बैंकिङ खबर । एभरेष्ट बैंक लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा एक अर्ब ८० करोड ३४ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । बैंकले गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १८ दशमलव १९ प्रतिशत बढी नाफा कमाएको हो । गत आर्थिक वर्षको तेस्रो त्रैमासमा एभरेष्टले एक अर्ब ५२ करोड ५८ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको थियो ।
आठ अर्ब १० करोड ६८ लाख रुपैयाँ चुक्तापुँजी भएको बैंकले जगेडाकोषमा पाँच अर्ब ८५ करोड ३८ लाख १० हजार रुपैयाँ राखेको छ । निक्षेपमा १५ दशमलव २३ प्रतिशतले वृद्धि गरी एक खर्ब छ अर्ब ९४ करोड ४० लाख रुपैयाँ संकलन गरेको बैंकले १९ दशमलव ८८ प्रतिशत वृद्धि गरी कर्जामा ८८ अर्ब १७ करोड ३० लाख रुपैयाँ लगानी गरेको छ ।
बैंकलको खुद व्याज आम्दानी २१ प्रतिशतले बढेर तीन अर्ब २५ करोड नौ लाख ४१ हजार रुपैयाँ पुगेको छ भने संचालन मुुनाफा १८ प्रतिशतले बढेर दुई अर्ब ७९ करोड ८२ लाख नौ हजार रुपैयाँ पुगेको छ । यो अवधिमा दुई करोड २६ लाख ३८ हजार रुपैयाँ खराब कर्जा उठाएको बैंकले प्रेभिजनमा ११ करोड ८० लाख रुपैयाँ राखेको छ ।
बैंकको निष्कृय कर्जा शुन्य दशमलव २३ प्रतिशत, जोखिमयुक्त सम्पत्ति १५ दशमलव ७० प्रतिशत, सिडि रेसियो ७५ दशमलव ६५ प्रतिशत रहेको छ । त्यस्तै, बैंकको प्रति सेयर आम्दानी २९ दशमलब ९६ रुपैयाँ, मूल्य आम्दानी अनुपात २६ दशमलब ६० गुणा, प्रतिसेयर नेटवर्थ एक सय ७२ दशमलब ९३ रुपैयाँ र तरलता अनुपात ३७ प्रतिशत रहेको छ ।