सिद्धार्थ बैंक र रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडबीच बैंकास्योरेन्स सम्झौता भएको छ । सम्झौतापत्रमा सिद्धार्थ बैंकका तर्फबाट नायव महाप्रबन्धक रामेश्वर प्रसाद बस्याल र रिलायबल नेपाल लाइफ इन्स्योरेन्सका तर्फबाट प्रमुख कार्यकारी अधिकृत नारायण बाबु लोहनीले हस्ताक्षर गरेका छन् ।
सम्झौतापछि सिद्धार्थ बैंकका ग्राहकले बैंकका कुनैपनि शाखाबाट रिलायबल नेपाल लाइफ इन्स्योरेन्सका विभिन्न प्रकारका बीमा सेवा प्राप्त गर्न, बीमा शुल्क भुक्तानी गर्न, बीमालेख लिन तथा बीमा दाबी भुक्तानी लगायत सम्पूर्ण बीमा सेवा लिन सक्नेछन् । यसबाट बैंकका ग्राहक लाभान्वित हुनुका साथै छिटो र सहज रुपमा बीमा सम्बन्धि सेवा प्राप्त गर्न सक्ने विश्वास बैंकले लिएको छ ।
हालै बैंकले देशभर १०० वटा शाखा (३ एक्स्टेन्सन् काउन्टर सहित), ९९ शाखारहित बैंकिङ्ग सेवा, १०८ एटिएम र ६८७ पस मेसिन मार्फत् उच्चस्तरिय बैैकिङ्ग सेवा प्रदान गर्दै आएको छ । आर्थिक वर्ष २०७४/०७५ को फाल्गुण मसान्तसम्म बैंकले कुल निक्षेप रु. ८७ अर्ब ५७ करोड र कर्जा लगानी रु.७९ अर्ब २९ करोड गरेको छ भने सोही अवधीमा बैंकले रु. १ अर्ब १३ करोड खुद मुनाफा आर्जन गर्न सक्षम भएको छ ।