छ । हामी पनि अन्तरराष्ट्रिय मान्यता हनुसार नै चल्नुपर्छ । हामीले आफैँ बीमाका सिद्धान्तहरु बनाएर काम गर्न सक्दैनौँ । बीमाका ५ वटा सिद्धान्त हुन्छन् । बीमा समितिले विदेशमा पुनर्बिमा गर्नुपर्ने भएकाले भाषा पनि एउटै हुनुपर्छ । 

सेवा, सुविधाका आधारमा भने नेपालको बीमा र अन्तर्राष्ट्रिय बीमामा केही अन्तरहरु छन् । नेपाली कम्पनीहरुको तुलनामा विदेशी बीमा कम्पनीहरुको क्षमता बढी भएका कारण बिमितलाई सुविधा पनि धेरै दिएका छन् । प्रविधिमैत्री बजार भएका कारण पहुँच पनि बढी छ । 

नेपालको बीमा क्षेत्रमा सुधार गर्नुपर्ने कुराहरु के के छन् ? 
नेपालमा बीमा शिक्षाको अवस्था एकदमै दयनीय छ । त्यसैले, सबै मानिसहरुमा बीमा चेतना फैलाउनु नै सबैभन्दा ठूलो आवश्यकता बनेको छ । यसका अलावा बीमा मुल्य सबैलाई सुलभ र सरल बनाउनुपर्छ । 

बीमा पोलीसीहरु पनि सबैले बुझ्ने बनाउनुपर्छ । बीमा कम्पनीहरु मात्रै नभएर सर्वसाधारण आफैँले पनि आफ्नो सम्पत्ति र जीवनको सुरक्षाका लागि आफैँ सजग हुनुपर्छ । अरुको करकापमा भन्दा पनि आफैँ महत्व बुझेर बीमा गर्न अग्रसर हुनुपर्छ । यसरी बिमक र बिमित दबैको पहलमा बीमा क्षेत्रको दायरा फराकिलो बनाउन सकिन्छ । 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]