फ्रान्सको राजधानी पेरिसमा रहेको गूगलको मुख्यालयमा आयकरसम्बन्धी आरोपमा छापा मारिएको छ । फ्रान्सका अभियोजनकर्ताहरुलाई उदृत गर्दै समाचार एजेन्सी रोयटर्सले भनेको छ, ‘गूगल आयरलैंड लिमिटेड फ्रान्समा वित्तीय दायित्व निभाउन असफल भएको छ ।’
समाचार एजेन्सीका अनुसार फ्रान्सको वित्त मन्त्रालयका एक अधिकारीले कर भुक्तानीसम्बन्धी एउटा मुद्धामा गूगल मुख्यालयमा छापा मारिएको बताएका छन् । श्रोतका अनुसार पेरिसमा गूगलका अधिकारीसंग स्थानीय सयमअनुसार बिहानदेखि नै सोधपुछ चलिरहेको छ । फ्रान्सको ली पेरिसियन पत्रिकाले झण्डै सय जना अनुसन्धानकर्ताले गूगल कार्यालयमा गएर जाँच गरेका जनाएको छ । गूगलले भने अहिले सम्म कुनै प्रतिक्रिया दिएको छैन ।
फ्रान्स, बेलायतसहित धेरै देशको गुनासो बढिरहेको छ कि, ठूला डिजिटल कम्पनीहरु आफ्नो मुलुकमा आएर मुनाफा कमाउँछन् तर कर भुक्तानीको आधार दोश्रो देशमा हुन्छ जहाँ कर्पोरेट करको दर निकै कम हुन्छ । फ्रान्सको वित्त मन्त्रालयले इन्टरनेट कम्पनी गूगलले फ्रान्स सरकारलाई १.६ अर्ब पाउन्ड (करिब २ सय ५६ अर्ब रुपैयाँ) छली गर्न खोजेको बताएको बीबीसीले उल्लेख गरेको छ ।