May 25th, 2016

भुकम्पपिडितलाई वर्षाअघि नै छानामुनि ल्याउन बैंकर्स र प्राधिकरणबीच सम्झौता हुँदै

earthquakeराष्ट्रिय पुनर्निर्माण प्राधिकरणले आवास निर्माणका लागि भूकम्पपीडितलाई दिने भनेको पहिलो किस्ताको रकम उपलब्ध गराउन बैंकर्स संघसंग बुधबार सम्झौता गर्ने भएको छ । प्राधिकरणले गत बैशाख १७ गते नै विभिन्न जिल्लाका लाभग्राहीहरुको नाम प्रकाशन गरी रकम निकासा गरेको भएपनि बैंकिङ झमेलाका कारण पीडितहरुले रकम पाउन सकेका थिएनन् । बैंकर्ससंग बुधबार सम्झौता हुने र असार १५ गतेभित्र अतिप्रभावित ११ जिल्लाका लाभग्राहीलाई आवास निर्माणको पहिलो किस्तामा दिने भनिएको ५० हजार वितरण गरिसकिने पुनर्निर्माण प्राधिकरणका प्रवक्ता राम प्रसाद थपलियाले जानकारी दिए । 

बर्षाअघि नै पीडितहरुलाई छानामा राख्न ८ परिवारदेखि ३२ परिवार बस्न मिल्ने गरी सयवटाभन्दा बढी सामूहिक आवास निर्माणको काम सरकारले थालिसकेकाले आउँदो असार १० भित्र पीडितहरुलाई छानोमुनि ल्याइसक्ने उनले बताए । ‘सम्माननीय प्रधानमन्त्रीले भन्नुभएझैँ बर्खाअघि नै आवास निर्माणका लागि उपलब्ध गराउन नसकिएका पीडितहरुका लागि सामूहिक आवास निर्माण गर्न लागेका हौं ।’ प्रवक्ता थपलियाले भने, ‘आज बैंकर्ससंग हुने सम्झौतापछि सबैको सहयोग प्राप्त भयो भने हामी आउँदो असार १० गतेभित्र पीडितहरुलाई छानो मुनि ल्याउँछाँै ।’ 

आवास निर्माणको लागि पहिलो किस्ताको ५० हजार रकम प्राप्त गर्ने लाभग्राहरुहिरुको नाम प्राधिकरणले गत बैशाख १७ गते नै सार्वजनिक गरेको भएपनि बैंकको कागजी प्रक्रिया र प्रशासनिक झमेलाका कारण अघि बढ्न सकेको थिएन । प्राधिकरण र बैंकर्सबीच हुने सम्झौतापछि लाभग्राहीहरुले पहिलो किस्तामा पाउने भनिएको ५० हजार विना शर्त प्राप्त गर्ने बताइएको छ ।