बैंकिङ खबर । बैंकहरुले खारसगरी तीन प्रकारका कार्ड जारी गर्छन् । डेविट, क्रेडिट र प्रिपेड ।
डेविट कार्ड : डेबिट कार्डलाई हामी एटिएम कार्ड भनेर पनि चिन्ने गर्दछौँ । एटिएम कार्डको प्रयोगबाट कुनै पनि व्यक्तिले आफ्नो बैंक खातामा रहेको रकम आफूले चाहेको समयमा निकाल्न सक्दछ । यसरी पैसा निकाल्दा उक्त व्यक्तिको बैंक खाताबाट पैसा काट्ने भएकाले यसलाई डेबिट कार्ड भनिएको हो । बैंकहरुले एटिएममार्फत चौबिसै घण्टा सेवा दिने गरेका छन् । यसको मतलब एटिएमबाट पैसा निकाल्नका लागि बैंकको शाखा भएको ठाउँ र खुल्ने समय कुरेर बस्नु पर्दैन, न त बैंकमा गएर लाइन बस्ने झन्झट नै हुन्छ । एटिएमबाट पैसा निकाल्नका लागि निश्चित मापदण्ड तोकिएको हुन्छ ।
क्रेडिट कार्ड : डेबिट कार्डमा जस्तो खातामा पैसा भएमात्र निकाल्न मिल्ने अवस्था क्रेडि कार्डमा हुँदैन । यो कार्डको प्रयोगबाट ग्राहकले आफूलाई चाहिएको रकम निकालेर प्रयोग गर्न सक्छ । यसरी निकालेको रकम पछि तिर्ने शर्तमा लागू हुन्छ । कतिसम्म रकमको प्रयोग गर्न पाउने भन्ने कुरा प्रयोगकर्ताको आयअवस्थासँग निर्भर गर्छ । साधारणतयाः सामान्य व्यक्तिहरुले क्रेडिट कार्डको प्रयोग गर्ने गरेको पाइँदैन । यसरी प्रयोग गर्ने रकम मात्र नभएर पैसा तिर्ने समय पनि निर्धारण गरिएको हुन्छ । उक्त समयभित्र जसरी पनि बैंकलाई पैसा फिर्ता गर्नुपर्ने हुन्छ । समयावधि सकिएपछि क्रेडिट कार्डबाट पैसा निकालेर प्रयोग गर्न मिल्दैन । सामान्यतयाः बैंकहरुले १५ देखि ४५ दिनका लागि यो सुविधा प्रदान गर्दछन् ।
प्रिपेड कार्ड : प्रिपेड कार्डको प्रयोग गर्नका लागि त झन् बैंक खाताको समेत जरुरत पर्दैन । यसका लागि जो व्यक्ति यो कार्डको प्रयोग गर्ने चाहान्छ, उसलाई बैंकले पहिला बैंकमा पैसा डिपोजिट गर्न लगाउँछ र त्यही पैसालाई ग्राहकले चाहेको बेलामा प्रयोग गर्न सक्छ । त्यहाँ पैसा भएसम्म उसले पैसा प्रयोग गर्न पाउँछ । जब उसले डिपोजिट गरेको पैसा सकिन्छ, त्यसपछि प्रयोग गर्ने पाउदैन । यसको सेवा अवधी एक बर्ष हुन्छ ।


