ज्योति विकास बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा मनोज कुमार ज्ञवाली नियुक्त भएका छन् । बैंकको बैशाख १२ गते बसेको संचालक समितिको ३०१औं बैठकले ज्ञवालीलाई आगामी चार वर्षका लागि नियुक्त गरेको हो । ज्ञवाली विगत दुई वर्षदेखि ज्योति विकास बैंकमा नै नायव प्रमुख कार्यकारी अधिकृत थिए भने विगत तीन महिनादेखि कामु सीईओको जिम्मेवारी सम्हाल्दै आएका थिए । अब आइतबार (वैशाख १६ गते)दे खि उनले सीईओको कार्यभार सम्हाल्नेछन् ।
नायव प्रमुख कार्यकारी अधिकृतको कार्यभार सम्हालेको दुई वर्षमा ज्ञवालीले कर्जा लगानी तथा निक्षेप संकलनमा करिब दोब्बर वृद्धि गर्न र बैंकिङ्ग बजारमा ज्योति विकास बैंकलाई सम्मानजनक अवस्थामा ल्याउन सफल भएका छन् । अगामी चार वर्षे कार्यकालमा आफ्नो योजना प्रस्तुत गरेपश्चात उनको नेतृत्वमा बैंकले अझै प्रगति गर्दै राष्ट्रिय स्तरको विकास बैंकमा अब्बल रुपमा आउने विश्वास संचालक समितिले लिएको छ ।
नवनियुक्त प्रमुख कार्यकारी अधिकृत मनोज कुमार ज्ञवालीको करिव ५ वर्ष अधिकृत स्तरमा नेपाल राष्ट्र बैंकमा विभिन्न विभागअन्तर्गत कार्य गरेको अनुभव, करिव ८ वर्ष वाणिज्य बैंकमा विभिन्न विभागको प्रमुखको रुपमा रही व्यवस्थापन समुहमा कार्य गरेको अनुभव, मर्चेन्ट बैंकिङ्ग कम्पनीमा निर्देशक तथा प्रवन्ध निर्देशक रही २ वर्षको कार्य अनुभव, जलविद्युत क्षेत्रमा १ वर्ष कार्य गरेको अनुभव तथा विकास बैंकमा २ वर्ष नायव प्रमुख कार्यकारी अधिकृतको रुपमा कार्य गरेको अनुभव रहेको छ । उनी वरिष्ठ चार्टर्ड एकाउन्टेन्ट समेत हुन् ।
हाल ज्योति विकास बैंकले ५० वटा शाखा कार्यालय तथा १४ वटा एटिएम मार्फत विभिन्न निक्षेप योजना तथा कर्जा सुविधा सहित एविविएस, मोवाइल बैंकिङ्ग, आस्वा लगायतका सम्पुर्ण आधुनिक बैंकिङ सेवाहरु ग्राहकहरुलाई उपलव्ध गर्दै आएको छ भने हालै आफ्नै ज्योति रेमिट समेत संचालनमाल्याइ सकेको छ ।
तेस्रो त्रैमाससम्म ज्योति विकास बैंकले करिब १५ अर्ब छ करोड रुपैयाँ निक्षेप संकलन तथा १३ अर्ब ८५ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ भने खुद मुनाफा २२ करोड २४ लाख आर्जन गर्न सफल भएको छ । राप्तीभेरी विकास बैंकलाई प्राप्ति (एक्विजिशन) गरेर विकास बैंकले वितरण गरेको १० प्रतिशत बोनस सेयर वितरण पश्चात हालको चुक्ता पूँजी दुई अर्ब ५९ करोड ३६ लाख रुपैयाँ पुगेको छ ।



