बैंकिङ खबर । शुक्रबार बेलुका बर्दियामा भएको सवारी दुर्घटनामा २ जनाको मृत्यु भएको छ । धनगढीबाट नेपालगञ्ज आइरहेकोको ग्लोबल आईएमई बैंकको बा १७ च १२१७ नम्बर जिप शुक्रबार बेलुका बार बर्दिया नगरपालिका ९ औरीमा दुर्घटनामा परेको थियो ।
बैंकको बैठकमा सामेल हुन् कर्मचारीहरु नेपालगञ्ज आइरहेका थिए । प्रहरीका अनुसार दुर्घटनामा घाइते भएका म्याग्दी घर भई ग्लोबल आईएमई बैंकको धनगढी शाखा प्रमुख रहेका ४२ वर्षीय राम बहादुर हमाल र ग्लोबल आईएमई बैंकमै कार्यरत कञ्चनपुर घर भएका ३२ वर्षीय भुवन पन्तको कोहलपुर मेडिकल कलेजमा उपचारका क्रममा ज्यान गएको हो । इलाका प्रहरी कार्यकाल बासगढीका कामु प्रमुख रवि अस्लामीले पछाडिको पांग्रा निस्किएर जिप चालकको नियन्त्रण बाहिर जाँदा दुर्घटना भएको जानकारी दिए ।
अस्लामीका अनुसार गाडी अनियन्त्रित भई सडक भन्दा पर राखिएको टिकट काउन्टरमा ठोकिएको थियो। जिप दुर्घटना हुँदा जिपमा सवार चालक सहित ८ जना यात्रु घाइते भएको उनले बताए । ६ जना घाइतेहरुको कोहलपुर मेडिकल कलेजमा उपचार भईरहेको छ । उनका अनुसार घाइतेको अवस्था खतरा मुक्त रहेको छ ।

