June 17th, 2018

टेलिभिजनमा नयाँ प्रविधि भित्रियो, मोबाइलबाटै हेर्न सकिने प्रभु टिभी संचालनमा

बैंकिङ खबर । प्रभु समुहले नेपालमा पहिलो पटक डिजिटल भिडियो प्रशासन (डीभीबी–टि टू)मा आधारित प्रभु टिभीको सेवा सुरु गरेको छ । आइतबार आयोजित एक कार्यक्रमका बीच प्रभु समूहका अध्यक्ष देवी प्रकाश भट्टचनले उक्त सेवाको प्रदर्शन गरी शुभारम्भ गरे । 

कार्यक्रममा अध्यक्ष भट्टचनले दक्षिण एशियामै पहिलोपटक यस्तो प्रविधिमा आधारित टिभी संचालनमा आएको बताए । प्रारम्भिक रुपमा काठमाडौँ, चितवन र पोखरामा आफ्नो सेवाहरु प्रदान गर्न लागेको प्रभु टिभीले अन्य स्थानहरुमा पनि क्रमिक रुपमा सेवा विस्तार गर्दै लैजाने योजना बनाएको छ । प्रभुले छिटै नै पूर्वाञ्चल क्षेत्रका धरान, धनकुटा, इटहरी, झापा, विराटनगरमा पनि प्रभु टिभी संचालनमा ल्याउने भएको छ । साथै, बुटवल, भैरहवा, नेपालगञ्ज, कोहलपूर र दाङमा पनि केही समयभित्र सेवा विस्तार गर्ने तयारी गरिरहेको भट्टचनले जानकारी दिए ।

नेपाल सरकारबाट लाइसेन्स प्राप्त संस्थाले प्रभु टिभी कल साईनमा देशव्यापी रुपमा वर्षको तीन सय ६५ दिन नै उच्च गुणस्तरीय डिजिटल टिभी च्यानलहरुको प्रशारण सेवा प्रदान गर्ने छ । प्रभु टिभीले विभिन्न प्रकारका च्यानलहरु बालबालिका, चलचित्र, खेलकुद, संगीत, मनोरञ्जन र सूचनामूलक च्यानलहरु प्रस्तुत गर्नेछ । प्रभु टिभी कल साईनमार्फत (डीभीबी–टि टू)मा आधारित भएर विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय टिभी च्यानलहरु टिभी तथा ओटीटी प्रविधिमा मोबाइल, ट्याबलेट र ल्यापटपमा इन्टरनेटको माध्यमबाट देशभरि नै वितरण गरिनेछ ।

प्रभु टिभीको आधिकारिक सेटअप बक्स र जडान गर्न सहज एन्टिनाको खरिद गरेसँगै ग्राहकलाई सबै स्थानीय प्रशारित टिभी च्यानलहरुको पहुँच हुनेछ । साथै, अन्तर्राष्ट्रिय टिभी च्यानलहरु र विशेष कार्यक्रमहरु समेत उच्च गुणस्तरमा न्युनतम शूल्कमा हेर्ने सुविधा ग्राहकले पाउनेछन् ।

ग्राहकहरुको सुविधालाई ध्यानमा राखेर प्रभुले विभिन्न प्रारम्भिक प्याकेजहरुको समेत व्यवस्था गरेको छ । जसअन्तर्गत, एकल प्रयोगकर्ताले छ महिनाको शूल्क १६ सय रुपैयाँ तथा सेटअप बक्सवापत एक हजार रुपैयाँ तिर्नुपर्नेछ । संस्थागत प्रयोगकर्ताहरुलाई भने मासिक दुई सय रुपैयाँ र सेटअप बक्स वापत आठ सय रुपैयाँ पर्ने बताइएको छ ।

प्रभु टिभीले करिब तीन दर्जन एचडी च्यानलहरुसहित पाँच दर्जन च्यानल संचालनमा ल्याएको छ भने केही समयपछि यो संख्यालाई दोब्बर गर्ने योजना अघि सारेको छ । प्रभु ग्रुपअन्तर्गत बैंक, बीमा, रेमिट्यान्स लगायतले सर्वसाधारणको मन जित्न सफल देखिएकोले प्रभु टिभीमा सर्वसाधारणको समेत आकर्षण रहने अपेक्षा ग्रुपले गरेको छ । बजारमा रहेका डिजिटल प्रविधिभन्दा यो प्रविधि उच्च स्तरको, सस्तो र सरल रहेको छ । मोबाइल तथा ट्याबमा समेत प्रभु टिभी सजिलै जडान गर्न सकिन्छ । सानो सेटअप बक्सकै आधारमा टिभी हेर्न सकिने हुँदा ग्राहकले एन्टिना, छाता र अन्य उपकरणको प्रयोगात्मक झन्झट भोग्नु पर्दैन । पानी पर्दा, हावाहुरी चल्दा र सामान्य प्राकृतिक विपद्मा समेत प्रशारणमा असर नपर्ने जनाईएको छ । भर्खर मात्रै सरकारले एनालग प्रविधिलाई हटाएर डिजिटल प्रविधिमा जान निर्देशन दिएको अवस्थामा टेलिभिजन पारखीका लागि प्रभु टिभी उपयुक्त विकल्प बन्ने देखिएको छ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]