संस्थागत सामाजिक उत्तरदायित्व अन्तरगत जनता बैंक नेपाल लिमिटेड नेप्लीज पार्किन्सन डिजीज एसोशिएसनलाई ब्यायाम मेसिन हस्तान्तरण गरेको छ । पार्किन्सन रोगीहरुलाई परामर्श तथा उपचारमा सहयोग पुर्याउने उद्देश्यले स्थापना गरिएको नेप्लीज पार्किन्सन डिजीज एसोशिएसनलाई बिरामीहरुको ब्यायाम सुविधाको लागि उक्त मेशिन हस्तान्तरण गरिएको हो । बैंकको सहायक महाप्रबन्धक तथा काठमाडौं क्षेत्रीय प्रमुख कल्याण पाँडेले एसोशिएसनका अध्यक्ष रत्न राजेश्वरी थापालाई उक्त मेशिन हस्तान्तरण गरे ।
मेशिन हस्तान्तरणको अवसरमा संस्थाका महासचिव मुनाल सुवेदीले पार्किन्सन रोगीहरु पनि समाजका अंग भएकाले उचित परामर्श दिन सकेमा उनिहरुले पनि समाजको लागि कार्य गर्न सक्ने हुँदा जनता बैंकको यस सहयोगले सामाजिक कार्यमा अझ हौसला मिलेको बताए ।
स्वास्थ्य, शिक्षा, मानवीय सेवाका अतिरिक्त वातावरण संरक्षण तथा सरसफाईको क्षेत्रमा समेत संस्थागत सामाजिक उत्तरदायित्व अन्तरगत कार्य गर्ने नीतिअनुरुप आगामी दिनमा पनि यस्ता कार्यहरु गर्दै जाने बैंकले जनाएको छ ।

